३० असार २०८३ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

खामेनीको अन्त्येष्टिमा ठूलो संख्यामा हताहतको सम्भावना, इरानमा उच्च सतर्कता

जर्मन पत्रिका डाइ वेल्टले इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोहका क्रममा ठूलो संख्यामा मानिसहरू हताहत हुने सम्भावना रहेको औंल्याएको छ। इरानी अधिकारीलाई उद्दृत गर्दै डाइ वेल्टले एक हजार ५०० देखि तीन हजारासम्मको मृत्यु हुन सक्ने दाबी गरेको हो। तर उक्त दाबीको पुष्टि नभएको कारण इरानी सरकारले  यसबारे आधिकारिक प्रतिक्रिया दिएको छैन। 

इरानी रेड क्रिसेन्ट र राष्ट्रिय संकट व्यवस्थापन संगठनले प्रथम उपराष्ट्रपति मोहम्मद–रेजा आरेफलाई पठाएको पत्रमा सम्भावित ठूलो मानवीय क्षतिको मूल्याङ्कन गरिएको उल्लेख गरेको जनाएको छ। 

प्रतिवेदनअनुसार सम्भावित मृतक र बेपत्ता व्यक्तिको व्यवस्थापनका लागि विशेष एकाइ गठन गरिएको तथा तेहरानस्थित बेहेश्त–ए–जहरा कब्रिस्तानमा हजारौं नयाँ चिहान तयारी अवस्थामा राखिएको दाबी गरिएको छ।

सुरक्षा कारण देखाउँदै नाम नखुलाइएका एक नगरपालिका कर्मचारीलाई उद्धृत गर्दै पत्रिकाले लाखौं मानिसको सम्भावित भीड, अत्यधिक गर्मी र सुरक्षा चुनौतीलाई ध्यानमा राखेर यस्तो तयारी गरिएको जनाएको छ।  

डाइ वेल्टका अनुसार अन्त्येष्टि कार्यक्रम तेहरानबाट सुरु भई कोम, इराकका पवित्र सहर नजफ र कार्बला हुँदै अन्तिम संस्कारका लागि मशहदसम्म सञ्चालन हुने योजना छ।  यस अवधिमा सुरक्षा व्यवस्था कडा पारिने, यातायातमा प्रतिबन्ध लगाइने, तेहरानमा ११ हजार बस परिचालन गरिने तथा मेट्रो र बस सेवा निःशुल्क सञ्चालन गरिने तयारी गरिएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, विद्यालय र मस्जिदलाई सहभागीहरूको अस्थायी व्यवस्थापनका लागि प्रयोग गर्ने, अस्थायी भान्साघर सञ्चालन गर्ने तथा ठूलो संख्यामा सहभागी हुन सक्ने अनुमानका आधारमा आवश्यक पूर्वतयारी गरिएको पनि समाचारमा जनाइएको छ।

प्रतिवेदनले तेहरानका कार्यक्रमका लागि करिब १ करोड ५० लाख युरो र अन्य सहरका कार्यक्रमका लागि थप ५० लाख युरो खर्च हुने अनुमानसमेत उल्लेख गरेको छ। तर यी वित्तीय विवरणहरू पनि स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

प्रकाशित: २१ असार २०८३ १८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App