७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चक्कु प्रहारका कारण कम्तीमा चारजना घाइते

चक्कु आक्रमणमा परेका एन्ड्रयु चिउ का–यिन प्राथमिक उपचार प्राप्त गरेपछि। तस्बिर : एजेन्सी

हङकङ (बिबिसी) – हङकङमा लोकतन्त्र पक्षधरले गरेको सरकारविरोधी प्रदर्शनस्थलमा भएको चक्कु आक्रमणका कारण कम्तीमा चारजना घाइते भएका छन्।

हङकङ टापुको ताइ को जिल्लास्थित सिटीप्लाजामा सो घटना भएको सञ्चारमाध्यमले जनाएका छन्। चक्कु प्रहारका कारण एकजना घाइतेको कान आंशिक रूपमा चुँडिएको बताइएको छ। आक्रमणकारी एकजना पुरुष रहेको बताइए पनि उसको पहिचान भने अज्ञात रहेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। यद्यपि आक्रमणकारी ती व्यक्तिलाई मलमा रहेका मानिसले नियन्त्रणमा लिन भने सफल भएको बताइएको छ। आक्रमणकारीलाई आक्रोशित भीडले आक्रमणसमेत गरेको समाचार बाहिरिएको छ।

कैयौं महिनादेखि हङकङमा जारी सरकारविरोधी प्रदर्शनअन्तर्गत आइतबारको प्रदर्शनका लागि सिटीप्लाजालाई तोकिएको थियो।

हङकङमा मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे ल्याएको विधेयक फिर्ता लिन माग गदै सुरु भएको सरकारविरोधी प्रदर्शन हाल आएर अन्य विषयतर्फ केन्द्रित भएको छ।

सरकारले विवादित सुपुर्दगीसम्बन्धी प्रस्ताव खारेज गरिसकेको भए पनि हङकङमा प्रदर्शन जारी रहेको छ। हङकङलाई कैयौं महिनासम्म अशान्त बनाएको विवादित सुुपुर्दगी विधेयकलाई सरकारले ढिला गरी गत अक्टोबर २३ का दिन औपचारिक रूपमै फिर्ता लिएको थियो।

शंकास्पद संदिग्धलाई मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे ल्याइएको विधेयकका कारण गत अप्रिलदेखि हङकङ अशान्त रहँदै आएको छ।

हजारौं मानिसले सडकमा उत्रिएर प्रदर्शन गरेपछि हङकङको प्रमुख नेतृत्वले ‘मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्ने’ सम्बन्धी विधेयक स्थगित मात्रै गरेको थियो। प्रदर्शन निरन्तरता रूपमा अघि बढेपछि मात्रै गत महिना हङकङको संसद्ले विधेयक फिर्ता लिएको थियो।

सुरुमा सुपुर्दगी विधेयक फिर्ता लिनका लागि दबाब दिने उद्देश्यले प्रदर्शन आयोजना गरिएको भए पनि विस्तारै हङकङ प्रदर्शन बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित भएको छ। यति मात्रै नभई प्रदर्शनकारीले हङकङकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा मागसमेत गर्दै आएका छन्।

कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेपछिकै सबैभन्दा खराब अवस्थाबाट सहर गुज्रिरहेको छ।

‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गतको व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ। तर पछिल्लो सुपुर्दगी विधेयकले हङकङको न्यायिक स्वतन्त्रतामा कमी आउने भन्दै व्यापक प्रदर्शन भए पनि पछिल्ला केही महिनादेखि हङकङका प्रदर्शनकारीले विशेषतः पाँचवटा माग अघि सारेका छन्। जसमा, प्रशासनले प्रदर्शनलाई ‘दंगा’ भनेर परिभाषित गरेकाले सो फिर्ता हुनुपर्ने, पक्राउ परेका सबैलाई माफी दिइनुपर्ने, प्रदर्शनकारीमाथि प्रहरीद्वारा गरिएको बल प्रयोगको जाँचबुझका लागि स्वतन्त्र आयोग गठन गर्नुपर्ने र हङकङको प्रमुख कार्यकारी र विधायन परिषद्को निर्वाचनका लागि विश्वव्यापी मान्यता प्राप्त हुनुपर्ने  रहेका छन्।

