ट्युनिस (एजेन्सी)– ट्युनिसियाका नवनिर्वाचित राष्ट्रपति काइस सैयदले बुधबार राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।
राजनीतिक वृत्तमा ख्यातिप्राप्त आफ्ना प्रतिस्पर्धीलाई चकित तुल्याउँदै निर्वाचित भएका सैयदलाई गत अक्टोबर १३ मा सम्पन्न निर्वाचनबाट बहुमत मिलेको थियो।
पुरातनवादी विद्वान् सैयदको यस पहिले कुनै राजनीतिक अनुभव नरहे पनि उनलाई मुलुकको युवापुस्ताले अनपेक्षित रूपमा समर्थन दिएका थिए। उनले संविधान सभा तथा राज्यका उच्च निकायका सदस्यको उपस्थितिमा सपथ ग्रहण गरेका हुन्।
उनी प्रसिद्ध व्यवसायी तथा आफ्ना प्रतिस्पर्धी नाबिल करोइमाथि दोस्रो चरणको निर्वाचनमा खसेको मतको ७२.७१ मत प्रतिशत ल्याई विजयी भएका थिए। करोइले २७.२९ मत ल्याएका थिए।
प्रकाशित: ७ कार्तिक २०७६ ०३:१० बिहीबार





