भारतले पाकिस्तानविरुद्ध ‘अपरेसन सिन्दूर’ सञ्चालन गर्दा महिला कमान्डरलाई परिचालन गरेको छ। भारतीय स्थल सेनामा कार्यरत कर्नेल सोफिया कुरेशी र विङ कमान्डर व्योमिकाले ‘अपरेसन सिन्दूर’ बारे जानकारी साझा गर्दै देशका छोरीहरूको सिन्दूर मेटाउनेलाई संसारबाट मेटाइने बताए।
भारतले पाकिस्तानसँग आतंकवादविरुद्धको लडाइँमा महिलालाई नेतृत्व गर्ने अवसर दिएको छ। रक्षा मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा महिलाहरूको सिन्दूर पुछ्ने समूूहलाई संसारबाटै मेटाइने अभियानमा भारत लागेको र यसको नेतृत्व महिलाहरूले गरिरहेका छन् भन्ने सन्देश दिइएको छ।
भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बदला लिन अपरेसन सिन्दूर नाम दिएर पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरस्थित आतंककारीका अखडामा भारतले हवाई हमला गरेको छ। सिन्दूर भारतीय संस्कृति र सभ्यतासँग जोडिएको छ। ‘अपरेसन सिन्दूर’ आतंककारीहरूले वैवाहिक आनन्दलाई नष्ट गरेको विरोधमा लक्षित भनिएको छ।
भारतको यस अभियानका क्रममा नौवटा आतंकवादी लुक्ने ठाउँ सफलतापूर्वक नष्ट गरिएको कर्नेल सोफियाले बताएकी छन्। ‘अपरेसनका क्रममा कुनै पनि निर्दोष नागरिकलाई कुनै हानि नपुगोस् भन्ने कुरामा विशेष ध्यान दिइएको थियो, जसका लागि एजेन्सीहरूबाट प्राप्त जानकारीलाई धेरै गम्भीरतापूर्वक लिइएको थियो,’ उनले भनिन्।
अप्रिल २२ मा पहलगामको बैसरन उपत्यकामा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो। आतंकवादी हमलाको १५ दिनपछि भारतीय सेनाले पाकिस्तानको पन्जाब र पाकिस्तान प्रशासित कश्मीरमा रहेका नौ आतंकवादी अखडामा हवाई हमला गरेको हो। यी तिनै स्थानहरू हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो। भारतको ‘अप्रेसन सिन्दूर’लाई सत्तारूढ भाजपा र विपक्षी कंग्रेस दुवैले समर्थन गरेका छन्। यस्तो अवस्थामा नरेन्द्र मोदी नेतृत्वको सरकारले लिएको यो अपरेसनमा सिंगो भारत एक भएको देख्न सकिन्छ।
जुन तस्बिरले जनजनको मन रुवायो
सात जन्मसम्म साथ दिने वचनसहित वैवाहिक बन्धनमा बाँधिएका भारतीय सेनाका लेफ्टिनेन्ट विनय नरवाल र हिमांशीको साथ सात दिनमै छुट्छ भने कसैले सोचेका थिएनन्। पहलगाममा घुमफिर गर्न गएका यो जोडी सात दिनअघि मात्र वैवाहि बन्धनमा जोडिएका थिए। उनीहरूलाई थाहा थिएन कि यो रमाइलो उनीहरूको अन्तिम दिन हुनेछ।
लेफ्टिनेन्ट विनय नरवालकी पत्नी हिमांशीका अनुसार उनीहरू केही खान र पिउन बसिरहेका थिए। ‘यसै क्रममा गोली चलेको आवाज सुनियो। मैले विनयलाई गोली चलिरहेको बताएँ। मेरो छेउमा एकजना मान्छे थियो। उसले विनयलाई हेर्यो र भन्यो, ऊ पनि मुस्लिम होइन। त्यो मान्छेले त्यही क्षण विनयलाई गोली हानेको थियो। विनय ढलिहाले,’ उनले भनिन्, ‘त्यसपछि त्यो मान्छेले मलाई भन्यो– तिमी यहाँबाट गइहाल। मैले उसलाई चिच्याएँ र धेरै प्रश्नहरू सोधें तर ऊ चुपचाप त्यहाँबाट हिँड्यो।’
यो दर्दनाक पीडादायी घटनाको तस्बिर अहिले भारतभरि चर्चामा छ।
