१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अमेरिका-चीन ‘व्यापार युद्ध’ मा राहत: ११५ प्रतिशत भन्सार शुल्क कटौतीको ९० दिने सहमति

अमेरिका र चीनले सोमबार जेनेभामा भएको व्यापार वार्तापछि एकअर्काविरुद्ध लगाइएको भन्सार शुल्क ९० दिनका लागि कटौती गर्ने घोषणा गरेका छन्।

दुवै देशले यो अवधिमा पारस्परिक भन्सार शुल्क ११५ प्रतिशतले घटाउने सहमति गरेका छन्। संयुक्त विज्ञप्तिअनुसार, अमेरिकाले चिनियाँ सामानमा लगाइएको १४५ प्रतिशत भन्सार शुल्कलाई ३० प्रतिशतमा झार्नेछ भने चीनले अमेरिकी उत्पादनमा लगाइएको १२५ प्रतिशत शुल्कलाई १० प्रतिशतमा सीमित गर्नेछ। यी निर्णय बुधबारदेखि कार्यान्वयनमा आउनेछन्।

दुवै देशले ‘दिगो, दीर्घकालीन र पारस्परिक लाभदायक आर्थिक तथा व्यापारिक सम्बन्ध’ को महत्त्वलाई जोड दिएका छन्। यस सम्झौताअन्तर्गत चिनियाँ उपप्रधानमन्त्री हे लिफेङ, अमेरिकी कोषाध्यक्ष स्कट बेसेन्ट र अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरको नेतृत्वमा आर्थिक र व्यापार सम्बन्धबारे छलफल जारी राख्न ‘संयन्त्र स्थापना’ गर्ने सहमति भएको छ।

विज्ञप्तिअनुसार, यी छलफलहरू चीन र अमेरिकामा पालैपालो वा दुवै पक्षको सहमतिमा तेस्रो मुलुकमा हुन सक्नेछन्। आवश्यक परेमा दुवै पक्षले सम्बन्धित आर्थिक र व्यापार मुद्दाहरूमा कार्यस्तरमा परामर्श गर्न सक्नेछन्।

यो सम्झौता पछिल्ला केही हप्तायता दुवै देशबिच तीव्र व्यापार युद्ध चलिरहेको सन्दर्भमा आएको छ। ट्रम्पले विश्वका धेरै मुलुकविरुद्ध भन्सार शुल्क लगाउने घोषणा गरेपछि यो अवस्था सिर्जना भएको थियो।

जेनेभामा बोल्दै ग्रीरले भने, ‘चीनलाई ३४ प्रतिशतको पारस्परिक भन्सार शुल्क तोकिएको थियो। यो भन्सार शुल्कको प्रतिकारमा प्रतिशोध लिने एकमात्र मुलुक चीन थियो। अन्य सबै मुलुकले अमेरिकासँग वार्ता गर्ने वा प्रतिशोध नलिने निर्णय गरे।’ उनले थपे, ‘राष्ट्रपतिले चिनियाँ प्रतिशोधलाई सन्तुलनमा ल्याउन हाम्रो भन्सार शुल्क दर बढाउनुभयो, र यो अवस्था यति बढ्यो कि दुवै पक्षले १२५ प्रतिशत भन्सार शुल्क लगाए।’ 

प्रकाशित: २९ वैशाख २०८२ १५:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App