१० पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

सिरिया घटना: आन्तरिक छानबिनमा सेना

संयुक्त राष्ट्रसंघअन्तर्गत सिरियामा शान्ति स्थापनाका लागि खटिएका नेपाली सैनिकमाथि त्यहाँको विद्रोही समूहले आक्रमण गरेर हतियार लुटेको घटनामा नेपाली सेनाले आन्तरिक छानबिन थालेको छ। उक्त घटनामा नेपाली सैनिकको कमजोरी थियो या थिएन भनेर संयुक्त राष्ट्रसंघलाई आश्वस्त पार्न सेनाले आन्तरिक छानबिन सुरु गरेको हो।

गत मंसिरमा सिरियामा विद्रोही समूहले नेपाली शान्ति सैनिकमाथि आक्रमण गरेर हतियार लुटेको थियो। पाँच महिनापछि नेपाली सेनाले यस विषयमा छानबिन थालेको हो। ‘नेपाली सेनाका तर्फबाट कुनै कमजोरी भयो कि भनेर आन्तरिक रूपमा छानबिन थालिएको हो। भविष्यमा नेपाली सेनाको पक्षबाट कुनै कमजोरी नहोस् भनेर ध्यान दिन खोजिएको हो,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले भने। उक्त घटनामा राष्ट्रसंघले पनि अनुसन्धान गरिरहेको छ। ‘यस्ता घटनामा राष्ट्रसंघले पनि अनुसन्धान गर्छ तर हाम्रो फौजको पनि कुनै कमजोरी भयो कि भनेर हामीले अनुसन्धान थालेका हौं,’ प्रवक्ता केसीले भने।

चैत २१ गते सिरियाबाट फर्किएका १९७ शान्ति सैनिकमध्ये ३० जनालाई नियन्त्रणमा लिएर सेनाले सोधपुछ गरिएको थियो। तीमध्ये पाँचजनामाथि अझै छानबिन चलिरहेको छ। ‘नेपाली सेनाले सिरियास्थित संयुक्त राष्ट्रसंघीय शान्ति मिसन (युएनडिओएफ) बाट फर्किएका ३० जना सैनिकमाथि सोधपुछ गर्दा जे निष्कर्ष निस्कन्छ, त्यही गर्ने हो,’ केसीले भने।

सिरियास्थित युएनडिओएफ मिसनमा चार सय ४८ जना नेपाली सैनिक कार्यरत थिए। तीमध्ये चैत २१ गते १९७ जना मिसन कमान्डर प्रमुख सेनानी दिनेशकुमार खड्काको नेतृत्वमा नेपाल फर्किएका थिए। प्रमुख सेनानी खड्कालगायत पाँचजनासँग सोधपुछ चलिरहेको जानकारी प्रवक्ता केसीले दिए।

२०८१ मंसिर २२ गते युएनडिओएफ मिसनअन्तर्गत सिरियाको हदारस्थित १०–ए सुरक्षा पोस्टमा खटिएका नेपाली शान्ति सैनिकमाथि हतियारधारी विद्रोही समूहले आक्रमण गरेको थियो। शान्ति सैनिकले नपस्न चेतावनी दिँदादिँदै विद्रोहीहरूले पोस्टमा पसेर आक्रमण गर्नुका साथै केही हतियार र गोली लुटेर लगेको थियो। विद्रोहीले लुटेर लगेका हतियार पछि फिर्ता गरिएका थिए।

उक्त घटनापछि संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सैनिकको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको थियो। त्यतिबेला नेपाली सेनाले विज्ञप्ति जारी गरेर सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको थियो।

विद्रोहीलाई सुरक्षा पोस्टमा नपस्न त्यहाँ तैनाथ शान्ति सेनाले चेतावनी दिए पनि जवाफी कारवाही भने गर्न सकेको थिएन। त्यतिबेला नेपाली सेनाका उपरथी निर्मलकुमार थापा त्यो मिसनको फोर्स कमाण्डर थिए। नेपाली सेनाका अधिकृतहरूका अनुसार सिरिया र इजरायलको विवादित क्षेत्र गोलान हाइटमा खटिएको टोलीलाई ‘इन्गेजमेन्ट’ (प्रतिकारबाही) का लागि कुनै निर्देशन नभएका कारण उनीहरूको हतियार लुट्न विद्रोही सफल भएका थिए। फौजमा हातहतियार लुटिनुलाई ठुलो गल्ती मानिन्छ।

हदारस्थित १०–ए सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेर हतियार लुट्दा रोक्न नसक्नु सेनाको कमजोरी भएको मानिएको थियो। शान्ति सेनाले राष्ट्रसंघको नियम पालना गर्नुपरेका कारण जवाफी फायर गर्न नसकेको बताइएको थियो। ‘पाँच महिनाअघि घटना भएको थियो। कसरी घट्ना भयो भनेर हामीले हाम्रो पक्षलाई सोधेका हौं। हाम्रो कमजोरी भयो कि अरू कसैको लापरबाही भयो भन्ने जानकारी हुनुपर्छ,’ नेपाली सेनाका एक अधिकारीले भने।

ती अधिकारीका अनुसार यस्ता घटना मिसनमा सयाैं हुने भएकाले छानबिन नियमित प्रक्रिया हो। ‘युएनको निर्देशनअनुसार काम भयो कि भएन भनेर पनि जानकारी लिइएको हो। नेपाली पक्षले लापरबाही गरेको हो कि भन्ने आशंका गर्न थालिएकाले पनि छानबिन गर्नुपरेको हो’, सैनिक मुख्यालय स्रोतले भन्यो।

प्रकाशित: ५ वैशाख २०८२ ०६:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App