८ असार २०८२ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

मोदीको चेतावनी: अपरेशन स्थगन भएको मात्रै हो, फेरी हमला भएमा ‘मुंहतोड’ जवाफ दिन्छाैं

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानसँगको युद्धविरामलाई अस्थायी भएको बताउँदै आतङ्ककारी हमला दोहोरिएमा कडा जवाफ दिने चेतावनी दिएका छन्।

सोमबार राति ८ बजे राष्ट्रका नाममा २२ मिनेट लामो सम्बोधनमा उनले पहलगाम आतङ्ककारी हमला, ‘अपरेशन सिन्दूर’, सिन्धु जल सम्झौता र पाकिस्तान अधीकृत कश्मीर (पीओके) मा भारतको स्पष्ट अडान प्रस्तुत गरे।

“पाकिस्तानको आग्रहमा भारतले कारबाही स्थगित गरेको हो, तर यो स्थगन मात्रै हो। यदि फेरि आतङ्ककारी साहस देखाइयो भने भारतले अझ कडा जवाफ दिनेछ,” मोदीले भने।

उनले ‘अपरेशन सिन्दूर’ मार्फत सय भन्दा बढी आतङ्ककारी मारिएको उल्लेख गर्दै आतङ्कवाद र वार्ता सँगसँगै नहुने प्रष्ट्याए। “पानी र रगत एउटै धारामा बग्न सक्दैन। आतङ्कवादप्रति शून्य सहिष्णुता नै विश्व शान्तिको बाटो हो,” उनले थपे।

मोदीले पाकिस्तानको राज्य प्रायोजित आतङ्कवादलाई विश्वसामु उदाङ्गो भएको दाबी गरे।

“आतङ्ककारीहरूलाई बिदाइ गर्न पाकिस्तानी सेनाका उच्च अधिकारीहरू पुगेको घटनाले पाकिस्तानको कुरूप यथार्थ छर्लङ्ग भएको छ,” उनले भने।

उनले आतङ्ककारी र तिनका संरक्षकलाई फरक नहेरिने बताउँदै पाकिस्तानको आणविक धम्कीलाई पनि खारेज गरे। “भारतले कुनै पनि न्यूक्लियर ब्ल्याकमेल स्वीकार गर्दैन। आतङ्ककारी अड्डाहरूमा सटीक प्रहार गर्छौँ,” उनले भने।

‘अपरेशन सिन्दूर’ लाई ऐतिहासिक ठहर गर्दै मोदीले ‘मेड इन इन्डिया’ हतियारले आधुनिक युद्धमा भारतको श्रेष्ठता प्रमाणित गरेको बताए। “हाम्रा घरेलु हतियारले २१औँ शताब्दीको युद्धको परिभाषा फेरेको छ,” उनले भने।

अन्त्यमा, उनले भारतीय सेना र देशवासीको एकताको प्रशंसा गर्दै शान्तिका लागि शक्तिशाली भारत आवश्यक रहेको बताए। “शान्तिको बाटो शक्तिबाटै सुनिश्चित हुन्छ। आवश्यक परेमा यो शक्ति प्रयोग गर्न हामी पछि हट्दैनौँ,” उनले सम्बोधन टुङ्ग्याए।

प्रकाशित: २९ वैशाख २०८२ २१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App