न्युयोर्कको एक सांस्कृतिक केन्द्रमा २०२२ मा भएको चक्कु आक्रमणमा उपन्यासकार सलमान रुस्दीमाथि हत्या प्रयास गरेको अभियोगमा अमेरिकी–लेबनानी नागरिक हाडी माटारलाई शुक्रबार २५ वर्षको जेल सजाय सुनाइएको छ। २७ वर्षीय माटारलाई फेब्रुअरीमा हत्या प्रयास र आक्रमणको अभियोगमा दोषी ठहर गरिएको थियो।
सुनुवाइमा रुस्दीले भने, ‘माटारले मलाई छुरा प्रहार र कुटपिट गरे। मेरो दाहिने आँखामा छुरा लाग्यो, जुन निकै पीडादायी थियो। दुखाइले म चिच्याएँ।’ मुद्दाको सुनुवाइमा माटारले प्यालेस्टाइनको समर्थनमा नारा लगाए। उनले रुस्दीलाई ६ इन्चको छुराले १० पटक प्रहार गरेको स्वीकारे।
यसअघि सञ्चारमाध्यमसँग उनले रुस्दीको ‘द स्याटानिक भर्सेस’ का दुई पृष्ठ पढेको र लेखकले ‘इस्लाममाथि आक्रमण गरेको’ विश्वास गरेको बताए। १९८९ मा इरानले रुस्दीको हत्याको फतवा जारी गरेपछि माटारको कानुनी टोलीले रुस्दीलाई उत्पीडनको सिकार भएको चित्रण नगर्न साक्षीलाई अनुरोध गरेको थियो।
इरानले आक्रमणकारीसँग सम्बन्ध नभएको र घटनाको दोषी रुस्दी भएको दाबी गरेको छ। आक्रमणमा रुस्दीको दाहिने आँखाको अप्टिकल नर्भ काटियो। उनले अदालतमा भने, ‘आँखालाई मोइस्चराइज गर्न बन्द गर्ने शल्यक्रिया गरियो। यो निकै पीडादायी थियो, कसैलाई सिफारिस गर्दिन।’ आक्रमणले रुस्दीको रुद्रघण्टी, कलेजो, सानो आन्द्रामा चोट लाग्यो र स्नायुमा क्षतिपछि उनको एउटा हातमा पक्षाघात भयो।
७७ वर्षीय बेलायती मूलका अमेरिकी रुस्दीलाई आक्रमणपछि अस्पताल भर्ना गरिएको थियो। गत वर्ष उनले ‘नाइफ’ नामक संस्मरण प्रकाशित गरे, जसमा मृत्युनजिकको अनुभव समेटिएको छ। उनको प्रकाशकले मार्चमा घोषणा गरेअनुसार रुस्दीको लघुकथा सङ्ग्रह ‘द इलेभेन्थ आवर’ नोभेम्बर ४, २०२५ मा सार्वजनिक हुनेछ।
मुम्बईमा जन्मिएका रुस्दी ‘मिडनाइट्स चिल्ड्रेन’ (१९८१) बाट चर्चित भए। यो उपन्यासले स्वतन्त्र भारतको चित्रणका लागि बुकर पुरस्कार जितेको थियो। तर ‘द स्याटानिक भर्सेस’ ले उनलाई थप विवादमा ल्यायो। रुस्दी अभिव्यक्ति स्वतन्त्रताका पक्षधर र इस्लामको अपमान अस्वीकार्य मान्नेहरूबीचको रस्साकस्सीको केन्द्र बने।
विवादले उनको पुस्तक र पसलमा आगजनी, जापानी अनुवादकको हत्या र नर्वेली प्रकाशकमाथि गोली प्रहारको प्रयास निम्त्यायो। १९८९ को फतवापछि रुस्दी एक दशक लण्डनको एकान्तवासमा बसे। विगत २० वर्षदेखि उनी न्युयोर्कमा सामान्य जीवन बिताउँदै छन्। एएफपी
प्रकाशित: २ जेष्ठ २०८२ १४:१९ शुक्रबार





