१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतको ‘अपरेशन सिन्दूर’ : संयमता अपनाउन दुवै देशलाई विश्वको अपिल

भारतले मंगलबार राति पाकिस्तान र पाकिस्तान–नियन्त्रित कश्मीर (पीओके) मा रहेका नौ आतंकवादी शिविरलाई निशाना बनाएर गरेको ‘अपरेशन सिन्दूर’ ले विश्वभर चर्चा र मिश्रित प्रतिक्रिया पाएको छ। 

गत २२ अप्रिलमा पहलगाम हमलाको जवाफमा गरिएको यो कारबाहीमा भारतले एक सय जना आतंकवादी मारिएको भनेको छ। जैश–ए–मोहम्मदको मुख्यालय ध्वस्त भएको दाबी भारतको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो अवस्था चाँडै समाप्त होस् भन्ने चाहना व्यक्त गरेका छन्। उनले विगतका घटनाहरूले कश्मीरमा केही हुन लागेको संकेत गरेको पनि उल्लेख गरेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दुवै देशसँग सम्पर्कको रहेको भन्दै शान्तिपूर्ण समाधानको आग्रह गरेका छन्। 

चिनियाँ विदेश मन्त्रालयले अपरेशन सिन्दूरप्रति खेद व्यक्त गर्दै दुवै पक्षलाई शान्ति र स्थिरताको पक्षमा काम गर्न आग्रह गरेको छ। यो प्रतिक्रिया चीनको पाकिस्तानसँगको रणनीतिक साझेदारीसँग जोडिएको छ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुवै देशलाई अधिकतम संयम अपनाउन आग्रह गर्दै सैन्य कारबाहीले तनाव बढ्ने चिन्ता व्यक्त गरेका छन्। इजरायलले आतंकवादविरुद्ध भारतको कदमलाई जायज ठहर्‍याउँदै आत्मरक्षाको अधिकारलाई समर्थन गरेको छ। 

दुई आणविक शक्ति सम्पन्न देशहरूबीचको लडाइ विश्वले चाहेको छैन। विश्व समुदायले दुवै देशलाई संयमता अपनाएर तनाव कम गर्न आग्रह गरेको छ।

पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले भारतको कडा जवाफ दिने चेतावनी दिएका छन्। पाकिस्तानले पाँचवटा भारतीय विमान खसालेको दाबी गरेको छ। पाकिस्तानले भारतीय आक्रमणमा परेर २६ जना आम नागरिक मारिएको बताएको छ। 

भारतीय नेताहरूले अपरेसन सिन्दूरलाई आतंकवादविरुद्ध निर्णायक कदमको रूपमा प्रशंसा गरेका छन्। पाकिस्तानले सीमामा गरेको आक्रमणमा परेर ६ जना मारिएको भारतीय पक्षले जानकारी दिएको छ। मध्यरातमा हमला भएका कारण क्षतिको विवरण संकलन भइरहेका कारण यो संख्या दुवैतिर बढ्न सक्ने देखिएको छ। एजेन्सी

प्रकाशित: २४ वैशाख २०८२ १२:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App