राजनीतिज्ञ एवं लेखक शशि थरूर भन्छन्, ‘आतंकवादीविरुद्धको अपरेसन सिन्दूर नाम धेरै राम्रो छ ! यो नाम धेरै सोचविचार गरेर छनोट गरिएको हो। मजाको कुरा त छँदै छ, अपरेसन सिन्दूर एउटा सानदार नाम हो। यो नाम सुन्दा हामीलाई पहलगाममा मारिएका आफ्ना पतिको छेउमा बसेर रोइरहेकी महिलाको दृश्य याद आउँछ। विवाह भएको सात दिनमै ती महिलाका पतिको हत्या भयो। सिन्दूर रातो हुन्छ र यसले एउटा राम्रो सन्देश पनि दिन्छ।’
रक्षा र गृहमन्त्रीसँग सुरक्षा अंगका प्रमुुखहरू
रक्षामन्त्री राजनाथ सिंह र गृहमन्त्री अमित शाहले भारतका तीनवटै सुरक्षा अंगका प्रमुखसँग शुक्रबार बैठक गरेका छन्। भारतीय सशस्त्र बलले बहावलपुरसहित पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (पिओके) मा आतंकवादी लुकेका ठाउँहरूमा मिसाइल आक्रमण गरेपछि त्यसको पछिल्लो वस्तुुस्थिति बुुझ्न र देशभित्रको व्यवस्थापनलाई सहजीकरण गर्न रक्षा र गृहमन्त्रीले सुरक्षा अंगका प्रमुुखसँग छलफल गरेको बताइएको छ।
संयुक्त प्रतिरक्षा सेवा दल बनाएर उनीहरूले युद्धको पछिल्लो अवस्था र भावी रणनीतिबारे छलफल गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत सरकारले देशभर ट्राभल एडभाइजरी जारी गरेर नागरिकलाई सजग गराएको छ।
भारत प्रशासित कश्मीरको वैशरण उपत्यकामा पर्ने पहलगाममा वैशाख ९ (२२ अप्रिल) गते आतंकवादीको हमलामा नेपाली २७ वर्षीय सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए। त्यो घटनाको जिम्मेवारी धार्मिक कट्टरपन्थी समूह द रेसिस्टेन्ट फ्रन्ट (टिआरएफ) ले लिएको थियो, जसको पाकिस्तानमा आधारित इस्लामिक आतंकवादी समूह ‘लस्कर–ए–तोइबा’सँग सम्बन्ध रहेको भनिन्छ। लस्कर ए तोइबालाई पाकिस्तानको खुफिया एजेन्सी इन्टर सर्भिस इन्टेलिजेन्स (आइएसआई) को सहयोग रहेको बताइन्छ। बहावलपुरलाई आतंकवादी समूह जैस–ए–मोहम्मदको प्रमुख गढ मानिन्छ।
२२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी हमलाको बदला लिन भारतले गरेको आक्रमणलाई ‘अपरेसन सिन्दूर’ नाम दिइएको हो, जसले भारत र पाकिस्तानबीच लामो समयदेखि चलिरहेको सैन्य तनावमा अर्को अध्याय थपेको छ।

भारतको दाबीअनुसार पहलगाम हमलाको जिम्मा लिएको टिआरएफ पाकिस्तानमा आधारित आतंकवादी समूह लस्कर–ए–तोइबाकै एक छद्म शाखा हो। भारतले पहलगाम आक्रमणमा पाकिस्तानको परोक्ष समर्थन रहेको आरोप लगाएको छ। पाकिस्तानले भने त्यसको खण्डन गरेको छ। पछिल्लो पटक पहलगाम घटनालाई लिएर भारत–पाकबिच बढ्दो तनावले एसियालगायत सम्पूर्ण विश्वलाई अस्थिर बनाउने विश्लेषण गर्न थालिएको छ। बेलायत, फ्रान्स, रुसलगायत थुप्रै देशले यो विषयमा चिन्ता व्यक्त गरेका छन्।
पटकपटक तनाव र युद्ध
सन् १९४७ मा पहिलो पटक भारत–पाकिस्तान युद्ध भएको थियो, जसलाई पहिलो कश्मीर युद्ध पनि भनिन्छ। नव स्वतन्त्र राष्ट्र भारत र भारतबाट विभाजित भएर बनेको पाकिस्तानबिचको पहिलो युद्ध जम्मु कश्मीर कसको अधिनमा रहने भनेर लडिएको थियो। यो युद्ध १९४९ सम्म जारी रह्यो। संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युद्धविराम भएको थियो। परिणाम जम्मु कश्मीरको विभाजन गरियो– एउटा भाग भारत प्रशासित र अर्को भाग पाकिस्तान प्रशासित हुन पुग्यो।
