२० मंसिर २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मध्यपूर्व भ्रमणका बेला ट्रम्पको विमान विवाद

यस पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यपूर्वको यात्रा अभुतपूर्व रह्यो।  उनले साउदी अरबसँग १९ खर्ब ४३ अर्ब १२ करोड ८० लाख रूपैयाँ तदनुसार एक सय ४२ अर्ब डलर बराबर हतियारको सौदा गरेका छन्। त्यस्तै साउदी अरबले एक सय खर्ब रूपैयाँ तदनुसार एक ट्रिलियन डलर बराबरको लगानी गर्ने सहमतिमा हस्ताक्षरसमेत गरेका छन् ।

यति मात्र होइन, उनले कतारलाई अमेरिकी विमान कम्पनी बोइङलाई २ खर्ब डलर बराबर बिजनेस दिलाएका छन्। यससँगै उनले जीवनमा पहिलो पटक लेखेको पुस्तक ‘द आर्ट अफ डिल’को खास सूत्रहरू प्रयोग गरेको केहीको दाबी छ।

उनले सो पुस्तकमा केही सुत्रहरू दिएका छन्। जस्तो कि व्यापारका मामिलामा डिल गर्दा अत्यधिक दबाब दिनु र विपक्षीलाई कमजोर बनाउनु, चर्को स्वरमा बोल्नु र आफ्ना कुरा स्थापित गर्नु हो, कुनै पनि सौदामा आफ्नो शक्ति र निर्णायकता देखाउनु, टोली नलगी वा टोलीलाई कुनै पनि कुराको श्रेय नदिई आफैं सबै कुराको निर्णय गर्नु वा एकल नेतृत्वलाई स्थापित गर्नु तथा अप्रत्यासित चालहरू चल्नुजस्ता कुराहरू उनको सो पुस्तकमा बारम्बार आइरहने रणनीतिहरू हुन्।

पछिल्लो राष्ट्रपतीय कार्यकालमा उनका यी सबै रणनीतिहरू एकपछि अर्को कार्यान्वयन भएका छन्। यी सबै सौदाबीच अहिले सबैभन्दा चर्चा भने कतारले ट्रम्पलाई दिने उपहारको भइरहेको छ।

कतारले अमेरिकी राष्ट्रपतिलाई उपहार दिन भनेर ४० करोड डलर बराबरको जेट विमान तयार पारेको छ। यो विमान अमेरिकाले एयर फोर्स वन अर्थात् राष्ट्रपतिले प्रयोग गर्न मिल्ने गरी तयार पारिँदैछ भन्ने खबर सार्वजनिक भएपछि अमेरिकी सिनेटमा यसको व्यापक बहस सुरु भएको छ।

विपक्षी डेमोक्रेटहरूले यसको विरोध त गर्ने नै भए, सत्तापक्षीय कतिपय सिनेटरहरूले समेत यसमा चासो व्यक्त गर्न थालेका छन्।

त्यसमाथि एयरफोर्स वन विशेष गुणयुक्त हवाई जहाज हो। यसमा आकाशमा उड्दै गर्दा अर्को विमानमार्फत तेल भर्न सकिने सुविधा उपलब्ध छ । त्यो क्षमता कतारी उपहारमा छ कि छैन भन्ने अझै सुनिश्चित गरिएको छैन। एयरफोर्समा एन्टी मिसायल सिस्टम समेत जडान गरिएको हुन्छ। जसका कारण कसैले एयरफोर्समा आक्रमण गरे, स्वतः यसले मिसायल वा अन्य आक्रमणहरू निस्तेज पारिदिन्छ।

अर्कोतर्फ केही सिनेटरहरूले भने कतारी उपहारमा जासुसीका अनेक उपकरण हुनसक्ने भएकाले त्यो उपहार स्वीकार गर्नु भनेको राष्ट्रमाथि हुने अनेक जासुसीका लागि सजिलो पारिदिनु पनि हो भन्दै यसको विरोध गरेका छन्। ती जासुसी उपकरणहरू पत्ता लगाउन र निकाल्न पनि महँगो विधि प्रयोग गर्नुपर्ने भएकाले उपहार ल्याएर चलाउनु हानिकारक हुने सत्तापक्षीय सिनेटर जोन थुनेले वालस्ट्रिट जर्नल अखबारलाई बताएका छन्।

अर्कोतर्फ डेमोक्य्राटहरूले त यस उपहारलाई नैतिकता र संवैधानिक अप्ठेरोसँग गाँसेर ट्रम्पलाई अप्ठेरो पारिदिएका छन्।

कतारजस्तो जेहादी मुलुकको ४०० मिलियनको महँगो उपहार आफूहरूलाई स्वीकार्य नभएको सामाजिक सञ्जालकी प्रभावशाली व्यक्तित्व लाउरा लुमरले लेखेकी छन्।

फक्स न्युजले भने राष्ट्रपति ट्रम्पले यो उपहार स्वीकार गर्ने बताएको छ। ट्रम्पले फक्ससँग भनेका छन्, ‘कतारीहरूले यो उपहारको प्रस्ताव राखेर साह्रै सुन्दर व्यवहार प्रस्तुत गरेका छन्। यो उपहार स्वीकार नगर्ने वेबकुफ हो।’

प्रकाशित: १ जेष्ठ २०८२ ११:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App