उत्तर कोरियाले बुधबार नयाँ युद्धपोत प्रक्षेपणका क्रममा भएको दुर्घटनाको आरोपमा तीन शिपयार्ड अधिकारीलाई पक्राउ गरेको जानकारी दिएको छ। लगभग पाँच हजार टन तौल भएको यो जहाजको तल्लो भाग प्रक्षेपणका क्रममा भाँचिएको थियो। यसले युद्धपोतको सन्तुलन बिगारेको थियो।
युद्धपोत प्रक्षेपणका क्रममा भएको घटनाको अनुसन्धान सुरु भएको छ। उत्तर कोरियाली नेता किम जोङ उनले यो घटनालाई ‘आपराधिक कार्य’ को रूपमा वर्णन गरेका छन्। उत्तर कोरियाको आधिकारिक समाचार एजेन्सी केसीएनएले पक्राउ परेकाहरूमध्ये चोङजिन शिपयार्डका प्रमुख इन्जिनियर समेत रहेको जनाएको छ।
यो युद्धपोत चोङजिन शिपयार्डमा निर्माण गरिएको थियो। यसका साथै शिपयार्डका निर्माण प्रमुख र एक प्रशासनिक प्रबन्धकलाई पनि हिरासतमा लिइएको छ। केसीएनएका अनुसार ती तीन जना ‘दुर्घटनाका लागि जिम्मेवार’ थिए। स्याटेलाइट तस्बिरहरूले युद्धपोतलाई छेउमा पल्टिएको, ठूलो नीलो तिरपालले ढाकिएको देखाएको छ। त्यसको एक भाग जमिनमा खसेको देख्न सकिन्छ। एजेन्सी
प्रकाशित: ११ जेष्ठ २०८२ ०९:१४ आइतबार





