दुई हजार वर्ष पुरानो प्रेह विहार र ता मुएन थोम मन्दिरलाई लिएर थाइल्याण्ड र कम्बोडियाबिचको सीमा द्वन्द्व बिहिबारदेखि जारी छ। तेस्रो दिनसम्म जारी यो सशस्त्र झडपमा ३३ जनाको मृत्यु भएको छ।
थाइल्याण्डमा १४ सर्वसाधारणसहित २० जना र कम्बोडियामा ८ सर्वसाधारणसहित १३ जनाले ज्यान गुमाएका छन्। कम्बोडियामा ७१ जना घाइते भएको जनाइएको छ। एक लाख ३० हजारभन्दा बढी मानिस विस्थापित छन्, जसमा थाइल्याण्डका एक लाख २५ हजार र कम्बोडियाका पाँच हजार छन्। कम्बोडियाको ओड्डार मिन्चे र प्रेह विहार प्रान्तमा ३५ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सरेका छन्।
यो विवाद सन् १९०४–१९०७ को फ्रान्सेली–सियामी सन्धिसँग जोडिएको छ। थाइल्याण्ड स्वतन्त्र रहे पनि कम्बोडिया लामो समय फ्रान्सको उपनिवेशमा थियो। सन् १९६२ मा अन्तर्राष्ट्रिय अदालतले प्रेह विहार मन्दिर कम्बोडियाको ठहर गरेको थियो। तर आसपासको क्षेत्रमा दुवै देशको दाबी कायम छ। सन् २००८ मा युनेस्कोले प्रेह विहारलाई विश्व सम्पदा सूचीमा समावेश गरेपछि तनाव झन् बढ्यो। हालै मे २८ मा एमराल्ड त्रिकोणमा एक कम्बोडियाली सैनिकको मृत्यु र जुलाई १६ र २३ मा थाइ सैनिकलाई बारुदी सुरुङले घाइते बनाएपछि स्थिति नियन्त्रणबाहिर गयो।
कुराकानी चुहावटले तनाव
जुन १५ मा थाइल्याण्डकी तत्कालीन प्रधानमन्त्री पेटोङटार्न शिनावात्राले कम्बोडियाका प्रभावशाली पूर्वप्रधानमन्त्री हुन सेनसँग फोनमा कुराकानी गरिन्। उनले हुन सेनलाई “अंकल” सम्बोधन गर्दै थाइ सैन्य कमान्डरको आलोचना गरेकी थिइन्। उनले १७ मिनेटको कुराकानीमा तनाव कम गर्न आग्रह गरेकी थिइन्। उनीहरूको त्यो कुराकानी चुहावट भयो। थाइल्याण्डमा सैन्य शक्तिको ठूलो प्रभाव छ। उनले सेनाका अधिकारीलाई गरेको आलोचना राष्ट्रिय अपमान विषय भयो। फलस्वरूप एक जुलाईमा शिनावात्रालाई प्रधानमन्त्री पदबाट निलम्बन गरियो।
कम्बोडियाले थाइल्याण्डमाथि नियतवश आक्रमण र अन्तर्राष्ट्रिय कानुनविपरीत निषेधित हतियार प्रयोग गरेको आरोप लगाएको छ। थाइल्याण्डले कम्बोडियाले पहिले गोली चलाएको र बारुदी सुरुङ राखेको दाबी गरेको छ। जुलाई २४ मा मलेसियाको मध्यस्थतामा युद्धविराम प्रयास भए पनि थाइल्याण्ड सहमत भएन्। थाइल्याण्डले तेस्रो पक्षको मध्यस्थता अस्वीकार गरी दुईपक्षीय वार्तालाई जोड दिएको छ।
अमेरिका र चीनको कूटनीतिक कोण
थाइल्याण्ड अमेरिकाको पुरानो सहयोगी हो। विशेषगरी लडाकु विमान र अमेरिकी प्रशिक्षणले थाइल्याण्डलाई क्षेत्रीय शक्ति बनाएको छ। थाइल्याण्डले अमेरिकाको सहमतिमा कम्बोडियाली सैन्य लक्ष्यमा एफ-१६ लडाकु विमानबाट आक्रमण गर्यो, जसलाई कम्बोडियाले “क्रूर र बर्बर” भनेको छ। अमेरिकाले तत्काल आक्रमण रोक्न, सर्वसाधारणको सुरक्षा गर्न र शान्तिपूर्ण समाधान खोज्न माग गरेको छ।
कम्बोडिया भने चीनको नजिकको सहयोगी हो। उसले समुद्री अड्डा विस्तार र संयुक्त सैन्य अभ्यासमा लगानी गरेको छ। चीनले यो विवादलाई “पश्चिमी औपनिवेशिक विरासत” को परिणाम भन्दै तटस्थ भूमिका खेल्ने बताएको छ। तर कम्बोडियाप्रति उसको झुकाव देखिन्छ। सामाजिक सञ्जालमा केहीले यो द्वन्द्वलाई अमेरिका र चीनको प्रोक्सी युद्ध भनेका छन्। यो विवादले दक्षिणपूर्वी एसियामा अमेरिका र चीनको प्रभावको प्रतिस्पर्धालाई बाहिर ल्याएको छ।
संयुक्त राष्ट्र संघले शुक्रबार न्यूयोर्कमा आपतकालीन बैठक राखेर दुवै देशलाई संयम अपनाउन र कूटनीतिक समाधान खोज्न आग्रह गरेको छ। कम्बोडियाका राजदूत चे केओले बिना शर्त युद्धविराम मागे भने थाइल्याण्डले कम्बोडियाले पहिले आक्रमण रोक्नुपर्ने अडान लियो। मलेसिया, आसियानको अध्यक्ष, र चीनले मध्यस्थता प्रस्ताव गरेका छन्। तर थाइल्याण्ड दुईपक्षीय वार्ताको अडानमा कायम रहँदा समाधान जटिल बनेको छ।
भारत, अमेरिका, चीन, फ्रान्स, अस्ट्रेलिया र न्यूजील्याण्डले सीमा क्षेत्रमा यात्रा नगर्न चेतावनी दिएका छन्। थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाईले यो द्वन्द्व “युद्धको अवस्थामा पुग्न सक्ने” चेतावनी दिएका छन्। कम्बोडियाले थाइल्याण्डले थप आक्रमणको तयारी गरेको दाबी गरेको छ, जबकि थाइल्याण्डले कम्बोडियाको सैन्य गतिविधिलाई उक्साहट भनेको छ। अस्पताल, पेट्रोल स्टेशनजस्ता संरचनामा क्षति पुगको छ। सीमा क्षेत्रमा रहेका स्थानीय बासिन्दा डरले सुरक्षित स्थानमा भागिरहेका छन्। एजेन्सी
प्रकाशित: १० श्रावण २०८२ २०:१३ शनिबार





