८ माघ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्ततः मध्यपूर्व द्वन्द्वमा होमियो अमेरिका

इरानका परमाणु केन्द्रमा आक्रमण गरेर अमेरिका प्रत्यक्ष रूपमा मध्यपूर्वको द्वन्द्वमा सहभागी भएको छ। यसबाट इरान र इजरायलबिच नौ दिनअघि सुरु भएको द्वन्द्व नयाँ र गम्भीर चरणमा प्रवेश गरेको छ। यसअघि ‘पर्ख र हेर’को अवस्थामा रहेको अमेरिकाले शनिबार राति अत्याधुनिक बी–२ बमवर्षक विमानबाट इरानका तीनवटा परमाणु केन्द्रमा आक्रमण गरेको छ।

गत शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हमला गर्ने विषयमा निर्णय लिन अमेरिकालाई दुई साता लाग्ने बताएका थिए। तर उनले त्यसो भनेको दुई दिनमै अमेरिकाले इरानका तीन परमाणु केन्द्रमा ‘सुपर बम’ खसालेर हवाई हमला गरेको छ। इरानले परमाणु सामग्री अन्यत्र सार्न सक्ने देखिएकाले तत्कालै कारबाही अघि बढाएको दाबी अमेरिकाले गरेको छ।

ट्रम्पले इरानमाथिको हवाई आक्रमण सफल भएको र तीनवटा परमाणु केन्द्र ध्वस्त भएको दाबी गरेका छन्। आक्रमणलगत्तै एक टेलिभिजनबाट देशवासीलाई सम्बोधन गर्दै ट्रम्पले इरानका परमाणु प्रशोधन केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको बताएका हुन्। उनले समाजिक सञ्जाल ट्रुथमा पनि लेखेका छन्, ‘हमलामा परिचालित सबै विमान सुरक्षित रूपमा आफ्नो घरतर्फ फर्केका छन्। हाम्रा महान् अमेरिकी योद्धालाई बधाई। विश्वमा कुनै पनि अरू सेना यो कार्य गर्न सक्षम छैनन्। अब शान्तिको समय हो।’

ट्रम्पले अब यो युद्ध समाप्त गर्न इरान सहमतिमा आउनुपर्ने बताएका छन्।

इरानी अधिकारीहरूले भने अमेरिकी आक्रमण भएका परमाणु केन्द्रमा ठुलो क्षति नभएको दाबी गरेका छन्। इजरायलले अमेरिकी हमलाको योजना बनाउन पूर्ण समन्वय गरेको दाबी पनि इरानी अधिकारीहरूको छ। अमेरिकी आक्रमणको प्रमुख निसाना इरानको फोर्दाेस्थित युरेनियम प्रशोधन गर्ने एउटा आणविक प्लान्ट रहेको थियो। यसैगरी नटान्ज र इस्फाहानमा रहेका परमाणु केन्द्रमा पनि अमेरिकाले आक्रमण गरेको छ। ती परमाणु केन्द्रमा आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण बाहिर आएको छैन। फोर्दो इरानको राजधानी तेहरानको दक्षिणी क्षेत्रमा पर्छ।

त्यहाँ जमिनमुनि निकै गहिराइमा रहेको युरेनियम प्रशोधन गर्ने उक्त आणविक प्लान्टलाई नष्ट गर्न सक्ने ‘बंकर बस्टर’ बम अमेरिकासँग मात्र भएको मानिन्छ। झन्डै १३ हजार किलोग्राम तौलको उक्त बमले जमिनमुनि दुई सय फिट तलसम्मको भूसतहलाई छेडन सक्ने क्षमता राख्छ। अमेरिकाले उक्त बम प्रहार गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

बिबिसीका अनुसार ती परमाणु केन्द्रमा कति क्षति पुग्यो अथवा पुगेन भन्ने अझै स्पष्ट भएको छैन। इरानले परमाणु केन्द्रहरूमा बम विस्फोट गराउनुलाई अन्तर्राष्ट्रिय कानुनको ‘बर्बर उल्लंघन’ भनेको छ। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आइएइए) ले अमेरिकी आक्रमणपछि ती क्षेत्रमा रेडियोधर्मी विकिरण (रेडिएसन) को मात्रा नबढेको पुष्टि गरेको छ। आइएइएले आफ्नो सामाजिक सञ्जाल एक्समा भनेको छ, ‘फोर्दोसहित इरानका तीनवटा परमाणु केन्द्रमा भएको आक्रमणपछि ती स्थानवरपर विकिरण बढेको देखिएको छैन।’

इरानका विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी आक्रमणले दूरगामी परिणाम निम्त्याउने चेतावनी दिएका छन्। उनले आफ्नो सम्प्रभुता रक्षा गर्न सबै विकल्प प्रयोग गर्ने अधिकार इरानसँग रहेको बताएका छन्। यसअघि इरानी अधिकारीहरूले अमेरिकालाई मध्यपूर्वको द्वन्द्वमा सहभागी नहुन चेतावनी दिएका थिए। उनीहरूले अमेरिका सहभागी भएमा उसले अपूरणीय क्षति बेहोर्नुपर्ने र सबैतिर युद्ध निम्तिने चेतावनी दिएका थिए।

इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई निसाना बनाउने चेतावनी दिएको छ। मध्यपूर्वमा बहराइन, इजिप्ट, इराक, जोर्डन, कुवेत, कतार, साउदी अरेबिया, युएईलगायतका १९ स्थानमा अमेरिकी सैन्य अड्डा छन्। अल जजिराका अनुसार इरानमा इजरायली आक्रमणबाट चार सयजनाभन्दा बढीको मृत्यु भएको छ। तेहरानको जवाफी हमलामा इजरायलमा कम्तीमा २४ जनाको ज्यान गएको छ। 

प्रकाशित: ९ असार २०८२ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App