१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मौसमी समस्याले पाकिस्तानमा विद्यालय बन्द

जलवायु परिवर्तनले ल्याएका चरम मौसमी समस्याका कारण पाकिस्तानका विद्यालय बन्द भएका छन्। गर्मी, विषाक्त धुवाँ र असामान्य चिसोको जोखिमबाट बालबालिकालाई जोगाउन विद्यालय बन्द गरिएको प्रशासनले जनाएको छ।

मे महिनामा पञ्जाबमा तापक्रम ४५ डिग्री सेल्सियस (११३ डिग्री फरेनहाइट) पुगेपछि धेरै प्रान्तमा विद्यालयको समय घटाएर गर्मी बिदा दिइएको छ। पाकिस्तानमा मौसमी चुनौती धेरै भएकाले विद्यार्थी लामो समयदेखि गर्मी र धुवाँबाट प्रभावित छन्। यसबाट जोगाउन विद्यालय बन्द गरिएको लाहोरकी शैक्षिक अभियान्ता बेला रजा जामिलले बताइन्।

सरकारी तथ्यांकअनुसार विद्यालय जाने उमेरका करिब एक तिहाइ, अर्थात् दुई करोड ६० लाखभन्दा बढी बालबालिका विद्यालयको पहुँचबाहिर छन्। साथै, ६५ प्रतिशत बालबालिका १० वर्षको उमेरसम्म उपयुक्त सामग्री पढ्न सक्दैनन्।

वायु प्रदूषणले गत वर्ष नोभेम्बरमा दुई हप्ता र गर्मीले मेमा एक हप्ता बिदा दिइएको थियो। यो वर्ष जनवरीमा चिसोले तीन हप्ता र मेमा गर्मीले दुई हप्ता विद्यालय बन्द रहनेछन्। पाकिस्तानको बलुचिस्तान प्रान्तमा मे महिनाको गर्मीले तीन वर्षदेखि लगातार गर्मी बिदा गर्नुपरेको छ।

दक्षिणी सिन्ध प्रान्तमा अभिभावकको माग बढ्दै गए पनि अधिकारीहरूले गर्मीसम्बन्धी शैक्षिक बन्दको विरोध गरेका छन्। ‘यस्तो मौसममा अभिभावकलाई बालबालिका विद्यालय पठाउन गाह्रो हुन्छ,’ स्थानीय निजी विद्यालयका प्रिन्सिपल सादिक हुसेनले भने। 

मौसमी समस्याले बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा असर परिरहेको अल सिन्ध प्राइभेट स्कूल एन्ड कलेज एसोसिएसनका महासचिव दोस्त मोहम्मद दानिशले बताए।

शिक्षक, अभिभावक र शिक्षा विज्ञहरूले विद्यालय र परीक्षाको समय तालिका तथा बिदामा पुनर्विचार गर्नुपर्ने बताएका छन्। विश्व बैंकका शिक्षा विशेषज्ञ इजजा फर्राखले जलवायु परिवर्तनले बालबालिकाको सिकाइ समयमा असर परिरहेको बताए।

सिन्ध प्रान्तमा विश्व बैंकको ऋणबाट सुविधासम्पन्न विद्यालय बनिरहेका छन्, जहाँ बालबालिका मौसमी समस्याको सामना गर्दै पढ्न सक्छन्। तर, पाकिस्तानका ग्रामीण क्षेत्रमा सन् २०२२ को बाढीले विद्यालय भवन क्षतिग्रस्त भएपछि बालबालिका असुरक्षित रूपमा बाहिर पढ्न बाध्य छन्। एएफपी

प्रकाशित: २३ जेष्ठ २०८२ १७:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App