१० पुस २०८२ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

‘डिपोर्ट ट्रम्प’ ब्यानर बोकेर अमेरिकाभर हजारौं मानिस सडकमा उत्रिए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला नीतिहरूको विरोधमा शनिबार अमेरिकाका विभिन्न सहरहरूमा हजारौं मानिस सडकमा उत्रिएका छन्। उनीहरूले ट्रम्पको सामूहिक निर्वासन योजना, सरकारी जागिर कटौती, कर शुल्क, गाजा तथा युक्रेन सम्बन्धी नीतिहरूको विरोध गरेका छन्। अमेरिकाका सबै ५० राज्यमा फैलिएको यो आन्दोलनले विश्वको ध्यान आकर्षित गरेको छ।

बीबीसीका अनुसार यसलाई ‘५०५०१’ नाम दिइएको छ, जसको अर्थ ‘५० विरोध प्रदर्शन, ५० राज्य, १ आन्दोलन’ हो। प्रदर्शनकारीहरूले ट्रम्पका नीतिहरूले लाखौं आप्रवासी र सरकारी कर्मचारीहरूलाई असर गर्ने भन्दै आक्रोश व्यक्त गरेका छन्।

विशेषगरी, ट्रम्प प्रशासनको सामूहिक निर्वासन नीतिले आप्रवासी समुदायमा त्रास छ। यस्ता नीतिहरू मानवअधिकारविरुद्ध भएको तर्क उनीहरूकाे छ। साथै किल्मर अब्रेगो गार्सियालाई एल साल्भाडोरमा गलत रूपमा निर्वासित गरिएको मुद्दा पनि उठेकाे छ। प्रदर्शनकारीहरूले ‘ट्रम्पलाई एल साल्भाडोर निर्वासन गर’ जस्ता ब्यानर बोकेर ट्रम्प प्रशासनको नीतिप्रति व्यङ्ग्य गरेका छन्। प्रदर्शनरीले ट्रम्प राजा बन्न खाेजेकाे आराेप लगाएका छन्। 

किल्मर अब्रेगो गार्सिया मेरील्यान्डका बासिन्दा हुन्, मार्चमा लिपिक त्रुटिका कारण गलत रूपमा निर्वासित भएका थिए। सन् २०१९ को अदालतको आदेशले उनलाई एल साल्भाडोर फिर्ता गर्न नहुने उल्लेख गरेको थियो। तर, ट्रम्प प्रशासनले हालै उनलाई एमएस–१३ गिरोहको सदस्य भएको आरोप लगाएर निर्वासन गरेको छ। साथै, एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेले गार्सियालाई हिरासतमा राख्ने घोषणा गरेका छन्।

यसैगरी, अर्बपति एलन मस्कले नेतृत्व गरिरहेकाे सरकारी दक्षता विभागमार्फत सरकारी खर्च र कर्मचारी कटौती गर्ने योजनाको पनि विरोध भएको छ। प्रदर्शनकारीहरूले यो योजनाले सरकारी सेवाहरूमा नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरेका छन्। गाजामा इजरायललाई समर्थन गर्ने र युक्रेनलाई सहायता घटाउने ट्रम्पका नीतिहरूले पनि प्रदर्शनकारीहरूको आक्रोश बढाएको छ। उनीहरूले यी नीतिहरूले अन्तर्राष्ट्रिय शान्ति र सहयोगमा हानि पुर्‍याउने तर्क गरेका छन्। एजेन्सी

प्रकाशित: ७ वैशाख २०८२ ०९:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App