पाकिस्तानले पहलगाम हमलाको छानबिनमा चीन र रूसलाई समेत समावेश गर्न माग गरेको छ।
पाकिस्तानी सञ्चार संस्था पीटीआईका अनुसार, पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले रुसी सञ्चार माध्यम रिया नोवोस्तीलाई दिएको अन्तर्वार्तामा यस्तो माग गरेका हुन्।
यता, भारतका पूर्व थलसेनाध्यक्ष वीके सिंहले पहलगाम घटनाबारे सरकार सक्रिय भएर कारबाही गरिरहेको बताएका छन्।
उनले जनतालाई धैर्य राख्न आग्रह गरे। कांग्रेस सांसद शशि थरूरले भने कुनै पनि गोप्य सूचना प्रणाली पूर्ण सुरक्षित नहुने भन्दै उदाहरणस्वरूप हमासको आक्रमणबारे इजरायली एजेन्सीहरूलाई समेत जानकारी नपुगेको प्रसंग उल्लेख गरे।
यसैबीच, कश्मीर उपत्यकामा सुरक्षाबलले पछिल्ला तीन दिनमा १० आतंकवादीका घरहरू विस्फोट गराई ध्वस्त पारेका छन्। पछिल्ला दुई दिनमा २७२ जना पाकिस्तानी नागरिकहरूले भारत छाडेका छन् भने १३ जना कूटनीतिक अधिकारीसहित ६२९ जना भारतीय पाकिस्तानबाट फर्किएका छन्।
गएको २२ अप्रिलमा जम्मु–कश्मीरको पहलगामस्थित बैसरन उपत्यकामा आतंककारीहरूले २६ जना पर्यटकमाथि अन्धाधुन्ध गोली प्रहार गरी हत्या गरेका थिए। सो घटनापछि सुरक्षाबलहरूले उपत्यकाभरि व्यापक खोजी अभियान जारी राखेका छन्।
प्रकाशित: १४ वैशाख २०८२ १९:२० आइतबार





