१५ चैत्र २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिकामा विवेक रामास्वामीमाथि रंगभेदी हमला, ‘भारत फर्क’ भनियो

भारतीय मूलका अमेरिकी उद्यमी तथा रिपब्लिकन नेता विवेक रामास्वामीले मंगलबार श्रीमती अपूर्वासँगको १० औं विवाह वार्षिकोत्सव मनाउन सामाजिक सञ्जाल एक्समा एक पोस्ट साझा गरेका थिए। 

तर यो व्यक्तिगत र भावनात्मक पोस्टलाई लिएर उनीमाथि अमेरिकी नागरिकले रंगभेदी आक्रमण गरेका छन्। एच-१बी भिसा कार्यक्रमलाई लिएर अमेरिकामा चलिरहेको विवादको सिकार रामास्वामी पनि बनेका हुन्। 

रामास्वामीले आफ्नो पोस्टमा सन् २०११ मा अपूर्वासँगको पहिलो डेटको सम्झना साझा गरेका थिए। उनले पहिलो डेटको समयको र अर्को हालैको यात्राको तस्बिर उनले साझा गरेका थिए। 

उनले लेखेका छन्, ‘सन् २०११ को शरदमा मैले एक बुद्धिमान मेडिकल विद्यार्थी अपूर्वालाई भेटें र उनलाई पहिलो डेटमा रकीजको फ्ल्याटटप माउन्टेन पदयात्राका लागि प्रस्ताव राखें। हामी शिखर नजिक पुग्दा हिमआँधी आयो। म जिद्दी भएर अघि बढ्न खोजिरहेँ, तर उनले मेरो हात समातेर मेरो आँखामा हेर्दै भनिन्–“हामीसँग यो पूरा गर्न जीवनभर बाँकी छ।” १४ वर्ष र दुई सन्तानपछि हामी यो सप्ताहन्तमा हाम्रो १० औं विवाह वार्षिकोत्सव मनाउन फर्कियौं।’

त्यसमा अमेरिकी प्रयोगकर्ताहरूले रामास्वामी र उनकी श्रीमतीलाई ‘भारत फर्कन’ भन्दै अपमानजनक टिप्पणीहरू गरेका हुन्। एक एक्स प्रयोगकर्ताले लेखेका छन्, ‘हामी चाहन्छौं कि तपाईं भारत फर्केर त्यहाँको पदमार्ग अवलोकन गर्नुहोस्।’ अर्कोले प्रश्न गरे, ‘के तपाईंको देश (भारत) मा पहाडहरू छैनन्?’ कतिपयले त ‘तपाईंलाई देश निकाला गर्नुपर्छ।’ धेरैले उनको रंगलाई लिएर पनि अपमानजनक टिप्पणी गरेका छन्। 

यो आक्रमण एच-१बी भिसा कार्यक्रमलाई लिएर चलिरहेको विवादसँग जोडिएको छ। रामास्वामीले यो कार्यक्रमलाई ‘आधुनिक दासता’ भन्दै सुधारको आवश्यकता रहेको बताउँदै आएका छन्। तर उनी आफैं भारतीय मूलको भएका कारण यस्तो आक्रमण गरिएकाे हाे। उनलाई यो प्रणालीको पक्षपाती भएको आरोप लगाइएको छ। 

अमेरिकी नागरिकता र आप्रवासन सेवाका अनुसार सन् २०२३ मा एच-१बी भिसा प्राप्त गर्नेमा ७० प्रतिशतभन्दा बढी भारतीय नागरिक थिए। 

एच-१बी भिसालाई लिएर रामास्वामी आलोचक भए पनि उनको कम्पनी रोइभान्ट साइन्सेसले भने त्यसमार्फत कर्मचारी भर्ती गरेको पाइएको छ। सन् २०१८ देखि २०२३ सम्म २९ पटक एच-१बी  भिसा प्रयोग गरेको खुलेको छ। जसकारण उनले थप आलोचना खेप्नु परेको हो। उनले यो प्रणालीलाई मेरिटमा आधारित बनाउनुपर्ने तर्क गरेका छन्।

अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रो पटक पुन: निर्वाचित भएपछि एच-१बी भिसामाथिको बहस तीव्र भएको छ। ट्रम्प र उनका सहयोगीहरूले ‘अमेरिकालाई विश्वका उत्कृष्ट प्रतिभाहरू आवश्यक छ’ भन्दै यो कार्यक्रमको समर्थन गरेका छन्। अर्कोतिर कट्टर दक्षिणपन्थीहरूले यसलाई ‘अमेरिकी रोजगारी खोस्ने’ र ‘पश्चिमी सभ्यताको खतरा’ ठान्छन्। एजेन्सी

प्रकाशित: १७ जेष्ठ २०८२ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App