नेपाली कांग्रेसका तत्कालीन महामन्त्रीहरूले बोलाएको विशेष महाधिवेशनलाई मुलुकका सञ्चार माध्यमहरूले राम्रै स्थान दिएका थिए। म स्वयं कांग्रेसमा आबद्ध भएका कारण त्यो अधिवेशनसम्बन्धी समाचार तथा लेखहरूमा मेरो दृष्टि जानु स्वाभाविक हो। विशेष महाधिवेशनले गरेका अरू निर्णय कार्यान्वयन हुने हुन् कि होइनन्, त्यो आउने समयले बताउला तर त्यसको प्रमुख निर्णय कांग्रेसको नेतृत्व परिवर्तन कार्यान्वयन भई सकेको छ। यद्यपि यो परिवर्तित नेतृत्वसम्बन्धी रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको भए तापनि परिवर्तित नेतृत्वले देशको समग्र राजनीति तथा हाल हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा प्रभाव पार्ने निर्णयहरू गरिसकेको र निर्वाचन आयोगले त्यसलाई मान्यता प्रदान गरेको हुँदा सर्वोच्च अदालतको राय पनि यसबाट प्रभावित हुने धेरै सम्भावना देखिन्छ। नेपालीले सर्वोच्च अदालतको फैसला कुरेर बस्नु समय सान्दर्भिक पनि छैन। यस्ता राजनीतिक प्रकृतिका न्यायिक प्रश्नहरूमा कुनै फैसला वा राय दिनुभन्दा अल्झाएर राख्ने सर्वोच्च अदालतको परम्परालाई पनि सबैले जानीबुझी राखेकै हो।
सर्वोच्चमा रहेको मुद्दा यो लेखको मूल विषय होइन। यो लेखको मूल विषय तत् समयमा नेपालका छापा तथा डिजिटल समाचार माध्यमहरूमा महिमामण्डित भएको राजनीतिमा युवाहरूको नेतृत्वको आवश्यकताको विचार सम्बन्धमा मन्थन गर्नु हो।
वृद्धतन्त्रको विरुद्धमा तन्नेरीतन्त्रको श्रेष्ठता सुन्दा आकर्षक लागे तापनि त्यसले असल परिणाम दिन सकेन भने केवल युवा रूपको सौन्दर्यमा मात्र नेपालीले सन्तुष्टि लिन सक्दैन। तसर्थ युवा शब्दलाई राजनीतिमा बुझ्दा केवल वयमा नबुझी विचारमा बुझ्नु आवश्यक छ। वयको मात्र कुरा गर्ने हो भने अनुभवहीन र चञ्चल तन्नेरीभन्दा अनुभवी र पाको प्रौढले सुविचारित निर्णय गर्न सक्छ। तसर्थ मानिसको उमेर गणना गरी त्यसको पछि लाग्नुभन्दा मानिसको सोचको विश्लेषण गरी समर्थन वा विरोध गर्नु उचित हुन्छ।
टोनी ब्लेयरले उग्र वाम र मध्य पन्थीबिचको नीति तेस्रो बाटो नामकरण गरी आफ्नो पार्टीलाई ब्रिटेनको राजनीति र सत्ताको केन्द्रमा तीन कार्यकालसम्म राख्न सफल भए। जस्टिन ट्रुडोले क्यानडाको लिवरल पार्टीको नेतृत्व गर्दै सो पार्टीलाई सन् २०१५ देखि २०२५ सम्म क्यानडाको सत्तामा राख्न सफल भए।
सन् २०२५ मा उन्नको अलोकप्रियता बढेपछि उनी पार्टीको नेतृत्वबाट पछि हटे र अहिले मार्क कार्नी लिवरल पार्टीको नेता र क्यानडाको प्रधानमन्त्री बनेका छन्। फ्रान्सका इम्मान्युयल म्याक्रों सन् २०१७ देखि हालसम्म फ्रान्सका राष्ट्रपति बनेका छन्।
यी तिनै नेताले पचास वर्षभन्दा कम उमेरमा नै आफ्नो देशको नेतृत्व गर्दै सफलतापूर्वक सरकार सञ्चालन गर्नुको अलावा विश्वको राजनीतिक रंगमञ्चमा उल्लेख्य भूमिका निर्वाह गरे, गर्दै छन्। युवाहरूको नेतृत्वको अर्को पाटो पनि छ। मैले पढेको समाचारपत्रमा युरोपका दुई र अमेरिकाको एक गरी तीन देशका सरकार प्रमुखहरूको उदाहरण दिइएकाले मैले पनि यहाँ युरोपकै दुई देश र अमेरिकाको एक देशका सरकार प्रमुखहरूको उदाहरण प्रस्तुत गरेको छु।
