अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि रुसले गरिरहेको लगातार बमबारीप्रति आक्रोश व्यक्त गरेका छन्। उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन पूरै 'पागल’ भइसकेको बताएका छन्।
ट्रम्पले भनेका छन्, 'राष्ट्रपति भ्लादिमिर पुटिन पूरै 'पागल’ भइसकेका छन्। रुसविरुद्ध थप प्रतिबन्ध लगाउने विषयमा विचार गरिरहेको छु।'
पुटिनको विषयमा ट्रम्पले आफ्नो ट्रुथ सोशल अकाउन्टमा पोस्ट गर्दै लेखेका छन्, 'रुसका भ्लादिमिर पुटिनसँग मेरो सधैं राम्रो सम्बन्ध रहेको थियो, तर अहिले उनलाई के भयो थाहा छैन। उनी पूरै पागलजस्तै भएका छन्! उनी बिनाकारण धेरै मानिसहरूलाई मारिरहेका छन् र म केवल सैनिकहरूको कुरा गरिरहेको छैन। बिना कुनै कारण युक्रेनका शहरहरूमा मिसाइल र ड्रोन आक्रमण गरिँदैछ।'
ट्रम्प अगाडि लेख्छन्, 'मैले सधैं भनेको थिएँ कि उनी युक्रेनको केवल एक टुक्रा होइन, पूरै युक्रेन नै चाहन्छन् र सायद त्यो कुरा सत्य हुँदै गएको छ। तर यदि उनले त्यो गरे भने त्यसले रुसको पतन निम्त्याउनेछ!'
डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीमाथि पनि टिप्पणी गरे। उनले भने, 'राष्ट्रपति जेलेन्स्की जसरी बोल्छन्, त्यसले उनी आफ्नै देशको हित गरिरहेका छैनन्। उनका मुखबाट निस्कने हरेक कुराले समस्याहरू सिर्जना गरिरहेको छ, मलाई त्यो मन पर्दैन र यो बन्द गर्नु उचित हुनेछ।'
यसअघि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको ‘चुप्पी’ले रुसका राष्ट्रपति पुटिनलाई प्रोत्साहन गरिरहेको बताएका थिए। एजेन्सी
प्रकाशित: १२ जेष्ठ २०८२ ०८:३१ सोमबार





