युक्रेनमा तीन वर्षदेखि जारी युद्ध अन्त्य गर्ने प्रयासस्वरूप युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच टर्कीको इस्तानबुलमा शुक्रबार शान्ति वार्ता सुरु भएको छ।
यो बैठक फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछिको पहिलो प्रत्यक्ष वार्ता हो, जहाँ दुवै देशका प्रतिनिधिहरू आमनेसामने बसेका छन्। टर्कीले यस वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको छ।
तर वार्ता सुरु हुनुअघि नै तनावपूर्ण वातावरण देखिएको छ। बीबीसीले बैठक कोठामा दुवै पक्षका प्रतिनिधिहरूले एकअर्कासँग हात नमिलाएको र चिसो व्यवहार प्रदर्शन गरेको उल्लेख गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी प्रतिनिधिमण्डललाई ‘सजावटी’ भन्दै रुसले वार्ताप्रति गम्भीरता नदेखाएको आरोप लगाएका छन्। उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले व्यक्तिगत रूपमा उपस्थित हुन अस्वीकार गरेकोमा असन्तुष्टि जनाए।
रुसी प्रतिनिधिमण्डलको नेतृत्व पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले गरेका छन्। रुसी प्रतिनिधिमण्डलमा उपविदेशमन्त्री, उपरक्षामन्त्री र सैन्य गुप्तचर प्रमुख सामेल छन्। युक्रेनी टोलीको नेतृत्व रक्षामन्त्री रुस्तेम उमेरोभले गरेका छन्। युक्रेनी टोलीमा विदेशमन्त्री आन्द्रेइ सिबिहा र गुप्तचर उपप्रमुखहरू छन्। जेलेन्स्कीले आफ्नो टोलीको मुख्य उद्देश्य तत्काल र बिना सर्त युद्धविराम सुनिश्चित गर्नु रहेको बताए।
टर्कीका विदेशमन्त्री हाकान फिदानले बैठकको सुरुमा युद्धका कारण हरेक दिन ज्यान गुमाइरहेको उल्लेख गर्दै तत्काल युद्धविराम आवश्यक रहेको बताए। उनले यो अवसरलाई दुवै पक्षले सदुपयोग गर्नुपर्नेमा जोड दिए।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले वार्ताबाट ठूलो उपलब्धिको अपेक्षा नरहेको बताएका छन्। अमेरिकी विशेष दूतहरू किथ केलोग र स्टिभ विटकफ पनि इस्तानबुलमा छन्। तर उनीहरूले रुसी टोलीसँग छुट्टै भेटघाट गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुटिनसँग व्यक्तिगत भेट नभएसम्म वार्ताबाट प्रगति नहुने बताए।
प्रकाशित: २ जेष्ठ २०८२ १९:०९ शुक्रबार





