१५ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ब्रेक्जिट बैठक सकारात्मक : मे

ब्रसेल्समा बुधबार भएको भेटवार्तामा बेलायती प्रधानमन्त्री थेरेसा मे (बायाँ) र युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर। तस्बिर : एजेन्सी

ब्रसेल्स – बेलायती प्रधानमन्त्री थेरेसा मेले युरोपेली संघ (इयू)सँग भएको पछिल्लो वार्ता सकारात्मक दिशातर्फ उन्मुख रहेको बताएकी छन्।

ब्रसेल्समा भएको वार्ता सकारात्मक भए पनि युरोपेली संघसँग ठोस सहमति भने भइनसकेको प्रधानमन्त्री मेले बताइन्।

इयूबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का लागि छ साताभन्दा कम समय रहँदा प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्करसँग भेटवार्ता गरेकी छन्। बे्रक्जिटपछि आयरल्यान्ड र युरोपेली संघमा आबद्ध मुलुकबीचको सीमा व्यवस्थाका विषयमा मेले सहमति खोज्ने प्रयत्न गरिरहेकी छन्। तर इयू नेताले बेलायतसँग यसअघि भएको सम्झौताबाट पछि फर्कन नसक्ने बताएका छन्।

ब्रेक्जिटको समय नजिकिँदै गर्दा बेलायत र इयूबीच कुनै औपचारिक सम्झौता बेगर नै युरोपेली संघबाट बेलायतको बहिर्गमन हुन पनि सक्ने अनुमान गर्न थालिएका छन्। बेल्जियमको राजधानी एवं युरोपेली संघको प्रधान कार्यालय रहेको ब्रसेल्सतर्फ उड्नु केहीअघि मेकै कन्जरभेटिभ पार्टीका तीन जना सांसदले ब्रेक्जिटमा असहमति जनाउँदै राजीनामा दिएका थिए। राजीनामा दिएसँगै उनीहरु सांसदको नयाँ स्वतन्त्र समूहमा आबद्ध भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ।

बेलायतको संसद्ले प्रधानमन्त्री मेको ब्रेक्जिट प्रस्तावलाई यसअघि जनवरी १५ मा अस्वीकृत गरेको थियो। ब्रेक्जिट सम्झौता प्रस्ताव अस्वीकृत भएसँगै प्रतिपक्षी लेबर पार्टीले प्रधानमन्त्री मेविरुद्ध ल्याएको अविश्वासको प्रस्ताव भने पारित भएको थिएन।

बेलायती राजनीतिमा नाटकीय मोड लिइरहेको ब्रेक्जिटका सन्दर्भमा सांसदहरु विभाजित भएका छन्। ब्रेक्जिटपछि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीच खुला र निर्वाध आवागमन हुन नहुने अडान धेरै सांसदहरुले राख्दै आएका छन्। उनीहरुको भनाइमा निर्वाध आवागमन यथावत राखिए बेलायतको इयूसँगको पुरानै सम्पर्क र सम्बन्ध कायम रहन्छ र त्यसबाट ब्रेक्जिट सम्झौता कार्यान्वयन सम्भव हुँदैन।

गत वर्ष नोभेम्बर २५ मा बेलायती प्रधानमन्त्रीले इयूसँग गरेको प्रस्तावित ब्रेक्जिट सम्झौतामा आइरिस सीमा खुला राख्ने सहमति भएको थियो। इयूले उक्त सहमतिमात्र स्वीकार्य हुने बताउँदै आएको छ।
बेलायती जनमत पनि ब्रेक्जिटका बारेमा अझै विभाजित छ। केहीले दोस्रो जनमतसंग्रह गर्नुपर्ने निरन्तर माग गरिरहेका छन् भने केहीले पूर्व जनमतकै आधारमा इयूबाट बेलायत बाहिरिनु पर्ने बताउने गरेका छन्। ब्रेक्जिटबारेमा इयूसँग भएको सम्झौता बमोजिम यही मार्च २९ तारिखबाट बेलायत युरोपेली संघबाट बाहिरिनु पर्नेछ।

यसैबीच ब्रेक्जिट सम्झौताबारे असहमति राख्दै सत्तारुढ कन्जरभेटिभ र विपक्षी लेबर पार्टी दुबैका सांसदहरुले पार्टी छोडेर स्वतन्त्र समूहमा आबद्ध हुने क्रम पनि बढेको छ। यस्तो क्रम अझै बढ्न सक्ने अनुमान गरिएको छ। अहिले स्वतन्त्र समूहमा ११ जना सांसद पुगिसकेको र बेलायतको चौथो शक्ति बनेको बताइएको छ।

प्रकाशित: १० फाल्गुन २०७५ ०१:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App