अमेरिकाले इरानलाई आणविक सम्झौताको प्रस्ताव पठाएको ह्वाइट हाउसले शनिबार पुष्टि गरेको छ। इरानका विदेशमन्त्री अब्बास अराघचीले ओमानका विदेशमन्त्री बद्र बिन हम्माद अल–बुसैदीसँग तेहरानमा भएको भेटमा ‘अमेरिकी प्रस्तावका केही महत्त्वपूर्ण बुँदाहरू’ बारे जानकारी पाएको बताएका हुन्।
यो प्रस्ताव संयुक्त राष्ट्रसंघको आणविक एजेन्सीले आफ्नो प्रतिवेदनमा इरानले आणविक हतियार बनाउन प्रयोग हुने युरेनियमको समृद्धिकरण तीव्र पारेको उल्लेख गरेको समयमा आएको हो।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यो सम्झौता इरानको हितमा रहेको भन्दै भनिन्, ‘राष्ट्रपति ट्रम्पले स्पष्ट रूपमा भनेका छन् कि इरानलाई कहिल्यै पनि आणविक बम बनाउन दिइने छैन।’
लेभिटले राष्ट्रपति ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकफले तयार गरेको प्रस्ताव राम्रोसँग तयार र स्वीकार्य रहेको जानकारी गराइन्। इरानका विदेशमन्त्री अब्बास अराघचीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘इरानले आफ्नो देशको सिद्धान्त, जनताको हित र अधिकारलाई ध्यानमा राखेर यो प्रस्तावको जवाफ दिनेछ।’ हालसम्म यो सम्झौताबारे थप विवरण सार्वजनिक गरिएको छैन।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक सुविधामाथि सैन्य कारबाहीको धम्की दिने गरेका छन्। यसले अमेरिका–इरान वार्तालाई प्रभावित गर्न सक्ने चिन्ता व्यक्त गरिएको छ। आणविक सम्झौतामार्फत समाधान खोज्न ट्रम्पले नेतान्याहुलाई कुनै पनि सैन्य कारबाही नगर्न चेतावनी दिएका छन्।
प्रस्तावमा इरानले युरेनियम समृद्धिकरण पूर्ण रूपमा बन्द गर्नुपर्ने र क्षेत्रीय मुलुकहरू (जस्तै साउदी अरब, यूएई) सहितको एक बहुपक्षीय समूहले इरानको आणविक ऊर्जा उत्पादनमा सहभागिता जनाउने उल्लेख छ।
इरानले युरेनियम समृद्धिकरण आफ्नो 'असंलग्न सिद्धान्त' र राष्ट्रिय सार्वभौमिकताको हिस्सा भएको बताउँदै यसलाई बन्द गर्न अस्वीकार गरेको छ। सम्झौताले इरानको समृद्धिकरण अधिकारलाई मान्यता दिनुपर्ने र अमेरिकी प्रतिबन्धहरू पूर्ण रूपमा हटाउनुपर्ने शर्त राखेका छन्।
इरानले अस्थायी रूपमा समृद्धिकरण रोक्न सकिने, तर बद्लामा अमेरिकाले इरानको जमेका तेल राजस्व फुकुवा गर्नुपर्ने र नागरिक प्रयोजनका लागि युरेनियम समृद्धिकरणको अधिकार स्वीकार गर्नुपर्ने प्रस्ताव राखेको छ। एजेन्सी
प्रकाशित: १८ जेष्ठ २०८२ ०९:२६ आइतबार





