५ वैशाख २०८१ बुधबार
अन्तर्राष्ट्रिय

राष्ट्रपति पदबाट हट्नासाथ ट्रम्प जेल जाने सम्भावना !

डोनाल्ड ट्रम्प

अमेरिकामा भर्खरै भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प पराजित भइसकेका छन् भने जो बाइडेन विजयी भएका छन्।  

उनले चुनावमा धाँधली भयो भनेर जतिसुकै आरोप लगाए पनि दोस्रो कार्यकालका लागि उनी फर्किने सम्भावना छैन। तर यो चुनावी हार मात्र नभएर राष्ट्रपति पदबाट हट्नासाथ उनका अगाडि अनेक समस्या आउने सम्भावना देखिएको छ।  

विज्ञका अनुसार उनको कार्यकालमा भएका घोटालाका अनुसन्धानले उनी आपराधिक मुद्दाबाहेक आर्थिक मामिलामा पनि मुछिने सम्भावना छ।  किनिकि राष्ट्रपति पदमा रहँदा उनीविरुद्ध सरकारी कामकाजका मुद्दा चलाउन मिल्दैन।

बिबिसी मुन्डो सेवासँग पेस विश्वविद्यालयका संवैधानिक कानुनका प्राध्यापक बेनेट गेर्सम्यानले भनेका छन्, ‘डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी मुद्दा चलाइने सम्भावना छ।’  

उनी थप्छन्, ‘राष्ट्रपति ट्रम्पलाई बैंक तथा करमा ठगी, मनी लाउन्ड्रिङ, चुनावमा धाँधलीजस्ता अभियोगमा मुद्दा लगाउन सकिन्छ। उनका कामसँग सम्बन्धित जति पनि जानकारी मिडियामा आएका छन्, ती वित्तीय कारोबारसँग सम्बन्धित छन्।’

कुरा यतिमा मात्र सीमित छैन। अमेरिकी सञ्चारमाध्यमका अनुसार डोनाल्ड ट्रम्पलाई ठूलो आर्थिक घाटा पनि हुन सक्छ। यसमा ठूलो मात्रामा निजी ऋण र कारोबार पर्छन्।  

न्युयोर्क टाइम्सका अनुसार आगामी चार वर्षमा ३० करोड डलरभन्दा बढी ऋण चुक्ता गर्नुपर्नेछ। त्यो पनि त्यस्तो समयमा जब उनको निजी लगानी पनि राम्रो स्थितिमा छैन।  

ट्रम्पका आलोचक भन्छन्, ‘राष्ट्रपति पद उनका यी सबै कानुनी एवं वित्तीय समस्यामा रक्षा कवच बनिरहेको थियो, तर जब यो पद जान्छ तब उनका दुःखका दिन सुरु हुन सक्छन्।’

प्रकाशित: २४ कार्तिक २०७७ १०:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App