९ पुस २०८२ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

श्रीमती उषासँगै चारदिने भारत भ्रमणमा अमेरिकी उपराष्ट्रपति : व्यापार र कूटनीतिमा जोड

अमेरिकी उपराष्ट्रपति जेडी भान्स सोमबार (आज) परिवारसहित चारदिने भारत भ्रमणमा आउँदै छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गर्ने जनाइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा दुई देशको सम्बन्ध र व्यापार नीतिबारे छलफल हुने अपेक्षा छ। ट्रम्पले भारतलाई ‘ट्यारिफ किंग’ भन्दै आएका छन्। 

ट्रम्पले पारस्परिक भन्सार शुल्क नीति घोषणा गरेका छन्। मोदीसँगको भेटमा ट्यारिफबारे ठोस समाधान नभए पनि द्विपक्षीय व्यापार वार्ता सुरु भएको छ। भान्सको भ्रमण भारतीय प्रतिनिधिमण्डलको अमेरिका भ्रमणअघि भएको हो। भान्स र मोदीबीच अर्थतन्त्र, व्यापार र भूराजनीतिबारे वार्ता हुनेछ।

भान्स ट्रम्पको नीतिप्रति आक्रामक छन्। उनी अमेरिकाका परम्परागत सहायक उपराष्ट्रपति नभएर आक्रामक नेता मानिन्छन्। रिपब्लिकनभित्र उनलाई ट्रम्पको उत्तराधिकारीका रूपमा हेरिन्छ।

मोदीले पेरिसको एआई सम्मेलनमा भान्सलाई भेटेका थिए। उनले भान्सका तीन सन्तानलाई उपहार दिए। दुवै देश व्यापार सम्झौता चाँडो टुंग्याउन प्रयासरत छन्। भान्सले भारत–अमेरिका प्रविधि साझेदारी ट्रस्टको शुभारम्भ गर्न सक्ने भारतीय सञ्चारमाध्यमले जानकारी दिएका छन्। 

भान्स पहिलोपटक भारत आउँदै छन्। उनकी पत्नी उषा चिलुकुरी भान्स भारतीय मूलकी हुन्। आन्ध्र प्रदेशकी उषाले २०१४ मा भान्ससँग विवाह गरेकी थिइन्। उनको परिवार अझै आन्ध्रमा बस्छ। उषाका हजुरबुबा प्रोफेसर सी रामा शास्त्री र हजुरआमा शान्तम्मा प्राध्यापक थिए। ३८ वर्षीया उषाले येल र क्याम्ब्रिज विश्वविद्यालयबाट डिग्री हासिल गरेकी छन्।

प्रकाशित: ८ वैशाख २०८२ ०८:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App