कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले बुधबार संवैधानिक व्यवस्था बमोजिम संसद समक्ष कुवेतका अमिरका रुपमा सपथ गरेका छन्।
सरकारको आपतकालीन बैठकले मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो। कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो। उनी ९१ वर्षका थिए।
कुवेतको संविधानबमोजिम पूर्व अमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने परम्परा छ।
तर, नयाँ अमिरको घोषणा भएपनि संसद समक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ।
स्वर्गीय अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बनेका थिए। त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर थिए।
रासस
प्रकाशित: १५ आश्विन २०७७ ०६:५६ बिहीबार