४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इन्डोनेसिया भूकम्प : मृतकको संख्या ८३२ पुग्यो

जकार्ता (बिबिसी) – इन्डोनेसियाको राष्ट्रिय विपद् निकायले शुक्रबार गएको विनाशकारी भूकम्प र त्यसपछिको सुनामीका कारण सुलावेशी टापुमा अहिलेसम्म कम्तीमा ८ सय ३२ जनाको ज्यान गइसकेको जनाएको छ।

शुक्रबारको गएको ७.५ म्याग्निट्युडको भूकम्पले भत्किएका भवनका भग्नावशेषमा अझै पनि मानिस फसिरहेको हुनसक्ने इन्डोनेसियाको राष्ट्रिय विपद् निकायका प्रवक्ता सुतुपो पुर्वो नुग्रोहोले पत्रकार सम्मेलनका क्रममा बताए। उनले राष्ट्रिय विपद् निकायले प्रभावित क्षेत्र पहिला ठानिए भन्दा ठूलो भएको पनि जनाएको छ । भूकम्पपछि आएको सुनामीको छाल छ मिटरसम्म अग्लो भएको पनि उनले बताए। इन्डोनेसियाको पालु नगरमा उद्धारकर्मीहरुले विपद्मा परेर पनि जीवितै हुन सक्ने मानिसको खोजी भइरहेको बताइएको छ। पालु सहरमा उद्धारकर्ताहरुले हातकै सहयोगले जीवितै रहेका हुनसक्ने मानिसको खोजी गरिरहेको बिबिसीले जनाएको छ। पालु नजिकैको दोङगाला नगरमा भूकम्प र सुनामीको असर कति परेको छ भन्ने अझै स्पष्ट नभइसकेको प्रवक्ता नुग्रोहोले बताए । इन्डोनेसियाका उपराष्ट्रपति जुसुफ कल्लाले मृतकको संख्या हजारौं पुग्न सक्ने बताएका छन्।

‘भूकम्पका कारण भत्किएका भवनका भग्नावशेष हटाउनका लागि अहिले तत्कालका लागि हामीलाई ठूलो मेसिनरी औजार चाहिएका छन्। उद्धारकार्यमा संलग्न रहेका सयौं उद्धारकर्ता मसँग छन् तर उनीहरुको क्षमतामात्रै भर परेर उद्धार कार्य गर्न असम्भव छ,’ राष्ट्रिय खोजी तथा उद्धार एजेन्सीका प्रमुख मोहम्मद स्यागुली समाचार एजेन्सी एएफपीलाई बताए।

शुक्रबारको भूकम्प र त्यसपछिको सुनामीका कारण १६ लाखभन्दा बढी मानिस प्रभावित भएको हुनसक्ने रेडक्रसले अनुमान गरेको छ। भग्नावशेषमा खोजी कार्य भइरहेको र अझै पनि कैयौं मानिस हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने बताइएको छ।

प्रहरी, सैनिक, प्रकोप व्यवस्थापनकर्ता, स्वंयसेवकलगायतले भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धारसँगै राहतका काम पनि गरिरहेका छन् । पालु नगरका भग्नावशेषमा कयौँ मानिस हराइरहेको अनुमान गरिएको छ। भूकम्प र त्यसपछिको सुनामीले मानिस बस्ने घर, विद्यालय, मस्जिद, अस्पताल, होटल र पसललगायतका भौतिक संरचनामा क्षति पु-याएको छ । सरकारी अधिकारीले अझै पनि शक्तिशाली परकम्पन आउनेक्रम जारी रहेको बताएका छन्। भूकम्प र त्यसपछिको सुनामीका कारण सयौं घाइते भएको र उनीहरुको उपचार भइरहेको अधिकारीको भनाइ छ। अस्पतालका भवनमा पनि क्षति पुगेकाले घाइतेको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ। यसैबीच इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भूकम्प र सुनामी प्रभावित क्षेत्रको आइतबार निरीक्षण गरेका छन् । राष्ट्रपति विडोडोले भूकम्पपछिको सुनामीले अत्यन्तै प्रभाव पारेको प्रमुख पर्यटकीय क्षेत्र तालिसे तटसहित अन्य क्षेत्रको भ्रमण गरेको बिबिसीले उल्लेख गरेको छ। ‘सञ्चारलगायतका कैयौं समस्या छोटो समयमा समाधान गर्नुपर्ने छ,’ राष्ट्रपति विडोडोले बताए।

इन्डोनेसियाको लोम्बोकमा यसै वर्ष गएको शक्तिशाली भूकम्पमा परी पाँच सय ५० भन्दाबढी मानिसको मृत्यु भएको थियो। डिसेम्बर २००४ मा गएको ९.१ म्याग्निट्युको भूकम्प र सुनामीका कारण इन्डोनेसियामा मात्र एक लाख ६० हजारभन्दा बढीको मृत्यु भएको थियो।

प्रकाशित: १५ आश्विन २०७५ ०३:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App