१८ चैत्र २०८१ सोमबार
image/svg+xml ६:३४ पूर्वाह्न
अन्तर्राष्ट्रिय

फ्रान्सले भन्यो : चीनसँगको सम्बन्ध थप प्रगाढ बनाउँछौँ

फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल ब्यारोटले बिहीबार चिनियाँ समकक्षी वाङ यीसँग भेट गर्दै भूराजनीतिक सङ्कटको सामना गर्न ‘फ्रान्स र चीनबीच सशक्त साझेदारी’ का लागि आह्वान गरेका छन्।  

युक्रेनमा रुसी युद्धको समाधानका साथै मध्यपूर्वको द्वन्द्व र चीन र युरोपेली सङ्घबीचको व्यापार तनावको समाधानमा वार्ता केन्द्रित हुने पेरिसले अपेक्षा गरेको छ।

ब्यारोटले बिहीबार बिहान बेइजिङमा चीनका उच्च कूटनीतिज्ञ वाङलाई भेटेर भने, 'जताततै सङ्कटको गति तीव्ररूपमा बढिरहेको छ। यतिवेला चीन र फ्रान्सबीचको सहकार्य सशक्त हुनु जरुरी छ।'  

कोरियाली प्रायद्वीप र युक्रेनमा बेइजिङ र पेरिसबीच ‘मतभेद’ रहेको स्वीकार गर्दै उनले भने, 'हाम्रा दुई देशले मिलेर काम गर्नुपर्छ।'  

'राजनीतिक, आर्थिक र सुरक्षा चुनौतीहरूको सामना गर्दै द्रूत गतिमा नयाँ युरोप उदय भइरहेको छ। यसको एकमात्र मार्गनिर्देश रणनीतिक स्वायत्तता हो,' उनले भने।  

'यो नयाँ युरोपले आफ्नो रक्षा, ऊर्जा सुरक्षा र भविष्यका प्रविधिहरूमा ठूलो लगानी गरिरहेको छ,' ब्यारोटले भने।  

उनले भने, 'आफ्नो हित र मूल्यमान्यताको रक्षाका लागि फ्रान्स विशेष सजग रहनेछ।'

भेटमा चिनियाँ कुटनीतिज्ञ वाङले ‘अन्तर्राष्ट्रिय परिस्थिति फेरि परिवर्तन भएको र यो अझ अराजक हुने’ चेतावनी दिएका थिए।  

उनले दुवै देशलाई ‘बहुपक्षीयताको पालना गर्न’ र ‘विश्व शान्ति र विकासका लागि मिलेर काम गर्न’ आग्रह गरे।  

ब्यारोटले चीनमा रहेका फ्रान्सेली विदार्थीहरूसँगको भेटमा भने, 'वर्तमान सन्दर्भमा भूराजनीतिक स्थिरता, समृद्धि र हाम्रो ग्रहको भविष्यको सेवामा शक्तिशाली फ्रेन्को–चिनियाँ साझेदारीको पहिलेभन्दा बढी आवश्यकता छ।'

चीनले यस साताको ब्यारोटको भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीचको सहकार्यलाई अझ प्रगाढ बनाउने आशा व्यक्त गरेको छ।

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति सङ्केत गर्दै दुवै पक्षले ‘एकपक्षीयता र जङ्गलको कानुनको पुनरुत्थान’ को संयुक्त रूपमा प्रतिरोध गर्ने उपायबारे छलफल गर्ने बताइएको छ।

– रूसमाथि दबाब –

बेइजिङमा उच्च अधिकारीसँगको भेटपछि ब्यारोट चिनियाँ आर्थिक नगरी साङ्घाई जान कार्यक्रम रहेको छ। साङ्घाइमा रहँदा उनले फ्रान्स–चीनबीचको एक व्यापार मञ्चमा भाग लिने र शुक्रबार एयर लिक्विड समूहद्वारा निर्मित हाइड्रोजन उत्पादन प्लान्टको उद्घाटन गर्ने छन्।

बेइजिङले यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने बताएको छ।

फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्ध बढाउन खोजेका छन्, तर पेरिसले मस्कोसँगको सम्बन्धलाई लिएर बेइजिङको नीति परिवर्तन हुनुपर्ने दबाब दिएको छ। युक्रेनको आक्रमणपछि चीन र रूसबीचको पारस्परिक सम्बन्ध थप बलियो भएको छ।

चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ रहेको बताएको छ।

चीन रुसको घनिष्ठ राजनीतिक र आर्थिक सहयोगी हो र नेटोका सदस्यराष्ट्रहरूले बेइजिङलाई युद्धको ‘निर्णायक सहयोगी’ को संज्ञा दिएका छन्। एजेन्सी

प्रकाशित: १४ चैत्र २०८१ १३:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App