८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० बिदा हुँदैछ, सन् २०२१ मा खुसी फर्किएला त?

अंग्रेजी वर्ष सन् २०२० हामीबाट बिदा हुने तरखरमा छ। मृत्यु, नैराश्य र गहिरो अनिश्चिय पार गर्दै सुदूर क्षितिजमा आशाका किरणको प्रतीक्षामा विश्व छ।  

महाशक्ति राष्ट्र अमेरिकामा जिम्मेवार नयाँ नेतृत्वको उदय भइरहेको छ भने आज हाम्रा अघिल्तिर देखिएका तत्काल सम्बोधन गर्नुपर्ने कार्यहरुको लामो सूची छ। मानवनिर्मित प्राकृतिक विपदको चक्र यथावत् छ, तर त्योभन्दा पनि हामी मानवका कतिपय घातक एवं खतरनाक अभ्यास वा व्यवहारप्रति प्रश्न उब्जिएको छ।  

कोरोना भाइरसको प्रकोप अवश्य त्यतिकै भएको होइन। युरोपेली आयोगमा विदेश मामिलाका निर्देशक मार्क लियोनार्डको भनाइमा चमेराबाट मानवमा कोरोना भाइरस सर्नुमा प्राकृतिक वासस्थानमा व्यापक सहरीकरण र विध्वंसात्मक अतिक्रमणको उपज हो भन्ने स्पष्ट भइसकेको छ।  

साथै यो तीव्र गतिमा फैलिनुमा बढी औद्योगिकीकरण, उन्मादपूर्ण व्यापार र समकालीन यात्रा व्यवहार पनि उत्तिकै जिम्मेवार छन्। तर यो संकट समाधान गर्न मिलेर कार्य गर्नेतर्फ अझै पनि एकमत नदेखिनु बिडम्बना हो।  

उसो त कोरोना भाइरसको कहर सुरु हुनुअघि नै विश्वव्यापी अस्थिरता प्रकट हुन थालिसकेको थियो। राष्ट्रवादी नेताको छवि बनाएका कैयौं नेताले विश्वका यावत् समस्या समाधान गर्ने हौवा फिँजाएर मानिसलाई दिग्भ्रमित बनाएका थिए।

लियोनार्ड अगाडि भन्छन्, ‘हो, यो वर्ष निकै कठिनाई पूर्ण रह्यो, तर सन् २०२१ मा खुसी हुनुपर्ने ५ कारण छन्।’ पहिलो र महत्वपूर्ण कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजय । तपाईं हामी सुतेर उठ्दा ट्विटरमा ट्रम्पले के भने भनेर चिन्ता गर्नुपर्ने दिन गएका छन्।  

संयुक्त राज्य अमेरिका चाँडै नयाँ र सक्षम व्यक्तिको नेतृत्वमा जाँदैछ। युरोपमा ट्रम्पकै पदचिह्न बोकेका हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बान र पोल्यान्डका उपप्रधानमन्त्री जारोस्ल केजिन्स्की लङ्गडो झैं भइसकेका छन्।  

सन् २०२१ मा जर्मनी र सन् २०२२ मा फ्रान्समा हुने चुनावमा अब ट्रम्पेली मनोविज्ञान कमजोर हुनेछ। बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आफूमा रहेको ट्रम्पकै जस्तो स्वभावमा परिवर्तन ल्याउन थालिसकेका छन्।  

खुसी हुनुपर्ने दोस्रो कारण कोरोनाविरुद्ध खोप विकास हो। यसबाट विस्तारै विश्व व्यवस्था सामान्यीकरणतर्फ अग्रसर हुनेछ र अन्तर्राष्ट्रिय सहयोग बढ्नेछ।  

फाइजर र बायोएनटेक तथा मोडर्नालगायतका कम्पनीले बनाएका खोप विश्वभर सर्वसुलभ बनाउन अन्तर्राष्ट्रिय सहायता, विश्वास र क्षमता बनाउनु जरुरी छ।  

