दक्षिणी अमेरिकी राज्य टेनेसीमा रहेको एक सैन्य हतियार कारखानामा स्थानीय समय अनुसार शुक्रबार बिहान भएको भीषण विस्फोटमा धेरैको मृत्यु भएको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार बेपत्ता १९ जनाको पनि मृत्यु भएको हुन सक्ने जानकारी दिएका छन्।
दक्षिणी संयुक्त राज्य अमेरिकाको ग्रामीण टेनेसी राज्यमा रहेको एक्युरेट इनर्जेटिक सिस्टम्स नामक विस्फोटक पदार्थ निर्मातामा विस्फोट भएको हो। उक्त विस्फोटलाई हम्फ्रेज काउन्टीका शेरिफ क्रिस डेभिसले विस्फोटलाई आफूले देखेका सबैभन्दा विनाशकारी दृश्यहरू मध्ये एक रहेको बताएका छन्।
उक्त कम्पनीको वेबसाइटका अनुसार न्याशभिलबाट करिब ९७ किलोमिटर दक्षिण पश्चिममा रहेको बक्सनोर्ट क्षेत्रमा विस्फोटक पदार्थहरू बनाइन्छ र परीक्षण गरिन्छ। उक्त कम्पनीमा विस्फोट हुनुको कारण भने खुलेको छैन। हम्फ्रेज काउन्टी आपतकालीन व्यवस्थापन एजेन्सीका प्रवक्ता ग्रे कोलियरले अब विस्फोटको कुनै खतरा नभएको बताएका छन्। यद्यपि हिकम्यान काउन्टी एडभान्स्ड ईएमटी डेभिड स्टीवर्टले निरन्तर विस्फोटका कारण आपतकालीन टोलीहरूलाई प्लान्टमा प्रवेश गर्न असमर्थ भएको बताएका छन्।
विस्फोटले छिमेकी क्षेत्रका घरहरू हल्लिएका थिए। संघीय अनुसन्धान ब्युरो, हतियार तथा विस्फोटक नियन्त्रण ब्युरो र टेनेसी अनुसन्धान ब्युरो जस्ता निकायहरू घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेका छन्। तीन जनालाई मामूली चोट लागेको र उपचार भइरहेको जनाइएको छ। टेनेसीका गभर्नर बिल लीले प्रभावित परिवारहरूप्रति शोक व्यक्त गरेका छन्। एजेन्सी
प्रकाशित: २५ आश्विन २०८२ ०८:०८ शनिबार





