८ असार २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रशान्त किशोरको ‘जन सुरज’ पार्टी नयाँ, नेतृत्व पुरानै : भाजपाका पूर्वसांसद बने राष्ट्रिय अध्यक्ष

भारतीय राजनीतिक रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले भारतीय जनता पार्टी (भाजपा) का पूर्वसांसद उदय सिंहलाई आफ्नो पहिलो राष्ट्रिय अध्यक्ष नियुक्त गरेको छ। 

पार्टीको आधिकारिक एक्स खातामार्फत जानकारी दिँदै भनिएको छ, ‘जन सुरज पार्टीको १५० सदस्यीय कोर कमिटीले सर्वसम्मत रूपमा उदय सिंहलाई राष्ट्रिय अध्यक्ष पदमा चयन गरेको छ।’

अध्यक्ष नियुक्त भएपछि उदय सिंहले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै भने, ‘म जनतामाझ मेरो सन्देश पुर्‍याउन कडा मेहनत गर्नेछु। मलाई विश्वास छ, जनताले मेरो कुरा बुझ्नेछन्, साथ दिनेछन् र बिहारमा परिवर्तन ल्याएर राम्रो सरकार निर्माण गर्नेछन्।’

उदय सिंह पूर्णिया लोकसभा क्षेत्रबाट २००४ र २००९ मा भाजपाको तर्फबाट सांसद निर्वाचित भएका थिए। २०१९ मा गठबन्धनका कारण पूर्णिया सीट जनता दल (युनाइटेड) लाई गएपछि उनले कांग्रेसबाट चुनाव लडेर पराजित भएका थिए। उनको परिवारको बलियो राजनीतिक पृष्ठभूमि छ।

यो नियुक्तिले धेरैलाई आश्चर्यचकित बनाएको छ किनभने जन सुराजलाई नयाँ र स्वतन्त्र राजनीतिक विकल्पको रूपमा हेरिएको थियो। धेरैले प्रशान्त किशोरले नयाँ अनुहारलाई नेतृत्वमा ल्याउने अपेक्षा गरेका थिए। 

तर भाजपाका पुराना नेतालाई अध्यक्ष बनाएको निर्णयले विवाद र चर्चा उत्पन्न गरेको छ। राष्ट्रीय जनता दल (राजद) ले जन सुराजलाई ‘भाजपाको बी टिम’ को संज्ञा दिँदै किशोरमाथि भाजपासँग नजिक भएको आरोप लगाएको छ।

किशोरले जन सुराजले बिहारको परम्परागत जातिगत राजनीतिलाई तोड्ने र आगामी विधानसभा चुनावमा सबै २४३ सीटमा स्वतन्त्र रूपमा लड्ने दाबी गरेका छन्। उदय सिंहको नियुक्तिलाई उनको अनुभव र बिहारको राजनीतिमा प्रभावका आधारमा रणनीतिक कदम मानिए पनि, यसले नयाँ नेतृत्वको अपेक्षा राख्ने समर्थकहरूलाई निराश बनाएको छ।

प्रकाशित: ५ जेष्ठ २०८२ २१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App