गाजाको नास्सर अस्पतालमा सोमबार भएको इजरायली हमलामा चार पत्रकार सहित कम्तीमा १५ जनाको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य अधिकारीले बताएका छन् । मृत्यु हुनेमा रोयटर्सका क्यामरामेन, एसोसिएटेड प्रेस(एपी), अलजजिराका पत्रकार र एक स्वतन्त्र पत्रकार रहेको बिबिसीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार पहिलो हमला भएको स्थानमा उद्धारकर्मी, पत्रकार र अन्य मानिसहरू पुगेका बेला दोस्रो हमला भएको थियो । रोयटर्सले अस्पताल परिसरबाट प्रत्यक्ष भिडियो प्रसारण गरिरहेको थियो र पहिलो हमलाका कारण उक्त प्रसारण अचानक बन्द भएको रायटर्सको फुटेजले देखाएको छ ।
‘पहिलो हमलामा रोयटर्सका हतमे हुसाम अल मासीरको मृत्य भएको छ भने दोस्रोमा रोयटर्सकै क्यामरामेन हतेम खालेद घाइते भएका छन्,’ रोयटर्सका प्रवक्ताले एक विज्ञप्तिमा भनेकाछन् । प्रवक्ताले उक्त घट्नाको थप जानकारी संकलन भैरहेको र घाइेत खालेदको तत्काल उपचारको लागि अनुरोध गरेकाछन् ।
यसैगरी मृत्यु हुनेमा एसोसियटेड प्रेस(एपी)का पत्रकार मारियम डग्गा रहेको बिबिसीले जनाएको छ । ३३ बर्षिय डग्गाको मृत्युले ‘ स्तब्ध र दुखित’ भएको एपीले एक विज्ञप्तीमा जनाएको छ । घट्नामा अल जजिराका मोहम्मम सालामेह र अर्का स्वतन्त्र पत्रकार मुआथ अबु ताहाको पनि मृत्यु भएको छ ।
हमासको ‘सिभिल डिफेन्स’ले आफ्ना एक सदस्य सहित कुल १५ जना मारिएको पुष्टि गरेको छ । दुई साता अघि अल सिफा अस्पताल नजिक भएको एक आक्रमणमा ६ जना पत्रकार मारिएका थिए । संयुक्त राष्ट्र संघीय मानव अधिकार कार्यालयले आक्रमणको निन्दा गरेको छ र आक्रमणलाई अन्तराष्ट्रिय कानुनको उल्लघन भनेको छ ।
प्रकाशित: ९ भाद्र २०८२ १८:०८ सोमबार





