४ वैशाख २०८१ मंगलबार
अन्तर्राष्ट्रिय

आफूले बनाएका सामानमा ‘मेड इन चाइना’ लेख्न थालेपछि अमेरिकाविरुद्ध मुद्दा हाल्दै हङकङ

हङकङमा बनेका सामानमा अमेरिकाले ‘मेड इन चाइना’ लेख्न थालेपछि विवाद चर्किएको छ।  

बिबिसीका अनुसार चीनले नयाँ सुरक्षा कानुन लागू गरेसँगै हङकङ अब छुट्टै स्वायत्त राज्य नरहेको, चीनकै एक सहरमा परिणत भएको भन्दै अमेरिकाले हङकङबाट आयात गरिने सामानमा मेड इन हङकङको ठाउँमा ‘मेड इन चाइना’ लेख्न थालेको हो।  

यसपछि रुष्ट बनेको हङकङ सरकारले अमेरिकाविरुद्ध विश्व व्यापार संगठनमा उजुरी दिने चेतावनी दिएको छ।

यही वर्ष जुनमा चीनले हङकङमा नयाँ सुरक्षा कानुन लागू गरेको छ।  

यसलगत्तै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशले हङकङलाई दिने गरेको विशेष आर्थिक सुविधा खारेज गर्दै अबदेखि हङकङबाट अमेरिका आयात हुने सामानमा ‘मेड इन हङकङ’ को सट्टा ‘मेड इन चाइना’ लेख्न भनेका हुन्।  

गत जुलाईमा ट्रम्पले कार्यकारी आदेश पारित गर्दै अबदेखि हङकङ स्वायत्त देश  नभएर चीनकै एक भाग भएको घोषणा गरेका हुन्।

आदेशमा  भनिएको छ, ‘अबदेखि हङकङ स्वायत्त क्षेत्र रहेन, यसकारण चीनसँग भन्दा भिन्न सम्बन्ध  किन राख्ने?’

चीनले जुन सुरक्षा कानुन हङकङमा लागू गरेको छ, त्यसअनुसार अब हङकङमा बन्ने सामान अन्य देशमा लाँदा ‘मेड इन चाइना’  लेखिनुपर्ने अमेरिकाको भनाइ छ।  

सोही कदमविरुद्ध शुक्रबार हङकङका अधिकारीले  विश्व व्यापार संगठनमा मुद्दा हाल्ने चेतावनी दिएका हुन्।

समाचार एजेन्सी एएफपीका अनुसार हङकङका व्यापार सचिव एडवर्ड याउले पत्रकार सम्मेलनमा भने, ‘अमेरिका गैरजिम्मेवार ढंगले हङकङको अस्तित्व कमजोर पार्ने कोसिसमा लागेको छ। जसले विश्व बजारमा भ्रम पैदा गर्नेछ र यो  नियमअनुसार हुने बहुपक्षीय व्यापार प्रणालीको बर्खिलाप पनि हो।’  

यस विषयमा गत सेप्टेम्बरमै अमेरिकालाई पत्र पठाइएको भए पनि उसले आफ्नो रवैया नछाडेकाले यो विषय विश्व व्यापार संगठनमै लानुपर्ने अवस्था आएको उनले बताएका छन्।  

प्रकाशित: १५ कार्तिक २०७७ ०८:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App