१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

के म्याक्रोनले पत्नीको थप्पड खाएकै हुन् ?

भियतनाम भ्रमणका क्रममा विमानबाट आइतबार बाहिर निस्कँदै गर्दा फ्रान्सेली राष्ट्रपति इम्यानुयल म्याक्रोनलाई उनकै पत्नीले थप्पड हानेको जस्तो देखिएको दृश्य अहिले निकै चर्चामा छ। एसोसिएटेड प्रेस समाचार एजेन्सीले राष्ट्रपति भियतनाम पुग्दा खिचेका तस्बिरमा इम्यानुयल म्याक्रोनलाई उनकी पत्नी ब्रिग्रिटले थप्पड हानेको जस्तो देखिएको थियो। 

पत्नीले थप्पड हानेको कुरा म्याक्रोनको भ्रमण टोलीद्वारा सुरुमा अस्वीकार गरिएको थियो तर पछि त्यसलाई सामान्य घटनाका रूपमा प्रस्तुत गरेको थियो। फ्रान्सेली राष्ट्रपति कार्यालयले समेत सोमबार त्यो घटनालाई सामान्य बताएको छ।  तर खिचिएका तस्बिरमा राष्ट्रपति भियतनाम पुग्दा उनको अनुहारलाई धकेलिएको जस्तो देखिएको थियो।

हनोईमा एसोसिएटेड प्रेस समाचार एजेन्सीले खिचेको फुटेजमा म्याक्रोनको विमानको ढोका खुल्दा राष्ट्रपति प्रस्ट देखिएका थिए। उनकी पत्नी ब्रिगिटका दुवै हात विमानको ढोकाको देब्रेतिरबाट देखिन्छन् र उनले दुवै हात पतिको अनुहारमा राख्छिन् र धकेल्छिन्। 

राष्ट्रपति आश्चर्यचकित भए पनि तत्कालै उनी सामान्य भावमा देखिन्छन्। उनी खुला ढोकाबाट बाहिर हात हल्लाउँछन्। विमानको एक भागले राष्ट्रपतिकी पत्नीको शरीर छेकिएका कारण उनको अनुहारको भाव वा शारीरिक भाषा यकिन गर्न सम्भव हुँदैन। त्यसपछि राष्ट्रपति दम्पती भियतनामी अधिकारीको औपचारिक स्वागत स्वीकार गर्न सिँढीबाट तल ओर्लिन्छन्। राष्ट्रपतिले हात समात्न संकेत गरे पनि पनि ब्रिगिटले उनको पाखुरा समात्छिन्। 

त्यही भिडियो क्लिप अनलाइनहरूमा तुरुन्तै फैलिएको थियो। विशेष गरी फ्रान्सेली नेताप्रति सामान्यतया शत्रुतापूर्ण व्यवहार गर्ने अनलाइनले यसलाई व्यापक बनाएका थिए। म्याक्रोनको कार्यालयले सुरुमा यी तस्बिरहरूको प्रामाणिकतालाई अस्वीकार गर्‍यो। तर पछि तिनीहरू वास्तविक भएको पुष्टि भयो। 

समाचार संस्था एएफपीलाई नाम उद्धृत गर्न नचाहने राष्ट्रपतिका एक सहयोगीले बताएअनुसार उक्त घटना दम्पतीबीचको एकअर्कालाई नोक्सान नपुर्‍याउने खालको झगडा थियो। भ्रमणमा रहेका अर्का सदस्यले घटनालाई त्यति धेरै महत्व दिनुनपर्ने बताए। उनले दम्पतीले यात्रा सुरु गर्नुअघि एक अन्तिम पटक ठट्टा गर्दै तनावमुक्त हुने प्रयास गरिरहेका र त्यो आपसमा मिलेको पल थियो भनेर प्रस्ट्याए। 

तर यो घटनालाई षड्यन्त्रका (कन्स्पिरेसी) सिद्धान्तवादीले बढाईचढाई गर्न चाहेको उक्त स्रोतले बताएको छ। म्याक्रोनको करिब एक साता लामो दक्षिणपूर्वी एसिया भ्रमणको पहिलो गन्तव्य भियतनाम हो। भ्रमणका क्रममा उनले संयुक्त राज्य अमेरिका र चीनको भरपर्दाे विकल्पका रूपमा फ्रान्सलाई प्रस्तुत गर्ने बताइएको छ। त्यसपछि उनले इन्डोनेसिया र सिंगापुरको पनि भ्रमण गर्नेछन्।

(फ्रान्सेली पत्रिका ली मोन्डेको अनलाइन संस्करणबाट साभार)

प्रकाशित: १३ जेष्ठ २०८२ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App