२७ असार २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान दुर्घटनाको असर: बोइङको शेयर मूल्यमा भारी गिरावट

भारतको अहमदाबादमा एयर इन्डियाको ड्रिमलाइनर विमान दुर्घटनाग्रस्त भएपछि त्यसको प्रत्यक्ष असर निर्माता कम्पनी बोइङमा देखिएको छ।

बिहीबार अमेरिकी शेयर बजारको प्रि-मार्केट कारोबारमा बोइङको शेयर मूल्यमा ८ प्रतिशतको भारी गिरावट आएको हो।

एयर इन्डियाको ड्रिमलाइनर विमान २४२ जना यात्रु बोकेर उडेको केही मिनेटमै दुर्घटनामा परेको थियो। उक्त दुर्घटनामा हालसम्म २ सय ४ जनाको मृत्यु पुष्टि भइसेकको छ।

दुर्घटनाले बोइङको सबैभन्दा आधुनिक विमानमध्ये एक मानिने ड्रिमलाइनर जेटको सुरक्षा रेकर्डमा ठूलो धक्का पुर्‍याएको छ। यसले कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) केली ओर्थबर्गको नेतृत्वमा सुरक्षासम्बन्धी विश्वास पुनर्निर्माण गर्ने र उत्पादन बढाउने प्रयासमा समेत गम्भीर असर पार्न सक्ने विश्लेषण गरिएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक रिपोर्टबारे जानकार रहेको र थप जानकारी संकलन गरिरहेको बताएको छ।

यसअघि ब्याट्रीको समस्याका कारण ७८७ ड्रिमलाइनर विमान ग्राउन्डेड गरिए पनि यो मोडलको विमानमा भएको यो पहिलो घातक दुर्घटना हो। बोइङले यसअघि ७३७ म्याक्स विमानको दुईवटा घातक दुर्घटनाका कारण वर्षौंसम्म छानबिन र आलोचना खेप्नुपरेको थियो।

बोइङको शेयरमा आएको गिरावटसँगै विमानका लागि पार्टपुर्जा आपूर्ति गर्ने प्रमुख कम्पनी स्पिरिट एयरोसिस्टम्स र इन्जिन निर्माता जीई एयरोस्पेसको शेयरमा पनि करिब ४ प्रतिशतको गिरावट आएको छ।

जीई एयरोस्पेसले सामाजिक सञ्जाल ‘एक्स’ मा आफ्नो आपत्कालीन प्रतिक्रिया टोली सक्रिय पारिएको र अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

प्रि-मार्केट कारोबारमा बोइङको शेयर मूल्य करिब ८ प्रतिशतले घटेर १९६.७५ डलरमा झरेको थियो।

प्रकाशित: २९ जेष्ठ २०८२ १९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App