एउटी आमाको लागि सन्तान निकै प्रिय हुन्छ। तर चिकित्सकका लागि बिरामी। आफ्ना प्रिय ९ सन्तान बम आक्रमणमा परेर मारिँदा पनि एक डाक्टर आमाले आफ्नो काम छाडिनन्।
उनी हुन्, डाक्टर अलाआ अल–नज्जार। उनी शुक्रबार बिहान गाजाको दक्षिणी क्षेत्रमा रहेको नासेर मेडिकल कम्प्लेक्सको आपत्कालीन कक्षमा काम गर्न जाँदा आफ्नो दस बालबालिकालाई घरमै छोडेर गएकी थिइन्।
तर केही घण्टापछि अस्पतालमा सात बालबालिकाको जलेका शवहरू ल्याइयो। गाजा स्वास्थ्य मन्त्रालयका अनुसार ती सबै डाक्टर नज्जारकै बच्चाहरू थिए, जो इजरायली हवाई आक्रमणमा मारिएका थिए।
तीमध्ये सबैभन्दा जेठो १२ वर्षको र कान्छो जम्मा ३ वर्षको थियो। दुई साना बालबालिका (७ महिना र २ वर्ष) भने शनिबार बिहानसम्म भग्नावशेषमा पुरिएका थिए।
उनका मात्र एक जना छोरा (११ वर्षका एडम) गम्भीर घाइते अवस्थामा बाँच्न सफल भए। डाक्टर नज्जारका पति, जो आफैँ पनि चिकित्सक हुन्, उनी पनि गम्भीर घाइते भएका छन्।
नासेर मेडिकल कम्प्लेक्सका डाक्टर अहमद अल–फर्राले सिएनएनलाई बताएअनुसार डाक्टर नज्जार आफ्ना ९ बालबालिकाको मृत्यु हुँदा समेत अस्पतालमा काम गरिरहेकी थिइन्। उनी कहिलेकाहीँ आफ्नो श्रीमान् र जीवित रहेका छोरा एडमको अवस्थाबारे जानकारी लिने गर्थिन्।
डाक्टर अल–फर्राका अनुसार बुबा र छोरा दुवैले दुई पटक शल्यक्रिया गराएका छन् र अहिले पनि उपचार गराइरहेका छन्।
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी युसुफ अबु अल–रीशले बताएअनुसार डाक्टर नज्जारले “नासेर अस्पतालबाहेक जाने ठाउँ नभएका अरू बालबालिकाको उपचार गर्न” आफ्नो कर्तव्य पूरा गर्न काममा गएकी थिइन्।
रीशले भने, 'जब म अस्पताल पुगेँ, उनी चुपचाप, धैर्यवान् र दृढ देखिएकी थिइन्। उनका आँखामा स्वीकारोक्ति झल्किरहेको थियो। उनी अल्लाहको नाम उच्चारण र क्षमा माग्ने बडबडाहट बाहेक केही बोलिरहेकी थिइनन्।'
डाक्टर नज्जार ३८ वर्षकी हुन् र एक बालरोग विशेषज्ञ हुन्। तर इजरायली आक्रमणका कारण गाजामा अधिकांश चिकित्सकहरू जस्तै, उनी पनि आपत्कालीन सेवामा कार्यरत छिन्। एजेन्सी
प्रकाशित: ११ जेष्ठ २०८२ ०७:२६ आइतबार





