१६ चैत्र २०८० शुक्रबार
अन्तर्राष्ट्रिय

उत्तर कोरियासँग ट्रम्पले ३ हप्तापछि वार्ता गर्ने, चिनियाँ राष्ट्रपतिले के भने ?

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन्।

मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने– वार्ताहरु सकारात्मक मात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ। 

यसअघि पनि उनले गत महिना मात्र उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रुपमा सफल हुने धारणा सार्वजनिक गरेका थिए। 

राष्ट्रपति ट्रम्पले यो घोषणा गरिरहँदा यता ह्वाइट हाउसले पनि सो वार्ताको पुष्टि गरेको छ। ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिने छ। 

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्धअन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ। 

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाएको समचार यसअघि नै आएको छ । यसका कारण आफूले वार्तामा बस्न सहमति जनाएको जानकारी राष्ट्रपति ट्रम्पले दिइसकेका छन्।

चिनियाँ राष्ट्रपति सिको कामना 

उता चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सफलताको कामना गरेकाे  प्राप्त अर्काे एक समाचारमा जनाइएको छ। 

सो समाचारअनुसार यी दुई देशबीच हुने भनिएको आगामी वार्ता प्रगतिउन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सिले सो वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गरेका छन्। उनले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेकाे समाचारमा जनाइएको छ। 

प्रकाशित: १६ वैशाख २०७५ ०९:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App