१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

जमानतको यात्रा अन्त्य भएको ग्रिसकाे घोषणा

एथेन्स – ग्रीसले जमानतको लामो यात्राबाट मुक्ति पाएको प्रधानमन्त्री अलेक्सिस सिप्रासले मंगलबार बताएका छन्। 
‘अब हामीले आठ बर्ष लामो पीडादायी जमानतको यात्रा पार गरेका छौं,’ ग्रीसको आर्थिक संकट टार्न विभिन्न मुलुकबाट लिएको जमानत रकमबाट मुक्ति पाएको भन्दै प्रधानमन्त्री सिप्रासले बताए।

‘आजको दिन ऋणबाट मुक्तिको दिन हो र यो नयाँ युगको सुरुवात पनि हो,’ इओनियाली टापु इथाकामा टेलिभिजन प्रसारणका लागि रेकर्ड गरिएको भिडियो सम्बोधनमा उनले बताए । इथाका टापु ग्रीक कवि होमर र प्रसिद्ध अभिनेता युलिसेसको घर भएको विश्वास गरिन्छ । प्रधानमन्त्री सिप्रासको भाषणमा होमरको महाकाव्यमा वर्णन भएका दैत्य तथा दुःख सम्बन्धी प्रशस्त उद्धरणहरुलाई समावेश गरिएको छ। 

‘हाम्रो देशले आफ्नो भाग्य तथा भविष्यको निर्णय लिने अधिकारलाई पुनः प्राप्त गरेको छ । ग्रीसले आधुनिक कालको ‘अडिसी’ (ग्रीक पुराणमा वर्णन भएको ग्रीकहरुको संकटको कथा जुन आठौं इशापूर्वमा ग्रीसले सामना गरेको विश्वास गरिन्छ) को सामना गर्दै अघि बढेका छौं,’ ग्रीसको तेस्रो र अन्तिम आर्थिक सहायता कार्यक्रम अन्त्य भएको भोलिपल्ट प्रधानमन्त्री सिप्रासले बताए।

सेतो सर्टमा संकटको सामना गरिरहेको व्यक्तिजस्तै टापुमा रहेको चट्टानमाथि उभिएरै रेकर्ड गरिएको भाषणमा उनले संकट मोचनका लागि ग्रीसले करिब ७५ अर्ब अमेरिकी डलर ऋण लिएको बताउँदै उक्त समयमा लामो तथा स्थिर खालको संकटको सामना गरेको स्मरण गरे । ‘गत महिना करिब सय जनाको मृत्यु हुनेगरी लागेको डढेलोपूर्व ग्रीसले आफूलाई गरिबीको रेखाबाट उठाउने अभ्यास गरिरहेको जनाउँदै उक्त डढेलो राज्यलाई पुनः पीडा दिएको बताए,’ संकटबीच नेतृत्व सम्हालेका ४४ बर्षीय प्रधानमन्त्रीले बताए।

संख्यामा प्रतिपक्षीभन्दा दश सदस्य बढी रहेको अनुदारवादी समूहले पिछा गरिरहेका सिप्रासले आगामी दिनमा मन्त्री परिषद्को पुनर्गठन गर्ने योजना ल्याएको चर्चा भएपनि सम्बोधनमा उनले यसबारे केही बताएनन् । निर्वाचन आउन अझै एक बर्षभन्दा बढी समय रहेको परिवेशमा प्रधानमन्त्री सिप्रासले सन् २०१९ को सुरुमा नै निर्वाचन गर्ने योजना बनाएको अनुमान गर्न थालिएको छ।

ग्रीसले जमानतको लामो यात्राबाट औपचारिक रूपमा सोमबारदेखि छुटकारा पाएको बताइएपनि आर्थिक विश्लेषकहरुले अझै ग्रीसको संकट पूर्णरूपमा अन्त्य भैनसकेको बताउँदै आएका छन् । युरोपेली संघ, युरोपेली केन्द्रीय बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले  ऋणले संकटग्रस्त ग्रीसलाई सन् २०१०, २०१२ र २०१५ मा गरी तीन चरणमा ३ खर्ब ३० अर्ब अमेरिकी डलर बराबरको ऋण उपलब्ध गराएर आर्थिक संकट टार्न सहयोग गरेका थिए। 

‘ग्रीसमा अब जमानतबाट गुज्रने दिनको अन्त्य भएको छ र उक्त अवधिमा भएका त्यागले ग्रीसको प्रजातन्त्रलाई परीक्षण गरेको र सफलता दिलाएका छ,’ सम्बोधनमा प्रधानमन्त्री सिप्रासले बताए । ‘अब ग्रीस कहिल्यै पनि घाटा र आर्थिक संकटतर्फ धकेलिने छैन,’ उनले बताए । सिप्रासले इथाका टापूमा गएर गरेको सम्बोधन सन् २०१० मा प्रधानमन्त्री रहेका जर्ज पापान्द्रेउले गरेको अभ्यासको पुनरावर्तन हो । उक्त समय तत्कालीन प्रधानमन्त्री पापान्ड्रेउले ग्रीक नागरिकले नयाँ अडिसीको सामना गरिरहेको बताएका थिए। 

 

प्रकाशित: ६ भाद्र २०७५ ०३:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App