१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

तीन सैनिक अधिकारीको राजीनामा, व्यापक प्रदर्शनको तयारी

सुडानको राजधानी खार्तुममा संक्रमणकालीन सैनिक परिषद्विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी । तस्बिरः एजेन्सी

खार्तुम – सुडानको सत्तारुढ संक्रमणकालीन सैनिक परिषद्का तीन उच्च सैनिक अधिकारीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

राजीनामा गर्नेमा परिषद्को राजनीतिक समितिको नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल ओमार जाइन अल–अबिदीनसहित लेफ्टिनेन्ट जनरलद्वय जलाल अल–दिन अल–शेख र अल–तायिब बबाकर अलि फादिल रहेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ । यद्यपि उनीहरुको राजीनामा भने स्वीकृत हुन बाँकी रहेको परिषद्ले जनाएको छ ।

सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेशागत संघ (एसपिए)ले सैनिक परिषद्विरुद्ध राजधानी खार्तुमसहित देशका प्रमुख सहर र ग्रामीण इलाकामा दशौं लाख जनतालाई सडकमा उत्रन आह्वान गरेसँगै सैनिक अधिकारीहरुले राजीनामा दिएको बताइएको छ ।

प्रदर्शनमा उत्रिएका जनतालाई दमन गरेको र धेरै प्रदर्शनकारीको हत्या आरोप लागेका यी तीनै जना अधिकारीलाई परिषद्बाट तत्काल बर्खास्त गर्न एसपिएले माग गरिरहेकै परिवेशमा उनीहरुको राजीनामा आएको हो । बुधबार साँझ विपक्षी र सैनिक परिषद्बीच आपसी मतान्तर सुल्झाउन एउटा समिति गठन गर्न सहमति भएको थियो ।

सुडानका तत्कालीन शासक ओमार अल–बसिरलाई सेनाले नै सत्ताच्युत गरेपनि नागरिक सरकार गठन हुनसकेको छैन । बरु सेनाको नयाँ नेतृत्वले सैनिक परिषद्को नाममा पुनःसैनिक शासन चलाउने प्रयत्न थालेको सुडानी विपक्षीको आरोप छ ।

‘सुडानको वर्तमान संकटको सुरक्षित अवतरणका लागि सेना र विपक्षीबीच छलफल जारी छ र हामी दुबै संकट समाधानमा सहयात्री हुन चाहन्छौं,’ सैनिक परिषद्का प्रवक्ता शाम्स अल दिन कब्बासीले सरकारी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा बताएका छन् । उनले भने, ‘सैनिक परिषद्ले वार्ताका लागि विपक्षीलाई आमन्त्रण गरिसकेको छ र संवाद एवं सम्झौताका लागि परिषद् खुला छ ।’

विपक्षीले पनि समस्याको समाधान वार्ताबाटै गर्न चाहेको बताएका छन् । एसपिएले जारी गरेको पछिल्लो वक्तव्यमा ‘हाम्रो एक मात्र चाहना संक्रमणकालीन नागरिक शक्तिलाई सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो र यसले मात्र क्रान्तिका सहभागीको भावनालाई प्रतिबिम्बित गर्नेछ’ भनिएको छ । सत्ता हस्तान्तरण बाहेक अन्य विषयमा सैनिक परिषद्सँग वार्ता गर्न आफू तयार नभएको पनि एसपिएले स्पष्ट गरेको छ ।

मंगलबार सेनाले सैनिक मुख्यालय र रक्षा मन्त्रालय बाहिर प्रदर्शनकारीले सडकमा राखेका अवरोध हटाउने प्रयत्न गरेको थियो तर प्रदर्शनकारीले मुख्य सडकमा अझ बढी अवरोध खडा गरेका छन् । सुडानमा सैनिक शासनको विरोधमा महिनौंदेखि प्रदर्शन जारी छन् । वर्तमान सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने जनताको माग छ ।

प्रदर्शनकै बीचमा करिब ३० वर्ष शासन चलाएका तत्कालीन राष्ट्रपति बसिरलाई सेनाले गत अप्रिल ११ तारिखका दिन नै अपदस्थ गरेको छ । उनलाई हाल सेनाले नजरबन्दमा राखेको बताइएको छ ।

प्रकाशित: १३ वैशाख २०७६ ०२:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App