जापानमा चामलको अभाव र मूल्यवृद्धिको समस्याबिच ‘कहिल्यै चामल किन्न नपरेको’ भन्ने अभिव्यक्तिका कारण कृषिमन्त्री ताकु इटोले राजिनामा दिएका छन्।
आइतबार सागा प्रान्तमा लिबरल डेमोक्र्याटिक पार्टीको सेमिनारमा इटोले आफ्ना समर्थकहरूले सधैं चामल उपहार दिने भन्दै आफूले कहिल्यै किन्न नपरेको बताएका थिए। यो टिप्पणीले उनी विवादमा परेका थिए। सबैतिर उनकाे विराेध भइरहेकाे थियाे। ‘उपभोक्ताहरू चामलको बढ्दो मूल्यसँग संघर्ष गरिरहेका बेला मैले अनुपयुक्त टिप्पणी गरें,’ इटोले बुधबार प्रधानमन्त्री कार्यालयमा राजिनामा बुझाएपछि पत्रकारहरूसँग भने।
उनले क्योदो समाचार एजेन्सीलाई भने, ‘चामलको मूल्यवृद्धिको संवेदनशील समयमा कृषि मन्त्रालयको नेतृत्वमा रहनु मेरो लागि उपयुक्त छ कि छैन भनेर सोचें, र मलाई लाग्यो कि यो उपयुक्त छैन। फेरि एकपटक मन्त्रीको हैसियतमा गरेको अनुपयुक्त टिप्पणीका लागि म जनतासँग माफी माग्छु।’ विपक्षी दलहरूले बुधबार दिउँसोसम्म स्वेच्छाले राजिनामा नदिए अविश्वास प्रस्ताव पेश गर्ने चेतावनी दिएका थिए।
जापान सन् २०२३ को गर्मीमा बाली प्रभावित भएदेखि चामलको अभावसँग जुधिरहेको छ। गत अगस्टमा ठूलो भूकम्पको सम्भावनाबारे सरकारी चेतावनीले त्रास फैलँदा उपभोक्ताहरूले अत्यधिक खरिद गरे, जसले आपूर्तिलाई थप संकटमा पार्यो। मल र अन्य कृषि सामग्रीको बढ्दो मूल्य पनि यसको कारण मानिएको छ। संकट समाधान गर्न सरकारले आपतकालीन भण्डारबाट ठूलो परिमाणमा चामल बजारमा ल्याएको छ। अप्रिलमा जापानले २५ वर्षपछि पहिलोपटक दक्षिण कोरियाबाट चामल आयात गरेको थियो।
तर, ११ मे सम्मको हप्तामा प्रति ५ किलोग्राम चामलको खुद्रा मूल्य चार हजार २६८ येन पुगेको छ, जुन गत वर्षको तुलनामा दोब्बर हो। इटोको स्थानमा पूर्व वातावरणमन्त्री शिन्जिरो कोइजुमीलाई नियुक्त गरिएको छ। उनी गत वर्ष लिबरल डेमोक्र्याटिक पार्टीको नेतृत्वका लागि प्रधानमन्त्री शिगेरु इशिबाविरुद्ध असफल प्रतिस्पर्धी थिए। चामलको यो संकटले जुलाईमा हुने माथिल्लो सदनको चुनावअघि प्रधानमन्त्री इशिबाको सरकारमाथि थप दबाब सिर्जना गरेको छ। एजेन्सी
प्रकाशित: ९ जेष्ठ २०८२ १९:४३ शुक्रबार





