१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

पत्रकार बुखारी हत्याका संदिग्ध पक्राउ

वरिष्ठ पत्रकार सुजात बुखारी

नयाँ दिल्ली – बिहीबार राति हत्या गरिएका वरिष्ठ पत्रकार भारतीय पत्रकार सुजात बुखारीको हत्यामा संलग्न चौथा संदिग्धलाई प्रहरीले पक्राउ गरेको छ।

श्रीनगरमा हत्या गरिएका पत्रकार बुखारीको हत्यामा संलग्न संदिग्धको तस्बिर जम्मु र कस्मिर प्रहरीले सार्वजनिक गरेको केही समयमै उनी पक्राउ परेका थिए।

सेतो कुर्ता लगाएको र दाह्री पालेको जुबाइर क्वायुमले बुखारीको हत्या भएलगत्तै कारमा रहेको उनको शरीरको चेकजाँच गरेको सार्वजनिक भएको तस्बिरमा देखिन्छ । कारमा रहेकोमध्ये एउटा शवलाई कसैले बाहिर निकालिरहेको बेला संदिग्ध क्वायुम पेस्तोल टिपेर त्यहाँबाट गइरहेको देखिन्छ । प्रहरीका अनुसार बुखारीको हत्यामा प्रयोग भएको बन्दुक पनि उनको साथबाट बरामद गरिएको छ।

‘उनको साथबाट बन्दुक बरामद गरिएको छ र घटना हुँदा उनको उपस्थितिबारे सोधपुक्ष भइरहेको छ । अहिलेसम्म उनले कुनै भरपर्दो जबाफ दिएका छैनन्,’ कस्मिर प्रहरीका महानिरीक्षक एसपी पानीलाई उद्धृत गर्दै एनडिटिभी इन्डियाले जनाएको छ ।

पत्रकार बुखारीको हत्याको जाँचबुझ गर्न प्रहरीले विशेष अनुसन्धान टोली गठन गरेको बताइएको छ। आफ्नो कार्यालयबाट इफ्तार पार्टीका लागि निस्कनेबित्तिकै ‘राइजिङ कस्मिर’ का प्रधान सम्पादक बुखारीको बिहीबार साँझ गोली हानी हत्या गरिएको थियो। उनको हत्यामा संलग्न संदिग्धहरु पाकिस्तान आधारित आतंकवादी समूह लस्कर–इ–तइबाका लागि काम गरिरहेको हुनसक्ने प्रहरीले शंका गरेको छ।

‘यो योजनाबद्ध हत्या थियो,’ जम्मु र कस्मिरका उपमुख्यमन्त्री काभिन्दर गुप्तालाई उद्धृत गर्दै एनडिटिभीले जनाएको छ। ‘स्थानीय सहयोगबिना आक्रमण सम्भव थिएन,’ गुप्ताले बताए।

शुक्रबार साँझ प्रहरीले मोटरसाइकलमा आएका आक्रमणकारीको सुरक्षा फुटेज सार्वजनिक गरेको थियो। सार्वजनिक भएको फुटेजमा मोटरसाइकल चालक र आक्रमणमा संलग्न तेस्रो व्यक्तिको अनुहार हेल्मेट र मास्कले छोपिएको छ। मोटरसाइकलको बीचमा बसेका आक्रमणकारी भने हतियारको बोरा बोकेको जस्तै देखिएका छन्। क्यामेराबाट उनको अनुहारलाई मोटरसाइकलमा बसेका तेस्रो व्यक्तिले छोपेको प्रहरीले सार्वजनिक गरेको सुरक्षा फुटेजमा देखिएको छ।

हत्या प्रयास भएपछि १८ वर्षअघि ५२ वर्षीय बुखारीलाई प्रहरी सुरक्षा दिइएको थियो । भारत र पाकिस्तानबीचको ‘ट्रयाक–टु’ कूटनीतिका एक अंग दुई सन्तानका पिता बुखारी आतंकवादीको प्रमुख सूचीमा छन् भन्नेसमेत गरिन्थ्यो ।

बुखारीलाई सन् २००६ मा एक अज्ञात बन्दुकधारीले अपहरण गरेर नजिकैबाट गोली हान्ने प्रयास गरेको थियो। तर चामात्कारिक रूपमा बन्दुकधारीको बन्दुक लक भएर नपड्केपछि उनी त्यहाँबाट भागेर ज्यान जोगाएका थिए। रमजानका लागि नयाँ दिल्लीले पछिल्लो समय गरेको युद्धविरामको घोषणाप्रति बुखारीले दह्रो समर्थन गर्दै आइरहेका थिए। केही दिनअघि मात्रै पनि उनले दक्षिणी कस्मिरको पुलवामामा दुई प्रहरीको हत्या भएको भन्दै ट्विट गरेका थिए।

‘साब–इ–कदारका बेला यी प्रहरी मारिएको देख्नु अत्यन्तै हृदयविदारक छ। क्षति बेहोर्न सक्ने सामथ्र्य परिवारमा प्राप्त होस्। अन्त्यमा थप दुई कस्मिरीको ज्यान गएको छ। वार्ताको वातावरण बनाउनका लागि हिंसा रोकिनुपर्छ,’ बुखारीको केही दिनअघिको ट्विटमा लेखिएको छ।

प्रकाशित: ३ असार २०७५ ०३:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App