आशाको तेस्रो कारण हो, जलवायुका क्षेत्रमा उत्साहप्रद समाचार आउनु। यस क्षेत्रका जानकार धेरैजसो व्यक्तिले जलवायु परिवर्तनले कोरोनाको भन्दा ठूलो संकट निम्त्याउने बताइरहेका मछन्।  

तर यस वर्ष हरितगृह ग्यास उत्सर्जनमा ७ प्रतिशत कमी आएका कारण गरे हुने रहेछ भन्ने बुझ्न सक्छौं। स्वच्छ ऊर्जातर्फ तीव्र संक्रमणका लागि प्रविधिमा लगानी बढाउनु पर्छ भन्ने महसुस सर्वत्र भएको छ।  

चौथो, विश्वभर नै सरकारप्रति भरोसा बढ्न थालेको छ। कोरोना महामारीको यस क्षणमा सार्वजनिक प्रशासनले कस्तो भूमिका निर्वाह गर्दो रहेछ भन्ने आम जनताले बुझ्न पाएका छन्। सन् २००८ को विश्वव्यापी वित्तीय संकटपछि धेरैले के आशा गरेका थिए भने तत्कालीन नवउदारवादी रुढिवादिताले सामाजिक लोकतन्त्र र अर्थतन्त्रमा राजनीतिक नियन्त्रण कायम हुनेछ।

तर, त्यसको ठीक उल्टो कार्य भयो। टाट पल्टाइएका बैंकहरूमा सरकारी अनुदान दिइयो भने ‘धनीका लागि समाजवाद र गरिबका लागि पूँजीवाद’ को मान्यता स्थापित भयो।  

यसैका कारण सिर्जित विवादबीच सरकारहरूले अन्ततः सार्वजनिक कल्याणका लागि बढी जिम्मेवार बनाउने प्रयत्न थाले। मूलधारका दल जस्तै : अमेरिकामा डेमोक्रेट पार्टीले श्रमिक र मध्यमवर्गीय मानिसलाई मद्दत गर्न थालेका थिए।  

अहिले कोरोना भाइरसको महामारीले विश्व प्रणालीमा फेरि पुनर्विचार गर्ने परिस्थिति निर्माण हुँदै छ।  

अनियन्त्रित विश्वव्यापीकरणको साटो विश्वका अग्रणी शक्तिराष्ट्रले सस्तो सामान, उन्नत प्रविधिजस्ता विषयलाई विशेष महत्व दिन थालेको छ।

विश्वमा सन् २०२१ खुसी ल्याउने वर्ष त्यतिकै हुनेवाला भने छैन। लियोनार्डले भनेझैं शक्तिसम्पन्न र धनी राष्ट्रले आफूमा रहेको प्रविधि र ज्ञान तेस्रो विश्वका गरिब राष्ट्रसम्म लैजान सके त्यसले सन् २०२१ मा खुसी अवश्य ल्याउने छ।  

खासगरी तेस्रो विश्वका गरिब राष्ट्रको पहिलो चाहना र आवश्यकता नै कोरोनाविरुद्ध खोप हो। यो खोपको उपलब्धता र समानुपातिक वितरण अहिले सर्वाधिक चासोको विषय बनेको छ।  

विकसित मुलुकमा खोप लगाउने काम सुरु भइसकेको छ, तर अति गरिब राष्ट्र ती खोप कसरी ल्याउने भन्नेमा अझै अन्योल र अलमलमै छन्। तुलनात्मक रूपमा निकै महँगा यी खोप तेस्रो विश्वलाई उपलब्ध गराउन धनी एवं शक्तिसम्पन्न राष्ट्रले उदार दृष्टिकोण र आर्थिक सहयोग गर्नुको विकल्प छैन। (रासस- अन्तर्राष्ट्रिय समाचारमा आधारित)

प्रकाशित: ११ पुस २०७७ ११:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App