हङकङमा लामो समयदेखि प्रदर्शन जारी रहेका कारण यो विषय मुख्यभूमि चीनका नेताहरुलाई समेत टाउको दुखाई भएको छ। बेइजिङका नेताहरुले हङकङमा विकसित पछिल्लो घटनाक्रम विखण्डनवादीको खतरनाक खेल भएको र त्यसलाई विदेशी शक्तिले सहयोग गरिरहेको आरोप लगाउँदै आएका छन्।

प्रस्तावित सुपुर्दगी विधेयकमा मूख्यभूमि चीनबाट अपराधिक कार्यमा संलग्न ताइवान र मकाउका संदिग्धलाई  सुपुर्दगीको अनुरोध आएमा हङकङ अदालतले हरेक मुद्दाका आधारमा गरेको निर्णयबमोजिम सुपर्दगी गर्न सकिने व्यवस्था गरिएको थियो।

ताइवानमा बिदा मनाउन गएका बेला हङकङका एक व्यक्तिले आफ्नी केटी साथीको हत्या गरेको आरोप लागेपछि ताइवान सुपुर्दगी गर्न नसकेको सन्दर्भ पारेर नयाँ विधेयक ल्याइएको थियो।

प्रमुख कार्यकारी क्यारी लामसहित हङकङका अधिकारीहरुले सहरलाई अपराधीबाट बचाउन त्यस्तो कानुन आवश्यक रहेको बताउँदै विधेयक ल्याउन लागेका थिए। तर कैयौं आलोचकले भने चीनको राजनीतिक विपक्षीलाई लक्षित गर्न यो विधेयक प्रयोग हुन सक्नेतर्फ पनि शंका व्यक्त गरेका थिए।

औपचारिक रूपमै विवादित विधेयक फिर्ता लिने निर्णय गरे पनि यसले आक्रोशित प्रदर्शनकारीका पाँचमध्ये एउटा मात्रै मागको सम्बोधन भएको भन्दै लोकतन्त्र पक्षधर प्रदर्शनकारीले आफ्ना पाँचवटै माग पूरा हुनुपर्ने माग गर्दै प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।

चौतर्फी विवादको घेरामा रहेकी प्रमुख कार्यकारी लामले भने प्रदर्शनकारीले राखेका अन्य माग पूरा गर्नु आफ्ना अधिकारभन्दा बाहिरको विषय भएको जिकिर गर्दै आएकी छन्।

हङकङमा शान्तिपूर्ण रूपमा सुरु भएको सरकारविरोधी प्रदर्शन हाल आएर भने हिंसात्मक हुँदै गएका छन्। प्रदर्शनकारीले प्रदर्शनका क्रममा पसललगायतका सार्वजनिक क्षेत्रमा तोडफोड गर्ने र पेट्रोल बम प्रहार गर्ने गरेका छन् भने प्रहरीले उनीहरुलाई लक्षित गर्दै रबरका गोली, पानीका फोहोरा र अश्रुग्यास प्रहार गर्ने गरेको छ, जसका कारण हङकङ केही महिनादेखि निकै नै अशान्त रहँदै आएको छ।

यसैबीच आइतबारको चक्कु आक्रमणले हङकङमा थप भय सिर्जना गरेको छ। कतिपय सञ्चारमाध्यमले लोकतन्त्र पक्षधरमाथि आइतबार भएको चक्कु आक्रमण राजनीतिक रूपमा प्रतिशोध साट्न गराइएको घटना भएको विवरणसमेत प्रस्तुत गरेका छन्। आक्रमणकारी बेइजिङ समर्थित व्यक्ति भएको ‘हङकङ फ्रि प्रेस’ ले  जनाएको छ।

प्रकाशित: १८ कार्तिक २०७६ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App