८ जेष्ठ २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साङ्घाईमा चीनले देखायो कारहरूको भविष्य : स्क्रिन, ड्रोन, मसाज

यस हप्ताको अटो साङ्घाई प्रदर्शनीमा कुराकानी शक्तिशाली इन्जिनभन्दा अत्याधुनिक प्रविधि र यात्रु आराममा केन्द्रित थियो। सयौँ कार निर्माता र उपकरण आपूर्तिकर्ताले बुधबारदेखि प्रदर्शनी स्थल भरिपूर्ण बनाए, स्क्रिन, मसाज सिट र अन्य सुविधासहितका मोडेल प्रदर्शन गरे, उड्ने ट्याक्सीको त कुरै नगरौँ।

स्क्रिन जताततै
कडा प्रतिस्पर्धामा चिनियाँ कार निर्माताले हाइपरकनेक्टेड उपभोक्तालाई ६५ इन्चसम्मका स्क्रिन प्रत्येक यात्रीको अगाडि, ढोका, सन भाइजर वा कारको बोनेटमा जडान गरेर आकर्षित गर्न खोजेका छन्। इलेक्ट्रोनिक्स कम्पनी हुवावे र शाओमीले मोबाइल फोनलाई कारमा सजिलै जडान गरेर युवा ग्राहकलाई लक्षित गरेका छन्। युरोपेली अटोमेकरले चिनियाँ प्रतिद्वन्द्वीको सामना गर्न खोजेका छन्। फोक्सवागनको चीन–केन्द्रित ब्रान्ड अडीले पूरै ड्यासबोर्ड ओगट्ने स्क्रिन प्रस्ताव गरेको छ। 

स्थिर हुँदा स्क्रिन भिडियो हेर्न वा कराओके गाउन प्रयोग गर्न सकिन्छ। सडकमा उन्नत ड्राइभिङ सिस्टमले आपत्कालीन अवस्थाबाहेक स्टियरिङ ह्विल छुन नपर्ने गरी यात्रा गर्न सकिने प्रतिज्ञा गर्छ। म्याकिन्सेले चिनियाँ अटो उपभोक्ता स्वादको २०२५ प्रतिवेदनमा भनेको छ, ‘इन्टेलिजेन्ट ड्राइभिङको प्रसारसँगै कार यातायातको साधन मात्र नभएर दोस्रो बस्ने ठाउँ बन्नेछ।’

मसाज सिट
युरोपेली कार निर्माताका अनुसार चिनियाँ उपभोक्ताले आन्तरिक सुविधालाई अन्य बजारको तुलनामा बढी महत्त्व दिन्छन्। अटो साङ्घाईमा आगन्तुक क्रोम रेडिएटर ग्रिल र पछाडिका सिट भएको विलासी मिनीभ्यानमा बस्न लामबद्ध थिए। मर्सिडिजले भविष्यका कार्यकारीलाई एल्युमिनियम सिट, काठ र रेशम ट्रिम र भुइँबाट फोल्ड हुने सिनेमा स्क्रिनसहितको अर्को पुस्ताको विलासी इलेक्ट्रिक मिनिभ्यान, भिजन भी को प्रोटोटाइप अनावरण गर्‍यो। 

म्याकिन्सेका अनुसार फ्रिज, टेलिभिजन र रिक्लाइनिङ सिटजस्ता जीवनशैली–उन्मुख विशेषता चीनमा अत्यधिक खोजिन्छ। गुणस्तरीय सस्पेन्सन र पछाडिको–पाङ्ग्रा स्टियरिङले ड्राइभिङमा आराम बढाउँछ। परामर्शदाताले भने, ‘सवारी साधनको मूल्य बढ्दै जाँदा उपभोक्ताले यी सुविधाको माग गर्छन् र तिनका लागि अतिरिक्त पैसा तिर्न इच्छुक हुन्छन्।’ 

शुक्रबार चिनियाँ कार निर्माता निओले सस्पेन्सनको प्रभावकारिता देखाउन यात्रुलाई सवारी साधनभित्र उफ्रिन लगाएको थियो। फ्रान्सेली उपकरण निर्माता फोर्भियाले परम्परागत चिनियाँ र थाई मसाजबाट प्रेरित सिट प्रस्ताव गरेको छ, जसले यात्रुलाई दबाउँछ, चिमोट्छ र छेड्छ।
कम्पनीको बुथमा इनोभेसन म्यानेजर जोङ लीले भने, ‘यो सिट परम्परागत चिनियाँ र थाई मसाजबाट प्रेरित थियो।’ यसलाई यस वर्ष चिनियाँ सवारी साधनमा जडान गरिने अपेक्षा छ।

ड्रोन
प्रदर्शनीमा धेरै प्रोपेलर–सञ्चालित उड्ने ट्याक्सी अन्य सवारी साधनभन्दा माथि चुलिएका थिए। इलेक्ट्रिक भर्टिकल टेक–अफ एन्ड ल्यान्डिङ (एभिटिओएल–इभ्टोल) प्रविधि अझै प्रोटोटाइप चरणमा छ तर धेरै व्यक्तिलाई एकैपटक ओसारपसार गर्ने लक्ष्य राख्छ।

विश्वको अग्रणी ब्याट्री निर्माता क्याटलले चिनियाँ स्टार्टअप अटोफ्लाइटमा ‘करोडौँ डलर’ को लगानीको घोषणा गरेर आफ्नो इभ्टोल अवधारणा प्रदर्शन गर्‍यो। परम्परागत निर्माता होङ्कीले दुई यात्रुका लागि ‘फ्लाइङ कार’ को अवधारणा प्रस्तुत गर्‍यो, जसले दुई सय किलोमिटरको अप्रमाणित दायरा दाबी गरेको छ।

चीनले हालैका वर्षमा इभ्टोल प्रविधिमा प्रगति गरेको छ। यो प्रविधिमा चीन अमेरिकी खेलाडीसँग प्रतिस्पर्धामा छ भने युरोपेलीहरूले आफ्नो छाप बनाउन सङ्घर्ष गरिरहेका छन्। अटोमोटिभ आपूर्तिकर्ता वानफेङले गत महिना दिवालिया जर्मन इभ्टोल निर्माता भोलोकप्टरलाई अधिग्रहण गर्ने घोषणा गर्‍यो। यसका विमान २०२४ पेरिस ओलम्पिकमा सानो मात्रामा सुरु गर्ने योजना थियो तर अझै प्रमाणीकरणको प्रतीक्षामा छन्। एएफपी

प्रकाशित: १५ वैशाख २०८२ ०७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App