२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हसिना सरकारमा हुँदा नागरिकलाई बेपत्ता पारेको भन्दै १५ सैन्य अधिकारी पक्राउ

सेनाले भन्यो : मनोबल प्रभावित

बंगलादेशको सेनाले बढ्दो तनावको बीचमा न्याय कायम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यद्यपि, वरिष्ठ अधिकारीविरुद्ध जारी गरिएको पक्राउ पुर्जीले चुनावको अगाडि सेनाको मनोबलमा असर पारेको सेनाले शनिबार जनाएको छ।

बुधबार बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आइसिटी) ले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकलाई बेपत्ता पारेको भन्दै दुई दर्जन सैन्य अधिकारीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

न्यायाधिकरणले हसिनाको अपदस्थ सरकार र हाल प्रतिबन्धित उनको अवामी लिग पार्टीसँग सम्बन्धित पूर्व वरिष्ठ नेताहरूलाई मुद्दा चलाइरहेको छ।

हसिनाको अवामी लिग सत्तामा रहेको १५ वर्षको अवधिमा सुरक्षा बलले कथित रूपमा बेपत्ता पारेका २५० भन्दा बढी घटनाहरूको जाँच आयोगले प्रमाणीकरण गरेपछि यो पक्राउ पुर्जी आदेश जारी गरिएको थियो।

सेनाका एडजुटेन्ट जनरल मेजर जनरल मोहम्मद हाकिमुज्जमानले न्यायाधिकरणको कदमको प्रभावलाई स्वीकार गरे।

‘सैन्य अधिकारीहरूविरुद्धको पक्राउ पुर्जीले हामीलाई असर गरिरहेको छ भन्ने कुरालाई म अस्वीकार गर्न सक्दिनँ, तर हामी न्याय सुनिश्चित गर्न दृढ रहनेछौं,’ हकिमुज्जमानले ढाकामा पत्रकारहरूसँग भने।

नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले बेपत्ता पारेका व्यक्तिको छानबिन गर्न आयोग गठन गरेको थियो र हालसम्म करिब एक हजार ७०० उजुरीहरू प्राप्त भएका छन्।

हकिमुज्जमानले वारेन्ट जारी भएपछि १५ जना बहालवाला अधिकारीलाई हिरासतमा लिइएको बताए।

‘उनीहरूलाई आफ्नो परिवारबाट अलग उच्च सुरक्षामा राखिएको छ र गार्ड र अन्य आवश्यक प्रबन्धहरू मिलाइएको छ,’ उनले भने।

अधिकारीहरू अक्टोबर २२ मा आइसिटी समक्ष उपस्थित हुने अपेक्षा गरिएको छ।

‘त्यहाँ केही मुद्दाहरू छन् जुन चाँडै समाधान गर्न आवश्यक छ, र हामी उपयुक्त अधिकारीबाट जवाफ खोज्नेछौं,’ हकिमुज्जमानले थपे।

यति ठूलो संख्यामा वरिष्ठ वरियताका पूर्व र बहालवाला सुरक्षा अधिकारीहरूले बंगलादेशमा फौजदारी मुद्दाको सामना गर्ने सम्भावना यो पहिलो हो। एएफपी

प्रकाशित: २६ आश्विन २०८२ ०८:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App