११ माघ २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पसँगको शिखर बैठक रद्द गर्ने उत्तर कोरियाली चेतावनी

सोल– आफ्नो आणविक हतियार त्याग्न अमेरिकाले दबाब दिएमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताबाट फिर्ता आउने सक्ने उत्तर कोरियाले बताएको छ ।बहुप्रतिक्षित अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ–उनबीचको बैठक जुन १२ मा एसियाली मुलुक सिंगापुरमा हुने तय भएको छ।

तर एक्कासी रिसाएको उत्तर कोरियाले जारी गरेको एउटा विज्ञप्तिमा उत्तर कोरियाका उप–विदेशमन्त्रीले अमेरिकाले गैरजिम्मेवार विज्ञप्ति जारी गरेको र गलत नियतवश आएको आरोप लगाइएको छ । उप–विदेशमन्त्रीले जारी गरेको विज्ञप्तिमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बल्टनमाथि प्रश्न उठाइएको बिबिसीले जनाएको छ । ‘उनीप्रतिको हाम्रो घृणाको विचार हामी लुकाउँदैनौं,’ उत्तर कोरियाली उप–विदेशमन्त्री किम केई–ग्वानले जारी गरेको विज्ञप्ति उल्लेख गर्दै बिबिसीले जनाएको छ । आसन्त शिखर वार्ताअघि आक्रमक बन्दै उत्तर कोरियाले विज्ञप्ति निकालेपछि अमेरिकाले पनि तत्कालै प्रतिक्रिया जनाएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले आफू अझैपनि उत्तर कोरियाली नेता किम र अमेरिकी राष्ट्रपति ट्रम्पबीचमा शिखर वार्ता हुनेमा आशावादी रहेको बताएको छ । ‘यदि बैठक भयो भने राष्ट्रपति वार्ताका लागि तयार हुनुहुन्छ।

तर यदि बैठक भएन भने हामी उत्तर कोरियामाथि जारी रहेको दबाबलाई थप वृद्धि गर्दै निरन्तरता दिन्छौं,’ अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका प्रवक्ता साराह सान्डेर्सलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । कोरियाली प्रायद्वीपलाई आणविक निःशस्त्रीकरण गर्नका लागि आफू प्रतिबद्ध रहेको उत्तर कोरियाले बताएपछि किम र ट्रम्पबीचको ऐतिहासिक भेटवार्ताको गाँठो फुकेको थियो । बैठक हुन्छ वा हुँदैन भन्नेबारे अझै प्रष्ट छैन तर उत्तर कोरियाले भने यसै महिनाको अन्त्यतिर आफ्नो मुख्य आणविक परीक्षण केन्द्रलाई पूर्ण रूपमा ध्वस्त गर्न लागेको भन्दै त्यस कार्यको निरीक्षण गर्नका लागि विदेशी सञ्चारमाध्यमलाई बोलाइ सकेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार बोल्टनले केही दिनअघि मात्रै उत्तर कोरियाले विश्वसनीय प्रकारको ‘लिबिया मोडल’ पछ्याउन सक्ने बताएका थिए । बोल्टनको यस्तो भनाइले प्योङयाङलाई भने झस्काएको छ र लिबियाका कर्णेल मोहम्मर गद्दाफीले आणविक हतियार छोडेको केही वर्षपछि पश्चिमा राष्ट्र समर्थनमा रहेको विद्रोहीले मारेको उसको बुझाइ रहेको छ । लामो समयदेखि आफ्नो सुरक्षाका लागि आणविक हतियारको आवश्यकता रहेको बताउने उत्तर कोरियाले विज्ञप्तिमार्फत् अमेरिकासँगको वार्ताको पूर्वसन्ध्यामा प्रष्टसँगै आफ्नो माग पेश गरेको बिबिसीले बताएको छ ।

‘यदि अमेरिकाले हामीलाई भित्तामा पुर्याउँछ र आणविक हतियार त्याग्न एकतर्फी रूपमा माग गर्छ भने हामीलाई वार्ताको कुनै इच्छा हुने छैन । सिंगापुरमा जुन १२ का दिन हुने बैठकबारे हामी पुनर्विचार गर्नेछौं,’ उत्तर कोरियाली विदेशमन्त्री किमले जारी गरेको र राज्य सञ्चालित सञ्चारमाध्यमले प्रसारण गरेको विज्ञप्तिमा भनिएको छ । उनले उत्तर कोरियाको ठूलो आशा नभएको भए पनि शिखर वार्ताको पूर्वसन्ध्यमा बेतुकका विज्ञप्ति जारी गरेर उकास्ने काम भइरहेको उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उप–विदेशमन्त्री किम केइ–ग्वान उत्तर कोरियाली नेतृत्वमा अत्यन्तै सम्मानित व्यक्तिका रूपमा चिनिन्छन् । उनी अमेरिकासँग विगतमा भएका वार्तामा पनि सहभागी भइसकेको व्यक्ति हुन् । उनले जारी गरेको विज्ञप्ति उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनले व्यक्तिगत रूपमा जारी गर्न नलगाएको भन्ने विषयमा अत्यन्तै न्यून सम्भावना रहेको बिबिसीले उल्लेख गरेको छ । पुनः बढ्दो समस्या निम्त्याउन सक्ने विज्ञप्ति आउनुभन्दा केही घण्टाअघिलाई तय भएको निर्धारित दक्षिण कोरियासँगको वार्ता पनि उत्तर कोरियाले अन्तिम समयमा आएर रद्द गरेको थियो।

उसले अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास सुरु गरेको भन्दै निर्धारित बैठकबाट फिर्ता भएको बिबिसीले उल्लेख गरेको छ । एक्कासी आएको उत्तर कोरियाली विज्ञप्तिले अमेरिकी अधिकारीहरुलाइै आश्चर्य बनाएको बताइएको छ । कतिपय विश्लेषकले भने वार्ताअघि आफ्नो मागलाई बलियो बनाउने उत्तर कोरियाली प्रयासका रूपमा समेत उप–विदेशमन्त्री किमको विज्ञप्तिलाई लिएका छन् ।
 

प्रकाशित: ३ जेष्ठ २०७५ ०३:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App