हंगेरीका प्रधानमन्त्री भिक्टर अर्वान ३५ वर्षको उमेरमा सन् १९९८ मा अनुदारवादीहरूको गठबन्धनबाट प्रथम पटक प्रधानमन्त्री बनेका हुन्। गठबन्धनको प्रधानमन्त्री भएको र संसद्मा आफ्नो समर्थक सदस्य संख्या कम भएको कारण उनले आफ्नो अलोकतान्त्रिक तथा भ्रष्ट चरित्रअनुरूप खुलेर काम गर्न पाएनन्।
सन् २०१० मा ४७ वर्षको उमेरमा संसद्मा बहुमतसहित जब उनी दोस्रो पटक प्रधानमन्त्री भए, हंगेरीमा प्रजातन्त्रको क्षयीकरण हुन लाग्यो, भ्रष्टाचार बढ्यो। न्यायिक स्वतन्त्रता कमजोर हुन थाल्यो। सञ्चार स्वतन्त्रतामा बन्देज सुरु भयो। उनले आफ्नो शासन मजबुत गर्न र लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउन संविधान संशोधन गरे।
युरोपमा अहिले हंगेरीको शासनलाई क्लेप्टोक्रेसी (भ्रष्टहरूको शासन) भनिन्छ। साथै हंगेरीलाई माफियाहरूको देश पनि भनिन्छ। डेमोक्रेसी इन्डेक्समा हंगेरी वर्णशंकर शासन भएको देशमा पर्छ। अर्वानले आफ्नो शासनलाई अनुदार क्रिस्चियन प्रजातन्त्र भन्छन्। उनले युरोपियन युनियनलाई राष्ट्रवाद विरोधी भन्छन् र आफूले हंगेरीको क्रिस्चियन मूल्य र राष्ट्रियता संरक्षण गरेको प्रचार गर्छन्।
टर्कीका हालका राष्ट्रपति रिसेप तैयब एर्दोगान मुस्लिम अनुदारवादी हुन्। उनी सन् २००३ मा ४९ वर्षको उमेरमा टर्कीको प्रधानमन्त्री बनेका हुन्। प्रधानमन्त्रीको कार्यकालमा संसद्को वन्देज र हस्तक्षेपको कारण उनले आफ्नो अनुदारवादी तथा अलोकतान्त्रिक सोचअनुरूप काम गर्न बन्देज महसुस गरे। त्यसैले संविधान संशोधन गरी सन् २०१४ मा राष्ट्रपति निर्वाचित भएपछि टर्कीको प्रजातन्त्रको क्षयीकरण सुरु भयो। उनको शासनलाई सर्वाधिकारवादी शासन मानिन्छ।
हाल संयुक्त राज्य अमेरिकाले बन्दी बनाएका दक्षिण अमेरिकी राज्य भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो पनि ५१ वर्षको उमेरमा सन् २०१३ मा राष्ट्रपति बनेका हुन्। ह्युगो चावेजको शासनमा उपराष्ट्रपति बनेका उनी चावेजको मृत्युपछि कार्यवाहक हुँदै राष्ट्रपतिमा निर्वाचित भएका हुन्। उनी भ्रष्टाचारलाई संस्थागत गर्ने, सेनालाई भ्रष्ट्र बनाउने र भ्रष्ट सैनिकको सहयोगमा कानुनको बदला आज्ञप्ती (रुल वाई डिक्री) जारी गरी शासन गर्ने गरेका छन्।
समग्रमा मदुरो मानवाधिकार विरोधी, सञ्चार स्वतन्त्रता विरोधी, भ्रष्ट तथा अधिनायकवादीका रूपमा चिनिन्छन्। लोकतान्त्रिक संस्थाहरूलाई सम्मान गर्दै लोकतन्त्रका सामान्य सिद्धान्तअनुसार आफ्नो देशको नेतृत्व गरेका बेलायतका टोनी ब्लेयर, क्यानडाका जस्टिन ट्रुडो र फ्रान्सका इमानुयल म्याक्रों पचास वर्षभन्दा कम उमेरमा नै जिम्मेवारी सम्हालेका नेता हुन्।
