भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको आग्रहमा ‘अपरेशन सिन्दूर’ स्थगित गरी युद्धविराम गरेको दाबी गरेका छन्। साथै, उनले आतङ्ककारी हमला दोहोरिए कडा जवाफ दिने चेतावनी समेत दिए।
सोमबार राति राष्ट्रका नाममा सम्बोधनमा उनले भने, “अपरेशन सिन्दूर अस्थायी स्थगन हो। फेरि साहस देखाइए भारतले कडा जवाफ दिनेछ।”
मोदीले ‘अपरेशन सिन्दूर’ मार्फत सय भन्दा बढी आतङ्ककारी मारिएको र ‘मेड इन इन्डिया’ हतियारले भारतको श्रेष्ठता प्रमाणित गरेको बताए। “आतङ्कवाद र वार्ता सँगसँगै हुँदैन। पाकिस्तानको राज्य प्रायोजित आतङ्कवाद विश्वसामु उदाङ्गो भएको छ,” उनले भने।
पाकिस्तानको आणविक धम्कीलाई खारेज गर्दै उनले आतङ्ककारी अड्डाहरूमा सटीक प्रहार गर्ने अडान दोहोर्याए। “शान्तिका लागि शक्तिशाली भारत आवश्यक छ। आवश्यक परे हामी यो शक्ति प्रयोग गर्न पछि हट्दैनौँ,” उनले भने।
प्रकाशित: २९ वैशाख २०८२ २१:१६ सोमबार