१९६५ मा गएर दोस्रो भारत–पाकिस्तान युद्ध भयो। अगस्ट ५, १९६५ मा कश्मीरलाई लिएर दुई देशबिच फेरि युद्ध भयो। पाकिस्तानी सैनिकहरू स्थानीय विद्रोहीहरूको भेषमा जम्मु र कश्मीरको नियन्त्रण रेखा पार गरेर भारतीय क्षेत्रमा घुसपैठ गरे। भारतले जवाफी सैन्य कारबाही थाल्यो, जुन अन्तर्राष्ट्रिय सीमापार पूर्णस्तरीय युद्धमा परिणत भयो। यो युद्ध सेप्टेम्बर २३, १९६५ सम्म जारी रह्यो। दुवै पक्ष सोभियत संघ र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्न सहमत भएपछि युद्ध रोकिएको थियो।
१९७१ मा फेरि भारत–पाकिस्तानबिच युद्ध भयो। यो युद्धपछि बंगलादेश स्वतन्त्र राष्ट्रको रूपमा अस्तित्वमा आयो। त्यसपछि १९९९ मा भारत र पाकिस्तानबिच कारगिल युद्ध भयो, जुन मेदेखि जुलाईसम्म लडिएको थियो। पाकिस्तानी सेना र आतंककारीले जम्मु–कश्मीरको कारगिल क्षेत्रका चुचुराहरू कब्जा गरेपछि युद्ध सुरु भएको थियो। भारतले सैन्य कारबाही गरी पाकिस्तानले कब्जा गरेको कारगिल क्षेत्र फिर्ता लियो।
त्यस्तै सेप्टेम्बर १८, २०१६ मा जम्मु–कश्मीरको उरीमा रहेको भारतीय सेनाको अड्डामा भएको आतंकवादी आक्रमणमा १९ सैनिकको मृत्यु भयो। त्यसपछि भारतले सेप्टेम्बर २८–२९ मा नियन्त्रण रेखा पार गरी सर्जिकल स्ट्राइक गरेको थियो।
भारतीय सेनाले पिओकेस्थित आतंकवादी अखडालाई निसाना बनाएर आक्रमण गरेपछि धैरै संख्यामा आतंककारीहरू हताहत भए। त्यसको तीन वर्षपछि फ्रेब्रुअरी २६, २०१९ मा भारतीय वायुसेनाले पुलवामा भएको आतंकवादी हमलाको जवाफमा पाकिस्तानको बालाकोटमा रहेको जैस–ए–मोहम्मद (जेएम) को प्रशिक्षण शिविरमा हवाई आक्रमण गरेको थियो।
विमानस्थलहरू बन्द
पछिल्लो पटक पहलगाममा आतंकवादीको हमलाको विरोधमा भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेको आतंकवादीका अखडामा अप्रेसन सिन्दूर थालेपछि भारत–पाक तनाव बढेको छ। पाकिस्तानबाट हुन सक्ने सम्भावित आक्रमणलाई ध्यानमा राखेर भारतले देशभरिका विमानस्थललाई उच्चसतर्कतामा राखेको छ।
केही विमानस्थल बन्द गरिएको छ। भारत सरकारले जुनसुकै विमानस्थलबाट पनि सैनिक परिचालन गर्ने जनाएको छ। श्रीनगर, लेह, चण्डीगढ, जम्मु, अमृतसर, सिमला, ग्वालियर, जोधपुर, भटिन्डा, भुज, धर्मशाला, जोधपुरलगायत २० ठाउँका विमानस्थल नागरिक उडानका लागि शनिबारसम्म नागरिक बन्द गरिएको छ। पाकिस्तानले पनि कराँची र लाहोर विमानस्थल बन्द गरेको छ।
इन्धन पर्याप्त
इन्डियन आयल कर्पोरेसन लिमिटेड (आइओसिएल) ले शुक्रबार देशभर पर्याप्त इन्धन भण्डार रहेको र कोही आत्तिनु नपर्ने जनाएको छ। ‘इन्डियन आयलसँग देशभरि पर्याप्त इन्धनको भण्डार छ र हाम्रा आपूर्ति लाइनहरू कुनै पनि समस्याबिना चलिरहेका छन्,’ इन्डियन आयल कर्पोरेसनले आफ्नो एक्समा पोस्ट गरेको छ। उक्त पोस्टमा अपिल गरिएको छ, ‘आत्तिनु पर्दैन, इन्धन र एलपिजी हाम्रा सबै आउटलेटहरूमा सजिलै उपलब्ध छन्।’
सीमावर्ती गाउँ खाली
