४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

टोकियोमा सङ्कटकालको अवधि फेरि थपियो

जापानको राजधानी टोकियो क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको छ। प्रधानमन्त्री योशिहिडे सुगाले टोकियो महानगर क्षेत्रमा सङ्कटकालको अवधि फेरि थप गरिएको शुक्रबार घोषणा गरेका छन्। कोरोना भाइरसको महामारी नियन्त्रणमा आइनसकेकाले सङ्कटकालको अवधि थप्नु परेको उनको भनाइ छ।  

सङ्कटकाल आगामी मार्च २१ तारिखसम्मका लागि थप गरिएको प्रधानमन्त्री सुगाले जानकारी दिए। राजधानी टोकियोसँगै आसपासका कनगवा, चिबा र सैताममा पनि सङ्कटकाल लम्बिने उनले बताए।  

कोरोना महामारी व्यवस्थापनका लागि सरकारले गठन गरेको ‘टास्क फोर्स’सँगको परामर्शका आधारमा उनले सङ्कटकाल लम्ब्याउने निर्णय गरेका हुन्।

प्रधानमन्त्री सुगाले सङ्कटकालको म्याद अहिले दोस्रो पटक थपेका हुन्। उनले गत जनवरीमा सङ्कटकालको घोषणा गरेका हुन्। उनले कारोना भाइरसबाट सङ्क्रमित भएकाहरुको दैनिक सङ्ख्यामा कमी नआएकाले उच्च सतर्कता अपनाउन हेलचक्रयाइ नगर्न पनि सवैलाई आह्वान गरेका छन्।

स्वास्थ्य विज्ञ तथा स्थानीय सरकारी अधिकारीहरुले पनि महामारी अझ बढी फैलिने खतरा रहेकाले सङ्कटकाल लम्ब्याउनु पर्नेमा जोड दिँदै आएका थिए।  

सङ्कटकाल लागु गरिएपनि केही कुराहरूमा भने लचकता अपनाइएको अधिकारीहरुले जनाएका छन्। बार तथा रेस्टुरेन्टहरु केही समय खोल्न पाइने, तर आधारभूत सतर्कता भने अपनाउने पर्ने सर्त राखिएको छ। भेला हुने तथा भिडभाड हुने गतिविधि गर्न भने पूर्ण रूपमा प्रतिवन्ध लगाइएको छ।  

जापानको राजधानी टोकियोमा मात्रै शुक्रबार पनि थप ३०१ जना सङ्क्रमित भएका छन्। योसँगै टोकियोमा मात्रै कुल सङ्क्रमितको सङ्ख्या एक लाख १२ हजार ९२५ पुगेको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो २४ घण्टामा देशभरी एक हजार १४८ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कुल सङ्क्रमितको सङ्ख्या चार लाख ३७ हजार ८६१ पुगेको छ।

कोरोना भाइरसका कारण जापानमा अहिलेसम्म आठ हजार २११ जनाको मृत्यु भएको छ। ती मध्ये ५५ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो।

प्रकाशित: २२ फाल्गुन २०७७ ०१:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App