एजेन्सी - इस्लामिक स्टेट (आईएसआईं) का प्रमुख अबु बकर अल बग्दादीलाई मारिएको आशंका गरिएको छ । संयुक्त राज्य अमेरिकाका सेनाले बग्दादीलाई मारेका आशंका गरेका हुन् ।
अमेरिकी कमान्डोहरूले उत्तरी सिरियामा आईएसआईका प्रमुख अबु बकर अल बग्दादीलाई मारेको आंशका गर्दै विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले समाचार लेखेका छन्। अमेरिकी सैन्य श्रोतलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले पछिल्लो २४ घन्टामा बग्दादी मारिएको हुन सक्ने भन्दै समाचार दिएका छन् ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ताले आइतबार अमेरिकी राष्ट्रपतिले महत्वपूर्ण जानकारी गराउने मात्र बताएका छन् । अरु समयमा सूचना चुहाउन निकै सक्रिय रहने राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वयं पनि शनिबार रातिको आफ्नो ट्वीटमा, ‘एउटा ठूलो घटना भर्खरै भएको छ ।’ मात्र भनेका छन् । राष्ट्रपति ट्रम्पको ट्वीट उत्तरी सिरियामा गरिएको विशेष सैन्य अपरेशनमा बग्दादी मारिएको हुनसक्नेतर्फ लक्षित रहेको आशंका गरिएको हो ।
गत वर्ष रसियाली सेनाले आफ्नो आक्रमणमा बग्दादी मारिएको दाबी गरेपनि पछि बग्दादी स्वयं एक भिडिओमार्फत सार्वजनिक भएका थिए । अमेरिकाले सन् २०११ मा बग्दादीलाई आतंकवादी घोषणा गर्दै उनको गिरफ्तारी वा हत्या गर्ने गरी सूचना दिनेलाई दश करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा समेत गरेको थियो । सिरिया र इराकको ठूलो भूमि आफ्नो नियन्त्रणमा लिएर आइएसआईले लामो समयदेखि आतकंवादी गतिविधि चलाउँदै आएको छ ।
६ महिनाअघि श्रीलंकाका विभिन्न ठाउँमा २५९ जना मारिने गरी गराइएको घटनाको पनि जिम्मेवारी आईएसआईले नै लिएको थियो । सन् २०१० मा इराकमा अलकाइदा नेताका रूपमा देखिएका उनले नै पछि अरु आतकंवादी समूहलाई पनि मिलाएर इस्लामिक स्टेटको गठन गरेका थिए ।
प्रकाशित: १० कार्तिक २०७६ १६:०१ आइतबार





