२६ असार २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

कम्बोडियाका नेतासँगको ‘फोन कल’ बाहिरिएपछि थाई प्रधानमन्त्रीको पद धरापमा

थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतान सिनावात्रा र कम्बोडियाका पूर्व नेता हुन सेनबीच भएको एक फोन कल बाहिरिएपछि उनको गठबन्धन सरकार धरापमा परेको छ।

लामो समयदेखिको सीमा विवादबारे भएको उक्त कुराकानी सार्वजनिक भएपछि प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने माग चर्किएको छ।

फोन कल सार्वजनिक भएपछि थाइल्याण्डमा जनआक्रोश बढेको छ भने प्रधानमन्त्री पेतोङतानको पिउ थाई पार्टीको एक प्रमुख सत्ता साझेदार दलले गठबन्धन छाडेको छ।

उक्त फोन कलमा ३८ वर्षीया प्रधानमन्त्रीले पारिवारिक मित्र तथा दक्षिण पूर्वी एसियाका एक वरिष्ठ राजनीतिज्ञ हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गरेकी थिइन् भने एक थाई सैन्य कमान्डरको आलोचना गरेकी थिइन्।

बढ्दो दबाबबीच पेतोङतानले बिहीबार भनिन्, ‘कम्बोडियाली नेतासँगको मेरो कुराकानीको अडियो सार्वजनिक भएपछि बढेको असन्तुष्टिमा म माफी माग्न चाहन्छु।’

पेतोङतानको सत्तारुढ गठबन्धनको दोस्रो ठूलो दल भुमजाईथाईले बुधबार गठबन्धन छाड्ने घोषणा गरेको थियो। अब उनको गठबन्धनसँग झिनो बहुमत मात्र छ। यदि अन्य साझेदार दलले पनि गठबन्धन छाडे भने सरकार ढल्ने निश्चित छ।

आलोचकहरूले प्रधानमन्त्रीले हुन सेनलाई ‘अंकल’ भनेर सम्बोधन गर्नु र उनको आवश्यकता ‘ख्याल गर्ने’ बाचा गर्नुलाई अत्यधिक झुकावको रूपमा लिएका छन्।

उनीहरूले देशको शक्तिशाली सेनालाई कमजोर बनाएको आरोप पनि लगाएका छन्। फोन कलमा उनले हुन सेनलाई सीमा विवाद सम्हालिरहेका एक थाई सैन्य कमान्डरले ‘केवल ‘कुल’ देखिन खोजेको र अनावश्यक कुरा गरेको’ बताएकी थिइन्।

सिनावात्रा परिवार र कम्बोडियाको हुन परिवारबीच दशकौं पुरानो मित्रता छ। पेतोङतानका पिता, पूर्व थाई प्रधानमन्त्री थाक्सिन सिनावात्रा र हुन सेन एकअर्कालाई ‘धर्म-भाइ’ मान्छन्।

थाई प्रधानमन्त्रीले उक्त कललाई ‘वार्ताको एक तरिका’ भन्दै आफ्नो बचाउ गरेकी छन्, तर विपक्षी दलहरूले उनको राजीनामा मागिरहेका छन्।

हुन सेनले आफूले उक्त अडियो क्लिप ८० जना राजनीतिज्ञलाई पठाएको र तीमध्ये एकले चुहाएको बताएका छन्। पछि उनले सम्पूर्ण १७ मिनेटको रेकर्डिङ आफ्नो फेसबुक पेजमा राखेका थिए।

पेतोङतानले प्रधानमन्त्रीको पद सम्हालेको १० महिना मात्र भएको छ। उनी गत अगस्टमा मन्त्रिपरिषद् नियुक्तिमा नियम उल्लङ्घन गरेको भन्दै संवैधानिक अदालतले पूर्ववर्ती प्रधानमन्त्री स्रेता थाभिसिनलाई हटाएपछि प्रधानमन्त्री बनेकी थिइन्।

उनी १५ वर्षको निर्वासनपछि गत अगस्टमा थाइल्याण्ड फर्केका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन्। उनी थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी र दोस्रो महिला प्रधानमन्त्री हुन्। पहिलो महिला प्रधानमन्त्री उनकी फुपू यिङलक सिनावात्रा थिइन्।

प्रकाशित: ५ असार २०८२ १६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App