१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

नक्कली अन्तरवार्ताले पत्रकारको जागिर गयो

हलिउडका प्रख्यात कलाकार क्लिन्ट इस्टवुडको नक्कली अन्तरवार्ता लिएको भन्दै अस्ट्रियाको एक अखबारले आफ्नी पत्रकारलाई निलम्बन गरेको छ।

कुरियर अखबारमा कहिलेकाहीँ हलिउडका प्रख्यात कलाकारहरूको अन्तरवार्ता लिने काम गर्थिन्। उनले लिएको क्लिन्ट इस्टवुडको अन्तरवार्ता नक्कली भएको प्रमाणित भएपछि यसअघि उनले लिएका प्रख्यात अन्तरवार्ताहरू पनि नक्कली हुनसक्ने आशंका गर्दै अखबारले छानविन शुरू गरेको छ।

भएछ के भने, अस्ट्रियामा रहेको कुरियर नामक प्रख्यात अखबारका लागि पत्रकार एलिसाबेथ सेरेडाले प्रख्यात अभिनेता क्लिन्ट इस्टवुड ९५ वर्ष पुगेको अवसर पारेर एउटा अन्तरवार्ता पठाइछन् । अखबारका सम्पादक मार्टिन गेबहार्टले आठ पटक सो अन्तरवार्ता सम्पादन गर्न आदेश दिएछन् । पत्रकार सेरेडाले पनि भनेअनुसार सम्पादन गरिछन् ।

जब अखबारमा अन्तरवार्ता छापियो, त्यसको चर्चा हलिउडसम्म पुग्यो । पुगेपछि अभिनेता, निर्देशक तथा निर्माता इस्टवुडले आफूसँग भेट नगरी अन्तरवार्ता तयार पारेको भन्दै अखबारको झाँको झारेछन् ।

यी पत्रकार पनि कम चर्चित भने होइनन् । हलिउड फरेन प्रेस एसोसिएसनकी सदस्य भएकीले उनी गोल्डेन ग्लोबमा मतदान दिने अधिकारसमेत राख्छिन् ।

तर इस्टवुडको कडा प्रतिक्रियापछि पत्रकार सेरेडालाई निलम्बन गरिएको र आइन्दा कुरियरमा लेख्न नदिने प्रतिक्रिया दिएका छन् ।

गार्डियन अखबारका अनुसार, उनलाई सम्पर्क गर्न खोजे पनि यस घटनाबारे उनी केही बोल्न चाहिनन् ।

पछि इस्टवुडले डेडलाइन पत्रिकासँग कुरा गर्दै भनेका छन्, 'अखबारमा यदि म ९५ पुगेको लेखेको हो भने, त्यो सत्य हो भन्न चाहन्छु । अन्तरवार्ता दिएको सोध्नुहुन्छ भने त्यो सत्य होइन भनी प्रस्ट्याउन चाहन्छु ।'

इस्टवुडका गुड ब्याड एन्ड अग्ली, अनफरगिभन, डर्टी ह्यारीजस्ता प्रख्यात चलचित्रमा अभिनय गरेका छन् भने मिलियन डलर बेबीजस्ता फिल्ममा अभिनयसँगै निर्देशन पनि गरेका छन् । गएको वर्ष ज्युरर नम्बर २ फिल्म निर्माण तथा निर्देशन गरेका थिए ।

प्रकाशित: २१ जेष्ठ २०८२ १२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App