भारत र पाकिस्तानबिच युद्धको अवस्था कायमै छ। पन्जावको चण्डीगढ र हरियाणाको अम्बालामा शुक्रबार हवाई आक्रमणको अलर्ट जारी गरिएको छ। सेनाको पश्चिमी कमान्ड चण्डीगढमा छ, एनआइए कार्यालय पनि त्यहीं छ। अम्बालामा एउटा वायुसेनाको स्टेसन छ। हिन्दुस्थान टाइम्सको अनलाइन संस्करणमा उल्लेख भएअनुसार राजस्थानको जैसलमेरको सीमावर्ती सबै गाउँ खाली गरिएको छ। ती गाउँहरू पाकिस्तान सीमाबाट २० किलोमिटरको दुरीमा भएकाले खाली गरिएका हुन्। जैसलमेरमा एउटा सैन्य चौकी छ। इण्डिया टिभीले जनाएअनुसार अहिले पाकिस्तानतर्फका सीमावर्ती गाउँहरू पनि खाली गरिएको छ।
पाकिस्तानले बिहीबार राति जम्मु–कश्मीर, पन्जाब र राजस्थानका ११ स्थानमा ड्रोन र मिसाइल आक्रमण गरेपछि भारततर्फका गाउँहरू खाली गराइएको हो भने पाकिस्तानले पनि भारतको आक्रमणलाई ध्यानमा राखेर आफ्नोतर्फको गाउँहरू खाली गराएको हो। पाकिस्तानी आत्मघाती ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोटस्थित वायुसेनाको स्टेसनलाई पनि निसाना बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अम्बालाका स्कुल र कलेजसहित सबै शैक्षिक संस्था बन्द गरिएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
निसाना कहाँकहाँ?
भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा रहेका आतंकवादी लुक्ने नौ ठाउँमा आक्रमण गरेको छ। ती ठाउँ मुजफ्फराबाद, कोटली, बहावलपुर, रावलकोट, चकस्वरी, भिम्बर, निलम उपत्यका, झेलम र चकवल हुन्। यी ठाउँहरू अचानक छनोट गरिएको होइन। ती स्थान लामो समयदेखि भारतीय गुप्तचर निकायको निगरानीमा थिए। अपरेसन सिन्दूरमा वायुसेना, नौसेना र सेना एकसाथ परिचालित भए। यो अपरेसनमा हावाबाट प्रक्षेपित क्रुज मिसाइलहरू, ह्यामर निर्देशित बमहरू र लुटेरिङ गोलाबारु प्रयोग गरिएको थियो।
एक्स बन्द
पाकिस्तानसँग द्वन्द्व चर्किंदै गएपछि भारत सरकारले सञ्चारमाध्यमलाई संवेदनशील हुन आग्रह गरेको छ। युुद्धप्रति संवेदनशील नभएको भन्दै न्युज पोर्टल द वायरलाई भारत सरकारले ‘ब्लक’ गरिदिएको छ। इन्टरनेट सेवा प्रदायकले सूचना मन्त्रालयको आदेशअनुसार सो बन्देज लगाएको जानकारी दिएको द वायरको पेजमा लेखिएको छ।
एक्सले भारत सरकारले भारतका ८ हजार एक्स ह्यान्डल बन्द गर्न निर्देशन दिएको जनाएको छ। थुप्रै विदेशी सञ्चारमाध्यम तथा सार्वजनिक व्यक्तिहरूको एक्स ह्यान्डलहरूमा पहुँच रोक्न भनिएको बताइएको छ। भारतीय रक्षा मन्त्रालयले मिडिया च्यानल, डिजिटल सञ्चारमाध्यम र व्यक्तिहरूलाई सैन्य गतिविधिको लाइभ प्रसारण नगर्न पनि भनेको छ।
पाकिस्तानको दाबी
पाकिस्तानले भारतका हरेक आक्रमणको उचित जवाफ दिइरहेको दाबी गर्दै आएको छ। पाकिस्तानमा ड्रोन आक्रमण गरिएको भारतीय दाबीलाई पुष्टि गर्नेगरी पाकिस्तानी सेनाले आफूहरूले कैयौं भारतीय ड्रोन खसालेको दाबी गरेको छ।
भारतले आक्रमणमा प्रयोग गरेका इजरायल निर्मित २५ वटा ‘हारोप ड्रोन’ खसालेको दाबी पाकिस्तानको छ। पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो। पाकिस्तानी सेनाले बुधबार पाँचवटा भारतीय लडाकु विमान खसालेको दाबी गरेको छ।
प्रकाशित: २७ वैशाख २०८२ ०६:२६ शनिबार