८ वैशाख २०८२ सोमबार
image/svg+xml
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री मोदीलाई भेट्न १४ वर्ष खाली खुट्टा हिँडेका रामपालले लगाए जुत्ता

भारत, हरियाणाको कैथल जिल्लाको सिवानका रामपाल कश्यप अहिले चर्चाको विषय बनेका छन्। 

१४ वर्षदेखि खाली खुट्टा हिँडिरहेका रामपाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै हातले जुत्ता लगाइदिएपछि यो विषय थप चर्चामा आएको हो। उनले सन् २०१२ मा नरेन्द्र मोदी प्रधानमन्त्री नबन्दासम्म र नभेट्दासम्म जुत्ता नलगाउने कसम खाएका थिए। अब उनको यो सपना पूरा भएको छ।

रामपालले आफूलाई मजाक बनाउँदा पनि त्यो कठोर वाचा गरेका थिए। उनले आफ्नो संकल्प पूरा नभए आफूले गाउँ छोड्ने र पूरा हुँदा मजाक बनाउनेले छोड्नुपर्ने तर्क पनि गर्थे। 

गर्मी, जाडो मौसम वा कुनै सभा समारोहमा उनी खाली खुट्टा पुग्थे। छ महिनाअघि छोराको विवाहमा पनि उनले जुत्ता नलगाएको कुरा उल्लेख गरेका छन्। गाउँलेहरूले उनलाई पागल भने पनि उनी परिवर्तन भएनन्। 

मोदीसम्म कसरी पुगे ?

एक साता पहिले चेकास्थित ब्राह्मण धर्मशालामा आयोजित कार्यक्रममा राज्यसभाकी सांसद रेखा शर्मा सहभागी थिइन्। रामपाल पनि त्यहाँ पुगेका थिए। सांसदले उनलाई खाली खुट्टा देखेर कारण सोधिन्। उनको कुरा सुनेर सांसद शर्माले खाली खुट्टाको भिडियो बनाएर प्रधानमन्त्री कार्यालयमा पठाइन्। 

आइतबार साँझ ५ बजेतिर प्रधानमन्त्री कार्यालयबाट फोन आयो। फोनमा सोमबार यमुनानगरमा प्रधानमन्त्रीले उनलाई जुत्ता लगाइदिने जानकारी दिइयो। यमुनानगर पुग्दा मोदीले उनलाई जुत्ता लगाइदिए। १४ वर्षपछि आफ्नो सपना पूरा गरेका रामपाल  मोदीसँगको भेट भगवानसँगको भन्दा कम नभएको भन्दै हर्षबिभोर भए। 

उनले यी जुत्तालाई श्रीरामको चरणपादुका जस्तै संरक्षण गर्ने बताएका छन्। रामपालको परिवारमा पत्नी दुई छोरा र एक छोरी छन्। उनका एक छोराको हालै विवाह भएको थियो। रामपाल दैनिक ज्याला मजदुरी गरेर जीवन चलाउँछन्। रामपाल १८ वर्षदेखि भारतीय जनता पार्टी (भाजपा) सँग जोडिएका छन्।

प्रकाशित: २ वैशाख २०८२ १२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App