८ असार २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्प र दक्षिण अफ्रिकी राष्ट्रपतिबिच नोकझोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाबीच बुधबार ह्वाइट हाउसमा मिडियाको सामु नोकझोक भएको छ।

ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको संहार भइरहेको आरोप लगाएपछि नोकझोक सुरु भएको हो। ओभल अफिसमा भएको बैठकमा ट्रम्पले एउटा भिडियो देखाउँदै गोराहरूलाई अफ्रिकामा योजनाबद्ध रूपमा लक्षित गरिरहेको र जसका कारण धेरै किसान अमेरिका भागिरहेका बताउँदै रामाफोसालाई यसविरुद्ध कदम चाल्न आग्रह गरे।

तर रामाफोसाले यी दाबी अस्वीकार गर्दै भने, 'दक्षिण अफ्रिकामा सबै जातिका मानिसहरू हिंसात्मक अपराधको शिकार भइरहेका छन्, जसमध्ये धेरैजसो अश्वेत छन्। यहाँ केवल गोराहरूमाथि मात्र अन्याय भइरहेको छैन।'

रामाफोसाले ट्रम्पलाई कतार सरकारले दिएको प्लेनलाई लिएर व्यंग्य गर्दै भने, 'माफ गर्नुहोस्, मसँग तपाईँलाई उपहार दिन कुनै प्लेन छैन।' यसमा ट्रम्पले हाँस्दै जवाफ दिए, 'काश, तपाईँसँग हुन्थ्यो भने म अवश्य लिइहाल्थेँ।'

बैठक सौहार्दपूर्ण वातावरणमा सुरु भएको थियो। सुरुमा दुवैले गल्फ खेलबारे कुराकानी गरे अनि ट्रम्पले अफ्रिकन खेलाडीहरूको गल्फ क्षमताको प्रशंसा गरे। त्यसपछि रामाफोसाले ‘टी’ शब्द प्रयोग गर्दै व्यापार र मिनरल डिलबारे चर्चा गर्न खोजे। कुराकानी ठीकठाक चलिरहेको बेला ट्रम्पले एक्कासि आफ्नो स्टाफलाई लाइट बन्द गरेर भिडियो देखाउन भने जसले रामाफोसालाई अचम्ममा पार्यो।

कोठामा भिडियो सुरु भएपछि रामाफोसाले ट्रम्पलाई इशारामा सोधे, 'यो के हो?'

ट्रम्पले चुपचाप हेर्न इशारा गरे।

रामाफोसाले दुई–तीनपटक मात्रै पछाडि फर्केर भिडियो हेरे। ट्रम्पले भिडियोमा हजारौं गोरा किसानहरूको चिहान देखाइएको दाबी गरे।

भिडियोमा एक अश्वेत व्यक्तिले गोराहरूविरुद्ध चर्को भाषण गरिरहेको थियो।

रामाफोफासले भिडियो हेरेपछि भने, 'यो घटना कहाँको हो, पत्ता लगाउँछौं।'

संयमित रूपमा रामाफोसाले भिडियोको खण्डन गरे। 'मैले यो पहिले कहिल्यै देखेको छैन,' उनले भने, 'यसको सत्यता पत्ता लगाउँछौं।'

उनले थपे, 'हाम्रो देशमा अपराध छ र सबै जातिका मानिसहरू प्रभावित छन्– कालो होस् या गोरो।'

रामाफोसाले ढुक्क पार्न खोजे पनि ट्रम्पले निरन्तर आर्टिकलहरू देखाउँदै हत्या–हत्या भन्दै चिच्याइरहे। उनले गोरा पीडितहरूसम्बन्धी छापा रिपोर्टहरू रामाफोसालाई देखाए।

त्यसपछि रामाफोसाले भने, 'भिडियोमा हाम्रो देशको सम्पूर्ण यथार्थ देखिएको छैन।' उनले दक्षिण अफ्रिकामा धेरै राजनीतिक दल रहेको र लोकतन्त्रले सबैलाई अभिव्यक्ति स्वतन्त्रता दिएको बताए। भिडियोमा भनिएको कुरा सरकारको नीति नभएको उनको भनाइ छ।

रामाफोसाले गोराहरूको हत्या भएको तर प्रहरी तथ्यांकले नदेखाएको बताए। उनले थपे, 'दक्षिण अफ्रिकामा गोरा मानिसहरू आर्थिक तथा अन्य मापदण्डमा अश्वेतको तुलनामा धेरै राम्रो अवस्थामा छन्।'

२० जनवरीमा राष्ट्रपति बनेपछि ट्रम्पले दोस्रो पटक मिडियाको सामु यति ठूलो बहस गरेका हुन्। यसअघि २८ फेब्रुअरीमा ट्रम्पले युक्रेन युद्धबारे यूक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग बहस गरेका थिए।

प्रकाशित: ८ जेष्ठ २०८२ ०९:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App