त्यस्तै शासनमा पुगेपछि जनमतलाई तिरस्कार गर्ने, लोकतान्त्रिक मूल्य मान्यतालाई कुल्चने र सर्वाधिकारवादी शासन चलाउने हंगेरीका भिक्टर अर्वान, टर्कीका रिसेप तैयप एर्दोगान र भेनेजुएलाका निकोलस मदुरो पनि पचास वर्षभन्दा कम उमेरका र पचासकै हाराहारीका व्यक्ति हुन्। एउटा उमेर समूह अथवा युवाले राजनीतिमा नेतृत्व गर्दैमा लोकतन्त्र सुरक्षित रहने, जनताले सुख सुविधा उपभोग गर्न पाउने भए हंगेरी, टर्की र भेनेजुएलामा पनि सबै ठिकठाक हुनुपर्ने हो। तर यथार्थताले त्यस्तो देखाउँदैन।
कुनै युवाले आफ्नो कुनै व्यक्तिगत प्रतिभाको कारण जनमतलाई एक पटक प्रभावित पार्न सक्छ। हंगेरी, टर्कीका सरकार प्रमुखहरू पनि सुरुवातमा जनमतलाई प्रभावित पारेर नै निर्वाचित भएका हुन् तर शासनमा पुगेपछि आफ्नो चरित्र प्रदर्शन गरे। हाम्रै देशमा पनि दोहोरो नागरिकता तथा दोहोरो राहदानी धारण गर्ने, चार चार विवाह गरिसकेका, सहकारी ठगी तथा सम्पत्ति शुद्धीकरणमा आरोपित व्यक्तिले अझै पनि जनतामा भ्रम छरी जनतालाई प्रभावित गरेको यथार्थ छ।
तसर्थ एक पटक जनमतलाई आफ्नो पक्षमा पार्यो भन्दैमा उक्त व्यक्ति असल हुन्छ नै भन्ने निश्चितता हुँदैन। अझ आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरू निर्वाचनमा विजयी बन्ने दक्षिण एसियाजस्तो कमजोर प्रजातान्त्रिक संस्कृति भएको देशमा एक दुई पटकको जनमतलाई आधार मानेर मूल्यांकन गर्नु उचित हुँदैन। युवालाई उमेर समूहमा बुझ्नु शाब्दिक भावमा उचित नै होला।
राजनीति वा समाज विज्ञानमा युवा त्यो हो, जसमा जनतालाई सुख सुविधा दिने हुटहुटी छ, जो लोकतन्त्रको असल परिणाम भनौं वा प्रतिफल जनतासम्म पुर्याउन कृतसंकल्पित छ, जो आफ्नो संकल्प हरतरहले पूरा गर्न मानसिक वा शारीरिक रूपले सक्षम छ, जसले राज्यका लोकतान्त्रिक संस्थाहरूलाई सम्मान गर्छ, जसले आफ्नो लक्ष पूरा गर्न कुनै अवरोध आइपरेमा ती अवरोधलाई प्रजातान्त्रिक तरिकाले निस्तेज गर्न सक्षम छ, त्यस्तो व्यक्ति चाहे त्यो पच्चिस वर्षको होस् वा पचासी वर्षको, त्यो युवा हो। आफ्नो क्षमतामा विश्वास नभएको, सानो कुरामा पनि याचना गर्ने, जोखिम लिन डराउने, प्रतिगामी सोच भएको व्यक्ति पच्चिस वर्षको उमेरको भए पनि त्यो वार्धक्यबाट ग्रसित व्यक्ति हो।
बिपी निर्वासनमा वाराणसीमा हुनुहुन्थ्यो। त्यो समयमा आफ्नो सन्देश नेपालीसमक्ष पुर्याउन शैलजा आचार्यको सम्पादनमा तरुण पत्रिका प्रकाशन गराउनुहुन्थ्यो। तरुणको दोस्रो वा तेस्रो अंकमा बिपीले तरुणको सम्बन्धमा एउटा लेख लेख्नुभयो। उहाँको तरुणप्रति असाध्यै विश्वास तथा लगाव थियो।
‘तरुण केवल उमेरले भइँदैन। तरुण हुनका लागि तरुणोचित गुण हुनुपर्छ। मैले यस्ता तरुण पनि देखेको छु, जो उमेरले तरुण भए पनि विचारले असी कटेका वृद्धजस्ता छन्। म अहिले साठी वर्षनजिक पुग्न लागेको छु तर म आफूलाई अहिले पनि तरुण नै सम्झन्छु,’ बिपीले तरुण पत्रिकामा राखेको विचार हो यो। सायद उहाँमा रहेको यही तरुणोचित गुणको कारणले होला, २०३३ सालमा ज्यान जोखिममा राखेर नेपाल फर्कने निर्णय लिनुभयो। उहाँको समतुल्य कुनै नेपाली जन्मेको छैन। आशा गरौं, भविष्यमा जन्मेला।
प्रकाशित: १५ माघ २०८२ १०:१० बिहीबार

